ad ad

कारोबार


व्यवसायीको चुनावी सरगर्मीः ढकाल र प्रधानलाई मिलाउने प्रयासमा सौरभ ज्योति

व्यवसायीको चुनावी सरगर्मीः ढकाल र प्रधानलाई मिलाउने प्रयासमा सौरभ ज्योति

दीपक भट्ट
फागुन ४, २०७६ आइतबार १०:२०,

नेपाल उद्योग वाणिज्य महासंघको आउँदो चैत २८ मा वार्षिक साधारणसभा हुँदै छ। यही सभाबाट विधानतः शेखर गोल्छा स्वतः नयाँ अध्यक्ष बन्दै छन्।

महासंघको हाल कायम रहेको विधानमा महासंघको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनी अध्यक्ष बन्न लागेका हुन्।

वरिष्ठ उपाध्यक्ष बन्नु भनेको अर्को कार्यकालको लागि अध्यक्ष बन्नुसरह हो। वरिष्ठ उपाध्यक्षको लागि महासंघमा रहेका दुई उपाध्यक्षले उम्मेदवारी नै घोषणा गरिसकेका छन्। हालका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले डेढ महिनाअघि बाग्लुङमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। गत बिहीबार जिल्लागत उपाध्यक्ष किशोर प्रधानले विराटनगरमा उम्मेदवारी घोषणा गरेका हुन्।

यी दुईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि अब प्यानल–प्यानलमा उम्मेदवारी हुने र सोहीअनुसार निर्वाचन अघि बढ्ने आँकलन महासंघमा आबद्ध उद्योगी व्यवसायीहरुबीच हुनथालेको छ।

अझ प्रधानले शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई साथमा राखेर उम्मेदवारी घोषणा कार्यक्रममा ब्यानरमै गोल्छाको फोटो राखेपछि त यो एक प्यानल नै बनेजस्तो देखिएको व्यवसायीहरु बताउँछन्। यति मात्रै होइन, प्रधानको घोषणा कार्यक्रममा जिल्लागत उपाध्यक्षको दाबेदारी गरिरहेका दिनेश श्रेष्ठ तथा वस्तुगत उपाध्यक्षको दाबेदारी गरिरहेका अन्जन श्रेष्ठ समेत सहभागी भए। त्यसले छुट्टै प्यानल बन्ने व्यवसायीहरुको आँकलनमा केही सत्यता देखिएको छ।

उक्त कार्यक्रममा एसोसिएट उपाध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका सौरभ ज्योति भने उपस्थित थिएनन्। त्यसकारण महासंघमा आबद्ध व्यवसायीहरुको आँकलन ज्योति चन्द्रप्रसाद ढकालको टिममा परे कि भन्ने थियो। तर उनी स्वयं कुनै टिममा नरहेको बताउँछन्।

उनले चैत २८ गते हुने निर्वाचनको लागि मंसिर २५ गते नै उम्मेदवारी घोषणा गरेका थिए। आफू प्यानल–प्यानलमा उम्मेदवारी हुने कुराको विपक्षमा रहेको बताउँछन्।

किशोर प्रधानले बिहीबार विराटनगरमा उम्मेदवारी घोषणा हुने भन्ने कुरा आफूलाई जानकारी रहेको र त्यसमा उपस्थित हुन आग्रह समेत आएको बताउँछन्। यो घोषणाले प्यानल बनेको सन्देश दिने देखिएकोले म उपस्थित नभएको उनले नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘प्यानल बन्नु भनेको महासंघ आफैँमा कमजोर हुनु हो। प्यानलमा निर्वाचन भइसकेपछि जित र हार त हुन्छ नै, त्यसको असर पछिसम्म रहन्छ। अहिले महासंघ आफैँ कमजोर रहेको देखिएकोले व्यवसायीहरुको आत्मबल बढाउन पनि हामी अलि बलियो हुनुपर्छ। त्यसकारण प्यानलको उम्मेदवारी नै अहिले हुनुहँदैन।’

तर शीर्ष पद वरिष्ठ उपाध्यक्षको लागि दुई उम्मेदवार देखिएपछि दुई प्यानल निर्माण हुने निश्चित भएको छ। त्यसलाई पनि चिरेर सहमतिमा ल्याउने प्रयास आफूले गर्ने उनको भनाइ छ।

सौरभको प्रयास
आफूले घोषणा गरेअनुसार एसोसिएटको पद अब नछोड्ने सौरभ बताउँछन्। त्यसको पूर्ण तयारीको लागि अहिले लागिरहेको उनको भनाइ छ। एसोसिएट उपाध्यक्षको लागि अहिलेसम्म खुलेर उम्मेदवारी घोषणा गर्ने पनि कोही देखिएका छैनन्।

उनी भन्छन्, ‘अहिलेसम्मको उम्मेदवारी घोषणा गर्नेहरुलाई हेर्दा म साझा नै छु। त्यसको हकमा पनि मैले प्रधान तथा ढकाल दुवैसँग कुरा गरिरहेको छु। र, अब उहाँहरुलाई कसरी हुन्छ, मिलाउनुपर्ने अवस्था छ।’

उनीहरुलाई मिलाएर तथा अर्को कार्यकालको लागि अहिले नै सहमति गराएर पनि अघि बढाउन सकिने उनी बताउँछन्। अघिल्लो कार्यकालमा आफूले उम्मेदवारी दिनै लाग्दा सहमतिअनुसार नै उम्मेदवारी नदिएको उनको भनाइ छ।

अहिले पनि सोहीअनुसारको प्रयास गरिने सौरभ बताउँछन्।

‘म महाधिवेशनको तयारीको लागि पोखरामा नै छु। तर पनि प्रधान र ढकालसँग अहिले पनि कुराकानी गरिरहेको छु। महासंघलाई कमजोर बनाउन हैन, बलियो बनाउन हाम्रो नेतृन्व हुनुपर्छ’, नेपालखबरसँगको कुराकानीमा उनले भने, ‘त्यसको लागि सहमति र सहकार्य हुनुपर्छ भनेर कुराकानी भइरहेको छ।’

अबको महासंघ ‘स्वर्णिम’
सौरभकै भाषामा भन्ने हो भने महासंघमा अबको कार्यकाल ‘स्वर्णिम’ हुनेछ। मुख्य नेतृत्व शेखर गोल्छाले गर्दै छन्। त्यस्तै अन्य पदमा पनि युवा जोस भएका व्यक्ति आकांक्षी देखिएकोले महासंघको अर्को कार्यकाल बढी सफल हुने उनको दाबी छ।

महासंघबाट केही पाइन्छ भन्दा पनि केही गर्नको लागि नेतृत्व पुग्यो भने पक्कै पनि राम्रो गर्न सक्ने उनी बताउँछन्। त्यसकारण अबको कार्यकाल त्यसमा नै केन्द्रित हुनेमा ढुक्क देखिन्छन् सौरभ।

‘शेखर आफैँमा केही गरूँ भन्ने भावनाका देखिन्छन्। अन्जन पनि सोही प्रकारका छन्। तर म आफैँ पनि महासंघको स्थापनाको उद्देश्यअनुसारको काम गरूँ भन्ने सोच रहेकोले अबको कार्यकाल अब्बल र सक्षम हुने दिशामा छ’, सौरभले नेपालखबरसँग भने, ‘त्यसको लागि हाम्रो मेलमिलापचाहिँ हुनुपर्छ, त्यसको सुरुवात महाधिवेशनबाटै हुनुपर्छ। त्यसको तयारीमा म छु।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .