ad ad

कारोबार


सूर्य नेपालको कर १० प्रतिशतले घट्यो, यो वर्ष कुन कम्पनीले बढी तिर्ला?

सूर्य नेपालको कर १० प्रतिशतले घट्यो, यो वर्ष कुन कम्पनीले बढी तिर्ला?

दीपक भट्ट
फागुन १३, २०७६ मंगलबार ११:४८,

‘सबैभन्दा बढी कर तिर्ने कम्पनी’को छवि कमाएको सूर्य नेपाल प्रालिको स्थान चालू आर्थिक वर्षमा अर्कै कम्पनीले लिने भएको छ।

आव २०७५/०७६ मा सर्वाधिक कर तिरेको भन्दै आन्तरिक राजस्व विभागबाट सम्मान पाएको सूर्य नेपाललाई चालू आवमा गोर्खा ब्रुअरीले उछिन्ने देखिएको हो।

चालू आवको ६ महिनामा सूर्य नेपालले तिर्ने कर गत वर्षको तुलनामा १० प्रतिशतले कमी आएको आन्तरिक राजस्व विभागले जनाएको छ। चालू आवमा सूर्य नेपाल प्रालिको कर आकार घटेको कारण कम्पनी पछि पर्ने देखिएको छ।

अर्को कम्पनी गोर्खा ब्रुअरीले सूर्य नेपाललाई पछ्याइरहेको छ। गोर्खा ब्रुअरीको चालू आवको कारोबार अवस्था यही गतिमा अघि बढे सर्वाधिक कर तिर्ने कम्पनी बन्न सक्ने विभागका एक अधिकारीले नेपालखबरलाई जानकारी दिए।

गत वर्षको कर अन्तर यी दुई कम्पनीबीच जम्मा एक अर्ब रुपैयाँ मात्रै थियो। सूर्य नेपालले १४ अर्ब रुपैयाँ कर दाखिला गर्दा गोर्खा ब्रुअरीले १३ अर्ब रुपैयाँ कर तिरेको थियो।

तर यो वर्ष सूर्य नेपालले तिर्ने कर एक्कासि घटेको विभागको भनाइ छ। विशेष गरी चुरोट उत्पादन र बिक्रीवितरण गर्दै आएको सूर्य नेपालले चालू आवमा कारोबारमा कमी आएको विवरण पेस गर्दै कर रकम घटाएको छ।

विभाग स्रोतका अनुसार यो वर्ष मदिराको बिक्रीवितरणमा कमी आए पनि गोर्खा ब्रुअरीले भने कर रकम घटाएको छैन। यसैबीच, दुई कम्पनीलाई एनसेल, नेपाल टेलिकम, जगदम्बा स्टिलले पनि पछ्याइरहेको विभागको तथ्याङ्कले देखाएको छ।

किन घट्यो?
सूर्य नेपाल सञ्चालक समितिले कम्पनीको हाल रहेको अधिकृत पुँजी ६ अर्ब ५० करोडबाट १८ अर्ब रुपैयाँ पुर्याएको छ। होटल सञ्चालन गर्ने भन्दै लाभांशबापतको रकम नै पुनः लगानी गर्ने गरी कम्पनी अघि बढिसकेको छ।

प्रस्तावित होटल दर्ताको प्रक्रिया समेत अघि बढिसकेको छ। लगानी वृद्धि गर्दा सरकारलाई तिर्नुपर्ने रकम झनै बढ्नुपर्नेमा चालू आर्थिक वर्षमा कम्पनीले कर घटाउँदै लगेको हो।

कर कार्यालयले समेत यसबारे कम्पनीसँग सोधखोज गरेको बताएको छ। कम्पनीले नेपालको दक्षिणी सीमा क्षेत्रमा भारतीय उत्पादनले बजार लिन थालेको मौखिक जवाफ दिएको छ।

सूर्य नेपालले कर कार्यालयलाई चालू आवमा कम्पनीको जस्तै देखिने भारतीय चुरोटले सीमावर्ती नेपाली बजार लिनथालेको कारण आफ्नो उत्पादन खपत हुन छोडेको बताएको छ। आगामी वर्षदेखि कम्पनीको होटल सञ्चालनमा आउनेछ। त्यसपछि होटलबाट हुने कर रकम बढ्ने सूर्य नेपालले कर कार्यालयलाई जवाफ दिएको छ।

यस्तो हुनेछ सूर्य नेपालको होटल
आईटीसी लिमिटेड इन्डियाको ५९ प्रतिशत र नेपाली लगानीकर्ताको ३९ प्रतिशत सेयर स्वामित्व लगानीमा कम्पनीले होटल सञ्चालन गर्नलागेको हो। त्यस्तै, २ प्रतिशत सेयर लगानी भने ब्रिटिश अमेरिकन टोबाको इन्भेष्टमेन्टको रहनेछ।

उक्त होटल काठमाडौंको बूढानीलकण्ठमा बन्नेछ। साथै यो होटल पाँचतारे मापदण्डको हुनेछ। क्यासिनोसहित रहने यो होटल सुविधासम्पन्न हुने बताइएको छ।

होटलका नेपाली लगानीकर्ताहरु प्रभाकर शमशेर राणा र योगेश्वर अमात्य रहेकामा प्रभाकरको यो वर्ष मृत्यु भएको थियो। उनको मृत्युपछि छोरा सिद्धार्थ शमशेर राणाले बुबाको नाममा रहेको १ हजार ४ सय ८ कित्ता सेयर स्वामित्व नामसारी गरी लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .