सरकारले तत्कालको लागि पर्यटक उद्दारको काम रोकेको छ। अर्को सूचना जारी नभएसम्मको लागि पर्यटक उद्दार कार्य स्थगित भएको हो।
आइतबार विहान ११ सय १६ पर्यटक उद्दार गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदार बहादुर अधिकारीले जानकारी गराएका छन्। शनिवार सम्म ९ सय पर्यटक आफ्नो देश फिर्ता गएको उनले बताए।
पर्यटन बोर्डले लकडाउनका कारण देशका विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई बिहीबारबाट उद्दार गर्न समन्वय गरिरहेको थियो।
लकडाउन भएपनि विभिन्न देशले आफ्ना नागरिकलाई स्वदेश लैजान परराष्ट्र मार्फत चाटर्ड उडानको विशेष अनुमति माग गरेका थिए।
‘हामीले हजार भन्दा बढी पर्यटकलाई काठमाडौं ल्याएका छौं,’ बोर्डका निर्देशक नन्दनी थापाले नेपालखबरसँग भनिन् ‘अर्को सूचना जारी नहुँदा सम्म बस र जहाजमार्फत पर्यटक उद्दार हुने छैन।’
निर्देशक थापाका अनुसार अब कुनै देशले अन्तर्राष्ट्रिय चार्टर्ड उडानको लागि अनुमति लिएपछि मात्रै बोर्डले आन्तरिक चाटर्ड उडान तथा बस यातायातको लागि अनुमति दिनेछ।
‘सबै भन्दा बढी उडान लुक्ला र पोखरामा भएका थिए। लुक्लामा त पर्यटकको खाने कुरा पनि सिद्धिएको थियो। त्यसैले उनीहरुको उद्दारको लागि आइतबार मात्रै चार वटा उडान भएको छ,’ थापाले भनिन्।
नेपाल एयरलाइन्स, यति एयरलाइन्स, बुद्ध एयर लगाएतका नेपाली एयरलाइन्सले आन्तरिक चाटर्ड उडान भरेका थिए। लुक्ला, पोखरा, नेपालगञ्ज लगाएतका क्षेत्रमा चार्टड उडान भएको थियो।
काठमाडौं ल्याइएका पर्यटकलाई सम्बन्धित देशका राजदूताबासले कतार एयरवेजको जहाज चार्टर्ड गरी लगेका थिए। कतार एयरवेजले शुक्रबार एउटा उडान भरेको थियो भने शनिबार दुई उडान भरेको थियो।
पर्यटकहरुलाई कतार एयरवेजले कतारसम्म चार्टर्डमा लगेको र त्यहाँबाट सेडुल फ्लाईटबाटै सम्बन्धित देश गएको प्रधिकरणका एक अधिकारीले बताए। दूतावासहरुले आफ्ना नागरिकलाई फिर्ता लैजान परराष्ट्र मन्त्रालयमार्फत विशेष उडान अनुमति लिएका थिए।
प्रतिक्रिया