ad ad

कारोबार


रुससँग साउदीले टक्कर लिँदा तेल २९ वर्षयताकै सस्तो

रुससँग साउदीले टक्कर लिँदा तेल २९ वर्षयताकै सस्तो

नेपालखबर
फागुन २६, २०७६ सोमबार ७:५७,

अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य २९ वर्षयता पहिलोपटक ह्वात्तै घटेको छ। एजेन्सीहरुका अनुसार पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक) र रुसबीच उत्पादन कटौती गर्न सहमति नजुटेपछि कोरोना भाइरसका कारण घटिरहेको तेलको मूल्यमा अझै गिरावट आएको हो।

तेल बजारलाई सन्तुलनमा राख्न ओपेकले रुससँग आवश्यक कदम चाल्न आग्रह गरेको थियो। रुसले मानेन। रुससँग टक्कर लिन साउदी अरबले तेलको मूल्य कम गरेको छ।

रोयटर्सका अनुसार ब्रेन्ट क्रुड ११.८१ अमेरिकी डलर प्रतिब्यारेल अर्थात् झण्डै २६ प्रतिशतले घटेर ३३.४६ डलरमा झरेको छ। यो सन् २०१६ फेब्रुअरी यता कम हो। तर एकै दिन यति धेरै दरले घटेको भने सन् १९९१ जनवरी १७ यताकै ठूलो हो। खाडी युद्धका बेला तेल बजारमा एकै दिन ठूलो गिरावट आएको थियो।

त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि ११.४८ अर्थात् २८ प्रतिशतले घटेर प्रतिब्यारेल २९.८० डलर कायम भएको छ। २०१६ फेब्रुअरी १२ मा २७.३४ डलर प्रतिब्यारेलपछिकै यो कम मूल्य भएको एजेन्सीहरुले जनाएका छन्।

यसका साथै तीन वर्षयताको ओपेक–रुस सहकार्यको सहमति पनि तोडिएको बताइएको छ। साउदी अरेबियाले कच्चा तेल उत्पादन तीव्र पार्ने योजना अघि सारेको छ। प्रतिदिन १ करोड ब्यारेल तेल अप्रिलदेखि उत्पादन गर्ने उसको योजना छ। ओपेक सदस्यराष्ट्रहरु रुसमाथि दबाब सृजना गर्न खोजिरहेका छन्। रुस विश्वको दोस्रो ठूलो तेल उत्पादक दशे हो। गत हप्ता ओपेकले गरेको उत्पादन कटौती प्रस्ताव रुसले अस्वीकार गरेपछि उनीहरुले दबाब दिने प्रयास गरिरहेका छन्।

त्यस्तै साउदी अरेबियाले गत सप्ताहान्तमा आधिकारिक बिक्री मूल्य अप्रिलका लागि सबै ग्रेडको कच्चा तेल प्रतिब्यारेल ६ देखि ८ अमेरिकी डलर तोकेको छ।

चीनबाट फैलिएको कोरोना भाइरसको कारण मागमा कमी आउँदा तेलको मूल्य घटिरहेको थियो। कोरोनाको कारण अन्य बजारहरुमा पनि प्रभाव परिरहेको छ। तेलको मूल्य घट्दै गर्दा सुनको मूल्य बढिरहेको छ। सुन सन् २०१३ यताकै उच्च मूल्यमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .