एक हजार ६३ मेगावाट जलविद्युत् उत्पादन क्षमताको गेमचेन्जर आयोजना माथिल्लो अरुणमा दुई प्रमुख दातृसंस्था विश्व बैंक र एसियाली विकास बैंक (एडीबी)ले हातेमालो गर्दै छन्।
यसअनुसार पहिलो सहकार्य माथिल्लो अरुणमा हुँदै छ भने त्यसपछि दूधकोशी जलविद्युत् आयोजनामा पनि यसले निरन्तरता पाउँदै छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार केही वर्षदेखि भइरहेको प्रयासस्वरुप अनुदान तथा ऋण सहायता प्रदानमा अग्रणी विश्व बैंक र एसियाली विकास बैंकले नेपालमा पहिलोपटक सहकार्य गर्नलागेका हुन्।
‘दुई ठूला आयोजनामा करिब चार अर्ब डलर लगानी हुँदैछ, विश्व बैंकको नेतृत्वमा अपर अरुण र एसियाली विकास बैंकको नेतृत्वमा दूधकोशी आयोजनाको निर्माण गर्ने समझदारी बनेको छ,’ कार्यकारी निर्देशक घिसिङले भने।
यही वैशाख पहिलो हप्ता अर्थमन्त्री वर्षमान पुनको अमेरिका भ्रमणका क्रममा वासिङटन डीसीमा विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष मार्टिन रेजरसँग उक्त आयोजनामा विश्व बैंक प्रमुख लगानीकर्ता रहने सैद्धान्तिक सहमति भइसकेको छ।
जुन गत मंसिर २० मा विश्व बैंक र एडीबीबीच भएको नेपालको जलविद्युत् विकासमा सहकार्य गर्ने सम्झौताकै देन हो। योसँगै लगानी मोडालिटी टुंगिएको छ भने विश्व बैंकको अगुवाइ र एडीबीको साथमा आयोजना अघि बढ्नेछ।
यसअनुसार माथिल्लो अरुणमा विश्व बैंकले ८२ करोड ५० लाख अमेरिकी डलर र एडीबीले १५ करोड अमेरिकी डलर लगानी गर्नेछ। यसबाहेक युरोपियन इन्भेष्टमेन्ट बैंकको ५० करोड, जाइकाको १५ करोड लगानी रहनेछ।
आयोजनामा पेट्रोलियम पदार्थ निर्यात गर्ने देशहरुको संगठन (ओपेक)को १० करोड डलर, साउदी अरेबिया फन्डको १० करोड डलर र नेपालका संस्थाहरुको ४० करोड डलर लगानी हुनेछ।
त्यसैगरी नेपाल सरकार तथा प्राधिकरणको सेयर पुँजीको रुपमा ६२ करोड डलर लगानी हुनेछ।
कुल गरेर आयोजनामा २ अर्ब ८४ करोड ५० लाख अमेरिकी डलर लगानी जुटाउने सैद्धान्तिक समझदारी भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
अब सम्झौता त्यसपछि काम
ऊर्जा मन्त्रालयका एक अधिकारीले सहवित्तीयकरणको सैद्धान्तिक पक्ष टुंगिएकाले अब सम्झौताको चरणमा पुगेको बताए।
‘यही लगानी मोडालिटी तोकिएर नै सैद्धान्तिक रुपमा लगभग टुंग्याइएको छ। अब सम्झौताको चरणमा जाने हो’, ती अधिकारीले भने।
अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय समन्वयन महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि आयोजना अब अघि बढेको बताउँछन्।
उनी भन्छन्, ‘सरकारले सैद्धान्तिक स्वीकृति दिएपछि यसले औपचारिकता पाउँछ र सम्झौता हुन्छ।’
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टले यससम्बन्धी चाँडै सम्झौता हुने बताए। आवश्यक तयारी पूरा गरेर सरकारले सम्झौता गर्न सक्ने उनको भनाइ छ।
भट्टका अनुसार लगानी सम्मेलनकै आसपासमा यससम्बन्धी सम्झौता हुनेछ।
संखुवासभामा बन्ने, वार्षिक साढे ४ अर्ब युनिट बिजुली उत्पादन
१ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त आयोजना हो।
पूर्वी नेपालको संखुवासभा जिल्लामा रहेको भोटखोला गाउँपालिका २ र ४ तथा मकालु गाउँपालिका ३ मा आयोजना बनाउने प्रस्ताव गरिएको छ।
निर्माणपश्चात् आयोजनाबाट वार्षिक ४ अर्ब ५३ करोड युनिट ऊर्जा उत्पादन हुनेछ। सुख्खायाममा समेत विद्युत उत्पादन हुने भएकाले यो आयोजनालाई गेमचेन्जर आयोजना मानिएको छ।
यस आयोजनाका लागि २३ दशमलव १९ किमि लम्बाइको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ भने १४ दशमलव १०४ हेक्टर वन क्षेत्र र ६१ दशमलव २७२ हेक्टर खेतीयोग्य जमिन आवश्यक पर्नेछ।
प्रस्तावित आयोजनाबाट २ वटा सामुदायिक वनको तथा सरकारी वनको क्षेत्र प्रभावित हुने र ४५३० वटा रुखहरु कटान गर्नुपर्ने देखिएको छ।
आयोजनाको डीपीआर समेत विश्व बैंकको १ करोड ३१ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा बनेको थियो।
संखुवासभामै अरुण नदीमा अन्य आयोजना पनि बनिरहेका छन्। खाँदबारी नगर र चिचिला गाउँपालिकामा ९ सय मेगावाटको अरुण तेस्रो निर्माणाधीन छ भने ६७९ मेगावाटको तल्लो अरुण पनि निर्माणकै क्रममा छ। भारतीय कम्पनी एसजेभीएनबाट यी आयोजना निर्माण अघि बढेको छ।
दूधकोशीमा एडीबीको अगुवाइ, विश्व बैंकको साथ
सम्झौताकै चरणमा नपुगे पनि दुई प्रमुख दातृनिकायले आपसी लगानी सहकार्यलाई दूधकोशी जलविद्युत् आयोजनामा पनि विस्तार गर्ने भएका छन्।
दूधकोशी नदी वहने पूर्वी जिल्लाहरु खोटाङ र ओखलढुंगाको सीमामा ६ सय ३५ मेगावाटको जलाशययुक्त आयोजनाको प्रस्ताव गरिएको छ।
स्रोतका अनुसार यो आयोजनामा पनि विश्व बैंक र एडीबीले लगानी सहकार्य गर्ने मोटामोटी समझदारी बनेको छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दूधकोशी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अन्तिम चरणमा पुगेको जानकारी दिए। सोही कारण प्राधिकरणले अब टेन्डर आह्वान गर्ने तयारी गरिरहेको उनको भनाइ छ।
यो आयोजनामा पनि माथिल्लो अरुणकै लगानी मोडालिटी रहने करिब करिब निश्चित भएको छ। यसअनुसार दूधकोशीमा एडीबीको अगुवाइ र विश्व बैंकको साथ रहनेछ।
आयोजनामा एडीबीले ६० करोड अमेरिकन डलर बराबरको लगानी गर्नेछ। यसबाहेक विश्व बैंकको २० करोड, युरोपियन इन्भेष्टमेन्ट बैंकको ३० करोड, एआईआईबी, ओपेक, साउदी फण्ड गरेर ६० करोड डलरको लगानी हुनेछ।
नेपालबाट आयोजनामा सार्वजनिक संस्थाहरुको ५ करोड डलर, नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको ४५ करोड डलर गरेर कुल २ अर्ब २० करोड अमेरिकी डलर लगानीको प्रस्ताव गरिएको छ।
माथिल्लो अरुणजस्तै दूधकोशी पनि गेमचेन्जर आयोजनामा पर्छ। सुख्खा याममा समेत राम्रो विद्युत उत्पादन हुने भएकाले नेपालका लागि यो आयोजना महत्त्वपूर्ण रहेको छ।
आयोजनाबाट वर्षायाममा २ अर्ब ८ करोड तथा सुख्खा याममा १ अर्ब ३६ करोड युनिट बिजुली उत्पादन हुनेछ।
आयोजनाका लागि २२० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ किलोमिटर, रावाखोलामा आठ किलोमिटर र ठोट्ने खोलामा ५ दशमलव ५ किलोमिटर लामो जलाशययुक्त ड्याम बनाइने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ।
यसरी भयो एडीबी–विश्व बैंक पहिलो सहकार्य
पछिल्लो समय समग्र विश्व नै नवीकरणीय ऊर्जातर्फ अग्रसर भइरहेको छ।
जलवायु परिवर्तनसँग जुध्न दिगो विकास लक्ष्यलाई अघि सारिएको छ। यस्तोमा जलविद्युतको प्रचुर सम्भावना रहेको नेपालमा दुई दातृनिकाय जलविद्युत् विकासमा सहकार्य गर्न आइपुगेका हुन्।
गत मंसिरमा यूएईमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप २८)का बेला विश्व बैंक र एडीबीले जलविद्युत् विकासमा ५ वर्षको प्रारम्भिक अवधिका लागि सहकार्य गर्ने सम्झौता गरेका थिए।
सम्झौतामा विश्व बैंकका तर्फबाट दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेसर र एडीबीको तर्फबाट क्षेत्रीय उपाध्यक्ष फातिमा यास्मिनले हस्ताक्षर गरेका थिए।
दुई दातृसंस्थाले नेपालको विकास आयोजनामा सहकार्य गर्ने सम्झौता गर्नु नेपालका लागि फाइदाजनक मात्रै होइन अवसरका रुपमा पनि हेरिएको छ।
दुई निकायले अग्रसरता लिँदा आयोजनामा खट्किने लगानी अभाव पूर्ति भई निर्माणपछिको प्रत्यक्ष लाभार्थी नेपाल नै हुने भएकाले यस किसिमका सहकार्यको निरन्तरता खोज्नुपर्ने विज्ञहरु बताउँछन्।
Shares
प्रतिक्रिया