ad ad

कारोबार


प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँबाट विराटनगर र सिमरा गएका विमान अवतरण हुन सकेनन्
प्रतिकूल मौसमले हवाई उडान प्रभावित

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८१ बिहिबार ११:२४, काठमाडौँ

मौसम प्रतिकूल हुँदा काठमाडौँमा हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। 

काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ। 

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्। 

काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बीचबाटोबाटै काठमाडौँ फर्किएको छ।

मौसम बिग्रिएकाले आजका लागि कुनै पनि पर्वतीय उडान (माउन्टेन फ्लाइट) नभएको एयरलाइन्सले जनाएका छन्। अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन भइरहेको छ। 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको  । यसले देशका अधिकांश भागमा बदली रहनाका साथै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .