ad ad

कारोबार


नाका खुलाउने नेपालको आग्रह चीनद्वारा अस्वीकार

नाका खुलाउने नेपालको आग्रह चीनद्वारा अस्वीकार

दीपक भट्ट
फागुन १५, २०७६ बिहिबार १६:२७,

कोरोना भाइरस (कोविड–१९) को प्रकोपका कारण एक महिनादेखि बन्द चीनसँगको नाका खोल्ने नेपाली अधिकारीहरुको प्रस्ताव चिनियाँ पक्षले अस्वीकार गरेको छ।

चीनमा प्रकोप बढेपछि दुवै देशको सहमतिम माघ १४ गतेदेखि सबै नाका बन्द गरिएको थियो।

नाका बन्द भएपछि व्यापार मात्र ठप्प भएको छैन, सीमा क्षेत्रका बासिन्दाको जीवनशैलीमै प्रभाव पर्न थालिसकेको छ। त्यसैकारण कोरोनाको राम्रो जाँच गर्ने व्यवस्था गरेर नाका खुलाउने विषयमा नेपाली अधिकारीहरु छलफलमा जुटे।

यसबारे गत मंगलबार र बुधबार सम्बन्धित मन्त्रालयका सचिवहरुले छलफल गरेका थिए। छलफलमा गृह सचिव, वाणिज्य सचिव, अर्थ सचिव र स्वास्थ्य सचिव उपस्थित थिए। उनीहरुले सावधानी अपनाएर नाका खुलाउन सकिने निर्णय समेत गरे।

सोही निर्णयअनुसार नाका खुलाउन नेपालले चिनियाँ पक्षसँग आग्रह गरेको थियो।

तर, चिनियाँ पक्षले तत्काल नाका खोल्न नसकिने जवाफ दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले बताए।

नाका बन्द भएपनि नेपाली र चिनियाँ पक्ष निरन्तर सम्पर्कमा रहँदै आएका छन्। नाका बन्द भएको केही दिनभित्रै नेपाली पक्षले चीनतर्फ अड्किएका चार सय कन्टेनर सामान ल्याउन आग्रह गरेको थियो। चीन त्यसमा सहमत भएको थियो।

त्यस्तै, नेपाल–चीन सीमाक्षेत्रमा बसोबास गर्ने केहीलाई पनि चेकजाँच गरेर आवतजावत गर्न दिनेबारे छलफल भएको थियो। तर, सो विषयमा चीनले असहमति जनाएको थियो।

वाणिज्य मन्त्रालयका सचिव बैकुण्ठ अर्याल भने नाका खोल्ने विषयमा छलफल जारी रहेको बताउँछन्।

‘नाका बन्द हँुदा नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै प्रभाव पर्न थालेको छ,’ सचिव अर्यालले नेपालखबरसँग भने, ‘अहिले छलफल भइरहेको छ। कहिले भन्दा पनि कसरी नाका खुलाउने भन्ने विषय चाहिँ महत्वपूर्ण हो। त्यसमा अहिले निर्णय हुन सकेको छैन।’

सचिव अर्यालले नाका खुला गर्ने विषयमा चिनियाँ पक्षसँग मात्र होइन, नेपालकै अन्तरमन्त्रालय तथा अन्तरनिकाय समन्वयका लागि छलफल भइरहेको जानकारी दिए।

‘महामारीको अवस्था नेपालमा आउन नदिन सतर्कता पनि अपनाउनु पर्ने छ साथै नेपालको अर्थतन्त्रलाई सहज गराउन व्यापारलाई पनि ध्यान दिनु पर्ने छ,’ उनले भने, ‘यो विषयमा सरकार लागिरहेको छ।’
मन्त्रालयका एक अधिकारीले भने चिनियाँ पक्षको आग्रहमा नाका बन्द भएकाले उनीहरुकै चाहनाआनुसार खुला हुने बताए।

चीनसँगको नाका बन्द हुँदा नेपालको नेपाली बजारमा त्यसको असर पर्न थालिसकेको छ। चीनबाट नेपालले स्याउ, लसुन, प्याज, लत्ताकपडा, इलेक्ट्रोनिक्सका सामानहरु बढी मात्रामा आयात गर्छ।

अन्यत्रबाट यी सामान आयात गर्दा मूल्य बढी पर्ने गर्छ। त्यसैले नेपालमा यी वस्तुको मुल्य वृद्धि हुन थालिसकेको छ। नेपालबाट चीनतर्फ चिया, घ्यू, जडीबुटी, पस्मिना, अगरबत्तीजस्ता वस्तु निर्यात हुन्छन्। त्यो रोकिँदा व्यवसायीहरु मारमा पर्न थालेका छन्।

‘चीनले एसीसी क्रिकेट खेल्न नपाएको प्रभाव नेपालको नाकामा पर्‍यो’
वाणिज्य मन्त्रालय स्रोतले एसियन क्रिकेट काउन्सिलको प्रतियोगिता खेल्न नपाउँदा चीनले नेपालको नाका खोल्न आनाकानी गरेको संकेत पाइएको बतायो।

‘चिनियाँ पक्षले हामीलाई थाइल्यान्डमा हुने क्रिकेट प्रतियोगितामा त सहभागी गराइएन, तपाईंहरु अहिले नै नाका खोलेर किन विश्व बजारमा नकारात्मक सन्देश दिनुहुन्छ भन्ने जवाफ दियो,’ मन्त्रालयका ती अधिकारीले भने।

२९ फेब्रुअरी थाइल्यान्डमा एसीसी इस्टर्न रिजन यू–१९ क्रिकेट प्रतियोगिता हुँदैछ। जसमा चीन सहभागी छैन।

सो प्रतियोगितामा सहभागी हुन चाहँदा चाहँदै पनि एसियन क्रिकेट काउन्सिलले सहभागी नगराएको भाव चिनियाँ पक्षले व्यक्त गरेको ती अधिकारीको भनाइ थियो।

नेपालको नाका खुलाउने सन्दर्भमा पनि यो विषयले प्रभाव पारेको वाणिज्य मन्त्रालयका ती अधिकारीको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .