ad ad

कारोबार


धितोपत्र बोर्ड अध्यक्षका ३ उम्मेदरवालाई तेस्रो मौका, यसपटक आउलान् अन्तर्वार्तामा?

धितोपत्र बोर्ड अध्यक्षका ३ उम्मेदरवालाई तेस्रो मौका, यसपटक आउलान् अन्तर्वार्तामा?

नेपालखबर
असोज १०, २०८१ बिहिबार ९:६, काठमाडौँ

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका लागि छनोटमा परेर पनि अन्तर्वार्तामा नआएका तीन उम्मेदवारलाई अर्थ मन्त्रालयले तेस्रो मौका दिएको छ।

यसअघि दुई पटकसम्म बोलाउँदा पनि नआएका सेबोनकै कार्यकारी निर्देशक डा. नवराज अधिकारी, तत्कालीन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ र नेपाल स्टक एक्स्चेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण बहादुर कार्कीलाई अध्यक्ष सिफारिस समितिले तेस्रोपटक अन्तर्वार्तामा बोलाएको हो। 

कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उनीहरूलाई यही असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय उपस्थित हुन भनिएको छ।

अर्का उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सर्वोच्च अदालतमा हालेको रिट विचाराधीन रहेकै अवस्थामा महान्याधिवक्ताको कार्यालयले बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन सकिने राय दिएपछि अर्थ मन्त्रालयले नियुक्तिका लागि बाटो खोलेको हो।

यसअघि सिफारिस समितिले उल्लिखित ३ उम्मेदवारलाई पहिलोपटक असार २ गते  र दोस्रोपटक असार ५ गते अन्तर्वार्ताका लागि बोलाएको थियो।

असार ५ गते सिफारिस समितिले लिएको अन्तर्वार्तामा सन्तोषनारायण श्रेष्ठ र सेबोनकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै उपस्थित भएका थिए।

अन्तर्वार्ताको सूचना प्रकाशनपूर्व नै अध्यक्ष चयन भइसकेको दाबी गर्दै ३ उम्मेदवार अन्तर्वार्ता दिन गएका थिएनन्।

धितोपत्रसम्बन्धी ऐनमा अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयबाट गठित सिफारिस समितिले तीन जनाको नाम छनोट गरेर अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्‌मा पठाउनुपर्ने व्यवस्था छ।

ऐनअनुसार सिफारिस समितिले तीन जनाको कोरम पुर्‍याउन नसकेपछि अध्यक्षका लागि सिफारिस प्रक्रिया नै रद्द गरेर नयाँ समिति गठन गरिएको थियो।

सम्पूर्ण प्रक्रिया रद्द भएपछि अन्तर्वार्तामा सहभागी भएका उम्मेदवार सन्तोष नारायण श्रेष्ठले सर्वोच्चमा हालेको मुद्दा विचाराधीन छ।

असार १८ गते अब्दुल अजिज मुसलमानको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै नियुक्ति प्रक्रिया रद्द गर्ने सिफारिस समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको थियो। अब अर्को पेसी माघका लागि तोकिएको छ। 

गत पुस २१ गते तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि बोर्ड अध्यक्षविहीन छ।

अर्थ मन्त्रालयले कार्यवाहक अध्यक्षका रूपमा अहिले मन्त्रालयकै सहसचिव महेश बराललाई पठाए पनि पुसयता बोर्डका काम/कारबाही अगाडि बढ्न सकेको छैन।

अध्यक्ष नहुँदा ३५ भन्दा बढी कम्पनीको आईपीओ निष्कासन रोकिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .