ad ad

कारोबार


सौर्य जहाज दुर्घटना : मृतकका परिवारलाई दक्षता र योग्यताअनुसार रोजगारी, बीमाबारे के हुन्छ?

सौर्य जहाज दुर्घटना : मृतकका परिवारलाई दक्षता र योग्यताअनुसार रोजगारी, बीमाबारे के हुन्छ?

नेपालखबर
साउन १३, २०८१ आइतबार २३:१४, काठमाडौँ

सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछि अब मृतकका परिवारका सदस्यलाई थप सुविधा व्यवस्थापनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ। 

सौर्य एयरलाइन्स प्रा.लिबाट मृतकका परिवारलाई थप सुविधा व्यवस्था गर्न मन्त्रालयमा उक्त एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलसँग छलफल भएको हो। 

यसअनुसार सौर्य एयरलाइन्स प्रा.लिका तर्फबाट परिवारका सदस्यहरुलाई दक्षता र योग्यता बमोजिमको रोजगारीको प्रतिबद्धता भएको मन्त्रालयले जनाएको छ। 

मृतकको बीमाबारे भने प्रभु इन्स्योरेन्स प्रा.लिमा बीमा गरिएको र बेलायतको लोयड्स कम्पनी पुनर्बीमकको रुपमा रहेकोले उक्त कम्पनीका प्रतिनिधिसँग छलफलपश्चात् बीमा रकमको निर्क्यौल हुनेबारे छलफल भएको छ। साथै बीमा रकम हस्तान्तरण सहज तरिकाले यशाशीघ्र सम्पन्न गर्न सौर्य एयरलाइन्स प्रा.लिलाई निर्देशन गरिएको मन्त्रालयले जनाएको छ।

छलफलमा मन्ट्रियल कन्भेनसनबमोजिम किन बीमा व्यवस्था नगरिएको भन्नेबारे पनि मन्त्रालयमा चर्चा भएको थियो। तर नेपालले पनि सन् २०१८ मा यात्रु बीमासम्बन्धी उक्त सन्धि (१९९९) अनुमोदन गरेको र उक्त व्यवस्था अन्तर्राष्ट्रिय उडानलाई मात्र लागू हुने भएकाले यो दुर्घटनामा नमिल्ने देखिएको छ। हाल आन्तरिक उडानमा सरिक हुने यात्रुहरुको बीमा २० हजार अमेरिकी डलर रहे पनि त्यो यात्रु उडानमा मात्र लागू हुने मन्त्रालयले उल्लेख गरेको छ।

हाल आन्तरिक नियमित उडानमा सरिक हुने यात्रुहरुको बीमा रकम कम भएकोले आन्तरिक उडानका लागि बीमा व्यवस्था गर्नेसम्बन्धी विधेयक तर्जुमाका लागि कार्य अगाडि बढेको पनि मन्त्रालयले जनाएको छ।

यही साउन ९ गते भएको ९एन एएमई सीआरजे२०० दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने क्याप्टेन मनिषरत्न शाक्यको उपचार भइरहेको छ। 

हालसम्म विदेशी यमनी नागरिकबाहेक मृतकका सबै परिबारहरुले शव बुझेको अवस्था रहेको र यमनी नागरिकको हकमा शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकोले यमनको दूतावास रहेको नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको जनाइएको छ। शव व्यवस्थापनको खर्च सौर्य एयरलाइन्सवाट भएको पनि मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .