रेस्टुरेन्टमा नै उत्पादन भएको फ्रेस बियर अब नेपालीले पिउन पाउने भएका छन्।
सरकारले रेस्टुरेन्टहरुलाई आफैँ बियर उत्पादन गर्न पाउने मापदण्ड तयार गरेको हो।
विदेशमा पाइनेजस्तो ड्रमको धारो खोलेर बियर थाप्दै पिउनको लागि सरकारले मापदण्ड तय गरेको छ। रेस्टुरेन्टमा उत्पादन हुने बियर बोटलिङ गर्न भने पाइनेछैन।
औद्योगिक व्यवसाय ऐनको अनुसूची १ मा माइक्रो ब्रुअरीको लागि सरकारबाट अनुमति लिनुपर्ने उल्लेख छ। उक्त व्यवस्थाअनुसार माइक्रो ब्रुअरीसहितको रेस्टुरेन्ट स्थापनाका लागि उद्योग वाणिजय तथा आपूर्ति मन्त्रालयले मापदण्ड तय गरेको हो।
मापदण्डअनुसार अब ठूला क्षमताका रेस्टुरेन्टले फ्रेस बियर उत्पादन गरेर आफ्ना ग्राहकहरुलाई बिक्रीवितरण गर्न पाउनेछन्।
त्यसका लागि उद्योग विभागमा आवेदन दिनुपर्नेछ। त्यसअनुसार २ सय सिटभन्दा बढी क्षमताका रेस्टुरेन्टले माइक्रो ब्रुअरीको लाइसेन्स पाउनेछन्।
मापदण्डमा भनिएको छ, ‘२ सय सिट क्षमता भएका रेस्टुरेन्टको अभिन्न अंगको रुपमा ३ हजार हेक्टोलिटरसम्म बियर उत्पादन गर्न पाउनेछन्।’
रेस्टुरेन्टको माइक्रो बु्रअरीबाट उत्पादित बियर त्यही रेस्टुरेन्टमा मात्रै उत्पादन गर्न पाइनेछ।
सरकारले के–के मापदण्ड राखेर कसरी छनौट गर्छ?
रेस्टुरेन्ट सञ्चालनको लागि सम्बन्धित नियामक निकायबाट अनुमति लिएको हुनुपर्ने मापदण्डमा उल्लेख छ।
रेस्टुरेन्टसहितको माइक्रो ब्रुअरीको रेस्टुरेन्टको क्षेत्रफल २ हजार ४ सय वर्गफिट न्यूनतम हुनुपर्नेछ। ‘ब्रु’ हाउसको क्षेत्रफल १ हजार २ सय वर्गफिट तथा युटिलिटिजको लागि ९ सय वर्गफिट न्यूनतम क्षेत्रफल हुनुपर्नेछ।
रेस्टुरेन्टसहितको माइक्रो ब्रुअरीबाट उत्पन्न हुने सबै प्रकारका फोहोरको वातावरणमैत्री विसर्जन गर्ने व्यवस्था हुनुपर्नेछ।
माइक्रो ब्रुअरीको भौतिक संरचना एवम् गुणस्तर नियन्त्रणको लागि प्राविधिक पक्ष पूरा गरेको हुनुपर्नेछ भने यहाँबाट उत्पादन हुने बियरमा अल्कोहलको मात्रा अधिकतम ६५ एमएलसम्म हुनुपर्नेछ।
माइक्रो ब्रुअरी आरसीसी वाला पक्की भवनमा स्थापना हुनुपर्नेछ।
कच्चा पदार्थ भण्डारण, उत्पादन क्षेत्र तथा उत्पादित वस्तुको भण्डारण छुट्टाछुट्टै स्थापना गरिने व्यवस्था मिलाएको हुनुपर्ने समेत मापदण्डमा बताइएको छ।
बियरको लागि चाहिने महत्वपूर्ण कच्चा पदार्थ माल्ट (कनिका) सर्टिफाइड हुनुपर्ने तथा उत्पादनको प्रमाणपत्र रहेको हुनुपर्नेछ।
त्यसबाहेक प्रयोग भएको पाइप शुद्ध स्टिलको हुनपर्नेछ।
माइक्रो ब्रुअरीमा प्रयोग हुने ‘बोइलर’ले इन्धनका रुपमा इलेक्ट्रिसिटी मात्रै प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ।
माइक्रो ब्रुअरीले उत्पादनमा प्रयोग गर्ने पानी खाद्य तथा गुण नियन्त्रण विभागले तोकेको खानेपानीको मापदण्डअनुरुपको पानीको चारित्रिक गुण हुनुपर्नेछ ।
उत्पादित बियरको चारित्रिक गुण नेपाल गुणस्तर मापदण्डअनुसार हुनपर्नेछ। त्यसमा चिनी मिसाउन पाइनेछैन। यसबाहेक वातावरण मूल्याङ्कन मापदण्डअनुसारको तयारी गरेको समेत हुनुपर्नेछ।
अनुमति पाउन अब रेस्टुरेन्टले के–के गर्नुपर्छ?
औद्योगिक प्रवर्द्धन बोर्डले जनघनत्व, पर्यटकको उपस्थिति, व्यावसायिक महत्व हेरी निश्चित स्थानमा मात्र माइक्रो ब्रुअरीसहित रेस्टुरेन्ट सञ्चालनको अनुमति प्रदान गर्ने मापदण्डमा उल्लेख छ।
स्थापनाको अनुमतिको निवेदन दिँदा १० लाख रुपैयाँ धरौटीबापत जम्मा गर्नुपर्नेछ। उक्त धरौटी इजाजत प्राप्त नभएमा वा उद्योगले व्यावसायिक उत्पादन गरेपश्चात मात्र फिर्ता हुनेछ।
अनुमतिप्राप्त व्यक्ति वा उद्योगले व्यावसायिक उत्पादन गरेको २ वर्षसम्म कम्तीमा ५० प्रतिशत सेयर कायम रहेको हुनुपर्ने मापदण्डमा उल्लेख छ। अनुमति लिएको २ वर्षभित्र व्यावसायिक उत्पादन गरिसक्नुपर्नेछ। प्रचलित कानुनमा ब्रुअरी उद्योगले पालना गर्नुपर्ने व्यवस्था माइक्रो ब्रुअरीको हकमा पनि लागू हुनेछ।
यस्तो बियरको कर कसरी उठाउने?
रेस्टुरेन्टमा नै बियर उत्पादन नेपालमा अहिलेसम्म प्रयोगमा छैन। विदेशमा धेरै यस्तो प्रयोगहरु भइरहे पनि नेपालमा यो नयाँ हो।
यसको कर संकलनको मापदण्ड समेत अहिलेसम्म बनेको छैन। अब भने सरकारले यस्तो कर निर्धारण तथा संकलनको विषयमा नयाँ मापदण्ड नै तय गर्न पाउनेछन्।
माइक्रो ब्रुअरी स्थापनाको लागि उद्योग मन्त्रालयले बनाएको मापदण्डमा नै कर निर्धारण तथा सङ्कलन नेपाल सरकार अर्थ मन्त्रालयले निर्धारण गरेबमोजिम हुने उल्लेख छ।
Shares
प्रतिक्रिया