ad ad

कारोबार


कोरोना नियन्त्रणका लागि नेपालले पायो साढे ३ अर्ब सहयोग

कोरोना नियन्त्रणका लागि नेपालले पायो साढे ३ अर्ब सहयोग

दीपक भट्ट
फागुन २७, २०७६ मंगलबार ११:५२,

कोराना नियन्त्रणको लागि नेपालले २९ मिलियन अमेरिकन डलर अनुदान सहयोग पाएको छ। विश्व बैंकले नेपाललाई उक्त डलर सहयोग दिने सम्झौता गरेको हो।

मंगलबारको विनिमय दरअनुसार उक्त रकम नेपाली ३ अर्ब ४३ करोड रुपैयाँ हुन्छ। विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णय केही दिनअघि मात्रै गरेको थियो। सोहीअनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको अर्थ मन्त्रालयका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार आज उक्त सम्झौतामा हस्ताक्षर समेत भएको छ। तर नेपालले सहयोग रकम कसरी खर्चिन्छ भन्नेबारे विश्व बैंकले चासो दिएको ती अधिकारीको भनाइ छ।

विश्व बैंकले उक्त रकम दिएपछि मंगलबार नै स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, विश्व बैंक प्रतिनिधि र अर्थ सचिवसम्मिलित बैंठक समेत बसेको छ। उक्त बैठकमा विश्व बैंकले नेपालको सिमाना चीनसँग जोडिएको र भारतसँग खुल्ला सिमाना रहेको कारण यसको नियन्त्रणमा नेपालले के गर्छ भन्नेबारे चासो व्यक्त गरेको थियो।

साथै, विश्व बैंकले नेपालमा हाल कोरोना भाइरस संक्रमण रोक्न आवश्यक पर्ने उपकरणहरुको अवस्था र ल्याउनुपर्ने उपकरणबारे जानकारी माग गरेको छ।

नियन्त्रणको लागि अहिले नेपालले समग्रमा तयार गरिरहेको योजनाबारे उसले जानकारी समेत लिएको अर्थ मन्त्रालयले बताएको छ। मन्त्रालयले यो सहयोगलाई तत्काल उपयोग गरी कोरोना नियन्त्रणमा सरकार लाग्ने जानकारी विश्व बैंकलाई गराएको छ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले संक्रमित देश र जोखिमको लागि भन्दै एक हप्ताअघि उक्त रकम सहयोग गर्ने घोषणा गरेको थियो। घोषित रकममध्ये केहीलाई अनुदान र केहीलाई ऋण सहयोग गर्ने भनेको थियो। नेपाललाई भने विश्व बैंकले अनुदान दिएको हो।

त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले समेत न्यून तथा मध्यम आय भएका मुलुकलाई सहयोग प्रदान गर्ने घोषणा गरेको छ। आईएमफले तत्काल गर्ने सहयोगअनुसार ऋण लिने देशहरुलाई ब्याजदरमा सहुलियत दिने घोषणा गरेको छ।

कुन देशलाई कति दिने भन्ने निर्णय भने गर्न बाँकी रहेको छ। यो संक्रमणले विश्व अर्थतन्त्रलाई नै असर पारिरहेको र कमजोर अर्थतन्त्र भएको मुलुकलाई अझै बढी असर पार्ने आईएमएफको विश्लेषण छ। सोहीअनुसार आईएमएफले कमजोर अर्थतन्त्र भएको मुलकलाई ध्यानमा राखी सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .