चैत ९ गतेदेखि मदिरा बजार बन्द भए पनि बिक्री भने साविककै परिमाणमा हुने गरेको छ।
लकडाउनको समयमा मदिरा व्यवसाय नखुलाउने नीति सरकारले लिएपनि बिक्री भने रोकिएको छैन।
वैधानिक माध्यमबाट बिक्री नभए पनि अवैधानिक तवरबाट बिक्री हुँदा उपभोक्ता र व्यवसायी दुवै मारमा परेको मदिरा व्यवसायी संघले जनाएको छ।
लकडाउनको समयको माग र आपूर्ति विश्लेषण गर्दा मदिरा साविककै परिमाणमा खपत भइरहेको देखिएको व्यवसायीहरुले बताएका छन्।
गोल्डेन ओक ह्विस्की काठमाडौं उपत्यकामा मासिक एक लाख काटन खपत हुने गथ्र्यो। एक काटनमा ७ सय एमएलका १२ बोतल हुन्छ। लकडाउन पछि पनि सोही परिमाणमा ह्विस्की खपत भएको व्यासायीको तथ्यांक छ।
अवैध तवरबाट मदिरा बिक्री बढ्नु र केही डिपार्टमेन्टल स्टोरलाई जुनसुकै सामान बिक्री गर्न दिँदा मदिराको खपत नरोकिएको व्यवसायीहरुको भनाइ छ।
मदिरा व्यवसायी संघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायमा मात्रै केन्द्रित रहेकाहरु यसबाट मारमा परेको बताए। उनले लकडाउनमा पनि निश्चित समय तोकी बिक्री गर्न दिनुपर्ने बताए।
‘अवैध बिक्री रोक्न पनि मदिरा व्यवसाय खुला गर्नुपर्छ,’ उनले भने।
काठमाडौं मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्दप्रसाद बरालका अनुसार किराना पसल, भाटभटेनी, सेल्सबेरीबाट अत्यधिक मदिरा बिक्री भइरहेको बताए।
लकडाउनको समयमा मानिस फुर्सदिला बनेकाले मदिराको माग नघटेको भन्दै उनले त्यसको परिपूर्ति भने वैधानिक नभएको तर्क गरे।
‘किराना पसललाई मदिरा बिक्री गर्ने छुट छैन। अन्य मदिरा पसल बन्द रहेको मौका छोपी उनीहरुले आफुखुसी मूल्य तोकी बिक्री गरिरहेका छन्,’ उनले भने, ‘जसले उपभोक्ता समेत मारमा परेका छन्।’
तर यसको अनुगमन गर्ने निकाय भने यो बारेमा थाहा नै नभएको बताउँछ। बन्द गरिएको मदिरा खपत भइरहेको जानकारी आफुलाई नरहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको भनाइ छ। विभागले बजार अनुगमनको जिम्मेवारी लिएको छ।
‘बजार अहिले बन्द छ भन्ने हो, त्यसको खपत पनि बन्द हुनुपर्छ भन्ने अनुमान हो,’ विभागका अनुगमन अधिकृत सागर मिश्र भन्छन्, ‘तर अवैध तवरबाट बिक्री, कालोबारी भएको गुनासो कतैबाट पनि नआएकोले विभागले त्यबारे कुनै किसिमको अनुगमन नै गरेको छैन।’
विभागको यो अनुमानलाई मदिरा उद्योगी समेत मान्न तयार छैनन्। मदिरा उद्योग पनि लकडाउन सुरु भएदेखि नै बन्द छ। यद्यपि, उत्पादित मदिरा १५/२० दिनपछि मात्रै बजारमा पुग्छन्। तर, हाल उद्योग र प्रमुख डिलरसँग भएको सबै स्टक सकिइसकेको छ।
नेपाल बेभरेज इन्ड्रस्टिज एसोसिएसनका उपाध्यक्ष नवलकिशोर चौधरीका अनुसार उत्पादित मदिरा सबै बजारमा पुगिसकेको छ र थप माग आइरहेको छ।
‘विगतको माग हेरेर उद्योगले आफ्नो उत्पादन गर्ने हो। चैत ९ गतेअघिसम्म उद्योगहरुले उत्पादन गरेका थिए। सबै उत्पादन बजारमा गइसकेको छ,’ उनले भने, ‘त्यसले पनि नपुगेर अहिले डिलरहरुबाट माग आाइरहेको छ। तर उद्योग बन्द रहेकोले आएको बजार पठाउन सकिएको छैन।’
मदिरा पसल बन्द गर्दा सरकारलाई राजश्वमा असर पर्ने व्यवसायी संघका अध्यक्ष शेर्पा बताउँछन्।
‘घरेलु मदिराको समेत बिक्री वितरण बढेका कारण सरकारको राजश्वलाई समेत नकारात्मक प्रभाव पर्न सक्छ,’ उनले भने।
प्रतिक्रिया