सरकारले १ खर्ब ५५ अर्ब रुपैयाँबराबरको ऋण भुक्तानी गरेको छ।
चालू आर्थिक वर्षको ७ महिनामा १ खर्ब ३० अर्ब आन्तरिक ऋण र २५ अर्ब रुपैयाँ वैदेशिक ऋण भुक्तानी गरेको हो।
महिनागत रुपमा साउन महिनामा सरकारले कुल २७ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी गरेको छ। जसमा सावाँ २३ अर्ब ३१ करोड रुपैयाँ र ब्याज ४ अर्ब ४३ करोड रुपैयाँ समावेश छ। त्यसैगरी भदौमा २० अर्ब १२ करोड रुपैयाँ भुक्तानी भएको छ। यसमा सावाँ १४ अर्ब १६ करोड रुपैयाँ र ५ अर्ब ९६ करोड रुपैयाँ ब्याज समावेश छ।
यसअनुसार असोजमा सावाँ र ब्याजसहित १९ अर्ब ८२ करोड, कात्तिकमा ३ अर्ब ९७ करोड सावाँ र ९ अर्ब ९७ करोड गरी कुल १३ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी भएको छ।
मंसिरमा ४ अर्ब १७ करोड सावाँ र ६ अर्ब २८ करोड ब्याजसहित १० अर्ब ४५ करोड, पुसमा १७ अर्ब ७९ करोड सावाँ र ६ अर्ब ६६ करोड ब्याजसहित कुल २४ अर्ब ४६ करोड रुपैयाँ भुक्तानी भएको छ। माघमा सरकारले ३८ अर्ब ६६ करोड रुपैयाँ ऋण चुक्ता गरेको छ।
विदेशी दाताहरुसँगको सम्झौताअनुसार सरकारले अनुदान तथा ऋण लिने गरेको छ। त्यसरी लिएको ऋण चुक्ता गर्ने समयसीमा समेत निर्धारण हुन्छ। धेरैजसो वैदेशिक सहयोग आयोजना तोकिएर आउँछन्। कतिपय सहयोग स्वतः बजेटरी व्यवस्थामा नै लागू गरिने गरी आउने गर्छन्।
विदेशी दाताहरुसँग मात्रै नभई सरकारले आन्तरिक ऋण समेत उठाउने गर्छ। नेपाल राष्ट्र बैंकमार्फत सहयोग उठाउने गरेको छ।
चालू आर्थिक वर्षमा सरकारले २ खर्ब २ अर्ब ऋण उठाएको छ। त्यसमध्ये विदेशबाट ५२ अर्ब ऋण लिएको छ।
यसअनुसार साउनमा १३ अर्ब ६ करोड रुपैयाँ आन्तरिक ऋण लिएको सरकारले २ अर्ब ७१ करोड रुपैयाँ वैदेशिक ऋण पाएको छ। भदौ महिनामा ३१ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण र ५ अर्ब ४२ करोड रुपैयाँ वैदेशिक ऋण पाएको छ।
असोज महिनामा ५३ अर्ब ५ करोड रुपैयाँ आन्तरिक ऋण र ७ अर्ब ५२ करोड वैदेशिक ऋण पाएको छ। कात्तिक महिनामा ३ अर्ब २ करोड रुपैयाँ वैदेशिक ऋण मात्रै पाएको छ। यो महिनामा आन्तरिक ऋण उठाएको छैन।
त्यस्तै मंसिर महिनामा १४ अर्ब आन्तरिक ऋण संकलन गरेको सरकारले १५ अर्ब ९३ करोड रुपैयाँ वैदेशिक ऋण उठाएको छ। पुसमा १७ अर्ब आन्तरिक र साढे १६ अर्ब वैदेशिक ऋण लिएको छ।
माघ महिनामा २२ अर्ब आन्तरिक ऋण र ९७ करोड रुपैयाँ बाह्य ऋण लिएको छ।
योसँगै अब नेपाल सरकारसँग कुल २३ खर्ब ८६ अर्ब रुपैयाँ ऋण तिर्नुपर्ने दायित्व छ। जसमा ११ खर्ब ८४ अर्ब रुपैयाँ आन्तरिक र १२ खर्ब २ अर्ब वैदेशिक ऋण छ।
हरेक वर्षको बजेटमा समेत सहायतालाई राम्रो स्रोतको रुपमा लिने गरिएको छ। चालू आर्थिक वर्षको आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये वैदेशिक सहायताबाट २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख व्यहोरिने अनुमान छ।
सोमध्ये अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाख र ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख परिचालन गरिने अनुमान छ। गत आर्थिक वर्षमा वैदेशिक सहायताबाट जम्मा २ खर्ब ९७ अर्ब ७१ करोड ९४ लाख परिचालन गरिने सुरु अनुमान रहेकोमा संशोधित अनुमान २ खर्ब ८ अर्ब ९९ करोड ७७ लाख रहेको थियो।
यो वर्ष पनि सरकारले बजेट लक्ष्य संशोधन गरिसकेको छ। अर्थ मन्त्रालयले मध्यावधि समीक्षामार्फत वैदेशिक अनुदानबाट ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने गरी लक्ष्य संशोधन गरेको छ।
Shares
प्रतिक्रिया