ad ad

कारोबार


शुक्रबारदेखि सबै सेवा सञ्चालन गर्न बैंकहरु तयार

शुक्रबारदेखि सबै सेवा सञ्चालन गर्न बैंकहरु तयार

दीपक भट्ट
बैशाख २५, २०७७ बिहिबार १४:५,

बैंक तथा वित्तीय निकायहरुले शुक्रबारदेखि आफ्ना सबैखाले सेवा प्रदान गर्ने भएका छन्।

सरकारले उद्योग, बैंकिङ तथा वित्तीय निकाय लगायत बिभिन्न क्षेत्रलाई सेवा सुचारु गर्न दिने बुधबार निर्णय गरेको थियो।

सोहीअनुसार बैंकहरुले आफ्नो सम्पूर्ण सेवा प्रवाह गर्ने तयारी गरेका हुन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैंठकले बैंक तथा वित्तीय संस्था, बीमा धितोपत्र, सहकारी मार्फत सेवाप्रवाह गर्नका लागि आवश्यक कर्मचारीहरु मध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो। बैंकहरुले त्यसै बमोजिम सेवा प्रदान गर्न तयारी गरेको जनाएका छन्।

बिहीबार सार्वजनिक विदा परेका कारणले गर्दा पनि सबै सेवा सुरु भइनसकेको तर शुक्रबारदेखि भने सम्पूर्ण सेवा प्रदान गरिने बैंकर्स एसोसिएशन अफ नेपालका अध्यक्ष तथा सानिमा बैंकका सीइओ भुवन दाहालले बताए।

उनका अनुसार सरकारले नै एकतिहाइ कर्मचारीबाट मात्रै काम सुरु गर्न भनेकोले त्यहि अनुसार कर्मचारी खटाएर बैंकहरु संचालनमा आउने छन्। एकतिहाई कर्मचारीबाट पनि बैंकले सम्पूर्ण सेवा सुचारु गर्ने जानकारी दिएका छन्।

‘सरकारले बैंक मात्रै नभई उद्योग पनि संचालन गर्ने भन्ने बित्तिकै अब बैंकिङ क्षेत्र स्वतः चलायमान भइ नै हाल्छ। उद्योग, ब्यपार, ब्यवसायले नै मुद्रा कारोवारलाई सक्रिय बनाउने र त्यसको माध्यम बैंकहरु भएकाले सरकारको निर्णयले बैंकिङ क्षेत्र क्रियाशिल हुनेभएको हो,’ दाहालले भने।

तर, नेपाल राष्ट्र बैंकले भने उच्च सावधानीका साथ काम गर्न निर्देशन दिएको छ। बैंकको नियमनकारी निकाय राष्ट्र बैंकले अहिले बैंकलाई आफ्नो सेवा सुचारु गर्न आफैमा कठिनाई रहेको र चुनौतीका बीच सावधानीपुर्वक संचालन गर्नुपर्ने बताएको हाे।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले उद्योग चल्ने बित्तिकै मुद्राको आवश्यकता र मुद्राको संचिति स्वतः बढ्ने बताए।

यी गतिबिधि सिधै बैंकसँग जोडिने हुँदा बैंकले आफ्ना सेवा पूर्णरुपले चलाउनु पर्ने उनले बताए। सीमित कर्मचारीबाट त्यो सेवा प्रदान गर्न आफैंमा चुनौतीपूर्ण हुने उनकाे भनाइ छ।

‘लकडाउनका बेला पनि कुनै न कुनै हिसावमा बैंकहरुले सीमित सेवा दिइरहेकै थिए, तर त्यहाँ मुद्राको आदान प्रदान मात्रै भएको थियो। अब त ऋणको कुरा हुन्छ, निक्षेपको कुरा हुन्छ। ऋण प्रदान गर्ने भन्ने काम त्यति सहज छैन,’ उनले प्रष्ट्याए, ‘ऋण दिनको लागि धितो चाहिन्छ। त्यसको अध्ययन अनुगमन हुनुपर्छ र प्रस्ताव पेश हुन्छ। त्यसमा लामो समय र प्रक्रियाअनुसार ग्राहकसँग छलफल गर्नुपर्ने हुन्छ।’

त्यस्ता काम र औपचारिक प्रक्रियाहरुमा दिनभर निरन्तर गर्नुपर्ने हुँदा सीमित कर्मचारी र असहज अवस्थामा सेवा प्रवाह गर्न चुनौतिपूर्ण हुनसक्ने उनले बताए।

तर अर्थतन्त्र खस्कँदै गएको हुँदा कठिनाईपूर्ण अवस्थामा पनि सावधानीका साथ उद्योग व्यवसाय चलाउनै पर्ने आवश्यकता महशुस गरी पुनः सञ्चालन गर्न लागिएको हो। आगामी दिनमा राष्ट्र बैंकले पनि विकसित परिस्थितिअनुसार निरन्तर अनुगमन गर्ने बताएको छ।

सावधानीको लागि सरकारी तवरबाट तथा बैंकरुबाटै पनि कार्यविधि बनेको राष्ट्र बैंकले जनाएको छ। सामाजिक दुरी कायम राखेर सेवा प्रदान गर्ने र सुरक्षाका प्रावधानहरु अपनाउन कर्मचारी तथा ग्राहक लगायत सबै पक्षलाई कडाइ गरिनेछ।

सम्पूर्ण सेवा प्रदान गर्न राष्ट्र बैंकबाटै भएको थियो सिफारिस
बैंक तथा वित्तीय निकायहरु संचालन गर्दा उच्च सावधानीका साथ गर्न नेपाल राष्ट्र बैंकबाट नै सरकार समक्ष सुझाव पेश भएको राष्ट्र बैंकका एक अधिकारीले बताए।

संकटको समय पारेर वित्तीय क्षेत्रमा केहि अनधिकृत वित्तीय कारोवार समेत भएको पाएपछि बैंक क्षेत्र खुल्ला गर्न राष्ट्र बैंकले समेत अनुरोध गरेको थियो।

विदेशबाट स्रोत नखुलेको केहि रकम र नेपालमा नै राष्ट्र बैंकबाट अनुमति नदिएका कम्पनीहरुले समेत भुक्तानीको कारोवार गर्न थालेको अध्ययनमा देखापरेपछि बैंकको सम्पूर्ण सेवा सुचारु गर्न राष्ट्र बैंकले ताकेता गरेको उनको भनाई छ।

सोहिअनुसार बुधबार साँझ नेपाल राष्ट्र बैंकले एक सुचना मार्फत राष्ट्र बैंकबाट अनुमति नदिएका कम्पनीले रकमको भुक्तानी तथा अन्य सेवा गर्नु गैरकानुनी भएको जनाएको छ।

केन्द्रीय बैंकले त्यस्तो काम गरेको पाइएमा भुक्तानी तथा फर्स्याैट ऐन २०७५ अनुसार कारवाही गर्ने चेतावनी दिएको छ।

राष्ट्र बैंकका ती अधिकारीका अनुसार लकडाउनको अवधिमा केहि अनधिकृत गतिबिधि फेला परिसकेको र त्यसको अध्ययन भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .