ad ad

कारोबार


राजस्व छलीमा तानियाे सूर्य नेपाल, तराईमा भेटियो विना स्टिकरको सूर्य चुरोट

राजस्व छलीमा तानियाे सूर्य नेपाल, तराईमा भेटियो विना स्टिकरको सूर्य चुरोट

दीपक भट्ट
फागुन २५, २०७६ आइतबार ७:३५,

सधैँ बढी कर तिर्ने कम्पनीको परिचय पाएको सूर्य नेपाल प्रालिको यो वर्षको कारोबार शंकास्पद देखिएको छ। चालू आर्थिक वर्षको छ महिनासम्ममा ३० करोडबराबरको चुरोट कारोबारमा सूर्य नेपालले राजस्व छली गरेको हुनसक्ने आधारसहित कर कार्यालयले अनुसन्धान थालेको छ।

आन्तरिक राजस्व विभाग स्रोतका अनुसार यो वर्ष सूर्य नेपालले कारोबार रकम नै कम देखाएको छ। गत आर्थिक वर्षमा ३८ अर्ब ४ करोड रुपैयाँ हाराहारीमा करोबार गरेको कम्पनीले चालू वर्ष भने गत वर्षको तुलनामा १० प्रतिशत रकम कम भएको भन्दै ठूला करदाता कार्यालयमा आफ्नो विवरण पेश गरेको छ।

चालू आर्थिक वर्षको सुरुदेखि नै कारोबार रकम कम भएको दाबी गर्दै सोहीअनुसारको विवरण ठूला करदाता कार्यालयमा पठाएको हो।

कम्पनीले नेपालमा चुरोट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ। कर कार्यालयले कारोबार नै कम भएको दाबीमाथि शंका गर्दै अनुसन्धान समेत गरिरहेको जनाएकाे छ।

अनुसन्धानकै क्रममा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ३० करोड रुपैयाँ बराबरको चुरोटको कर दाखिला नगरेको देखिएको कार्यालय स्रोतले नेपालखबरलाई जानकारी दिएको छ। स्रोतका अनुसार अध्ययनको पूर्ण विवरण दिन बाँकी छ तर उत्पादनमै कर छली गरेको भन्ने आधार भने देखिएको छ।

surya nepal 1

यसरी हुँदै छ कर छली
कम्पनीको हकमा कहिल्यै नभएको कुरा यो वर्ष देखिएको छ। तराईका केही जिल्लामा विना स्टिकरको सूर्य चुरोट नै बिक्रीवितरण भइरहेको फेला परेको छ।

कार्यालयका अनुसार विगतमा पनि विना स्टिकरको चुरोटहरु बिक्री वितरण हुने गरेको थियो। त्यस्ता चुरोटको ब्राण्ड नाम नसुनेको खालका हुन्थे। तर यो वर्ष भने सूर्य चुरोट ब्राण्डमा नै स्टिकर नटाँसिएको भेटिएको हो।

कम्पनीले नै उत्पादन गरेको चुरोट विना स्टिकर कसरी बजार पुग्यो भनेर राजस्व अनुसन्धान विभागको सहयोगमा कर कार्यालयले अनुसन्धान गरेको हो।

सो क्रममा कम्पनीले उत्पादन गरेर राति नै बजारमा चुरोट पठाएको हुनसक्ने विवरण संकलन गरिएको स्रोतको भनाइ छ। यो पुष्टि भएमा सूर्य नेपाललाई कारबाहीको दायरामा ल्याउने कर कार्यालयले तयारी समेत गरेको छ।

याे पनि -
सूर्य नेपालको कर १० प्रतिशतले घट्यो, यो वर्ष कुन कम्पनीले बढी तिर्ला?

बहुराष्ट्रिय कम्पनीको 'बदनाम'
सूर्य नेपाल बहुराष्ट्रिय कम्पनी हो। यसमा आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत र नेपाली लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व छ। बाँकी २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको छ ।

तर यो कम्पनीको नेपाली व्यवस्थापनको अग्रसरतामा नक्कली कारोबार भएको प्रमाणित भएमा विदेशी कम्पनीहरुको बदनाम हुने निश्चित छ।

गत आर्थिक वर्षमा मात्रै यो कम्पनीले ३८ अर्ब ४ करोड रुपैयाँको कारोबार गरेको थियो। त्यसमा करयोग्य रकम १४ अर्ब ७३ करोड रुपैयाँ देखाएको थियो। यसअनुसार ४ अर्ब ४१ करोड रुपैयाँ कर दाखिला गरेको थियो।

surya nepal kar chhali

नक्कली कारोबारले लगानी विस्तारमा समस्या
सूर्य नेपालले नेपालमा लगानी विस्तार गर्दै छ। सूर्य नेपाल प्रालिले बूढानीलकण्ठमा एक सय ७० वटा रुमयुक्त पाँचतारे होटल निर्माण गर्ने भएको छ। होटलमा चार सय ६५ वटा सिट रहने रेष्टुरेन्ट समेत हुने होटल दर्ताको क्रममा छ।

होटलको प्रोजेक्ट प्रपोजलमा ५ अर्ब ९५ करोड प्रस्ताव पेश गरेको छ। चालू पुँजी ४ करोडसहित कुल पुँजी ५ अर्ब ९९ करोड हुने प्रस्ताव पेश गरेको हो। होटलको विद्युत् खपत ३ हजार केभीए हुने र ३ सय ६ जनालाई रोजगारी दिने कम्पनीले जनाएको छ। होटल ३ सय ६५ दिनै सञ्चालन हुने तथा तीनवटै सिफ्टमा सञ्चालन गरिने कम्पनीको प्रस्तावमा छ।

याे पनि -
१७० वटा रुम, ४६५ वटा रेस्टुरेन्ट सिट, यस्तो हुनेछ सूर्य नेपालको पाँचतारे होटल

सूर्य नेपालको शाखा उद्योगको रुपमा रहने उक्त होटलका लागि आवश्यक पुँजीमध्ये कम्पनीको रिटेन्ड अर्निङ (सञ्चित आम्दानी)बाट प्रयोग गरिने सूर्य नेपालले जनाएको छ। त्यस्तै कम्पनीको ‘स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन’ अनुसार इक्विटी (स्वपुँजी) १२ अर्ब ३५ करोड १० लाख ६० हजार २ सय ४६ रुपैयाँ रहेको भनिएको छ।

तर नक्कली कारोबार भएको पुष्टि भएको खण्डमा यो कम्पनी कारबाहीको दायरामा परी विगत वर्षको आम्दानी समेत अनुसन्धानमा पर्नेछ। त्यस्तै गरी लगानी विस्तारको काम पनि सरकारले रोकिदिन सक्ने कर कार्यालय स्रोतले बताएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .