नेपालमा धान उत्पादनमा करिब नौ प्रतिशतले वृद्धि भएको छ। चालू आर्थिक वर्ष २०७५/०७६ को कृषि विभागले निकालेको नयाँ तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा चार लाख ५८ हजार मेट्रिक टन बढी धान उत्पादन हुँदा कुल उत्पादन ५६ लाख १० हजार मेट्रिक टन पुगेको हो।
धानबाली लगाइएको क्षेत्रफलमा समेत यो वर्ष वृद्धि भएको विभागले जनाएको छ। अघिल्लो वर्षको तुलनामा चालू आवमा एक दशमलव पाँच प्रतिशतले धानबाली लगाइएको क्षेत्रफल वृद्धि हुन गई १४ लाख ९१ हजार हेक्टर कायम भएको छ।
प्रविधि प्रयोग गरे १५ प्रतिशत बढ्ने
सामान्यतया उन्नत बीउबीजनको मात्र प्रयोगले १५ देखि २० प्रतिशत उत्पादकत्व वृद्धि गर्न सकिने र मल, सिँचाइ तथा धान खेती गर्ने उन्नत र आधुनिक तौरतरिकाको अवलम्बनबाट धानको उत्पादकत्वमा उल्लेख्य वृद्धि गर्न सकिने कृषि विभागको भनाइ छ। कृषि विभागका महानिर्देशक सूर्य प्रसाद पौडेलका अनुसार धानखेतीमा यन्त्रीकरणबाट उत्पादकत्व समेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिन्छ।
विभागका अनुसार नेपालमा समुद्री सतहबाट ६० मिटरदेखि ३ हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ। नेपालको मनाङ्ग र मुस्ताङ्गबाहेकका सबै जिल्लामा धानखेती हुँदै आएको छ। नेपालमा मौसमको आधारमा चैते धान, वर्षे धान, भदैया धान, घैया धान र हिउँदेधानको रुपमा धानखेती हुने गर्दछ। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४८ दशमलव ३ प्रतिशत जमिनमा धानखेती गरिन्छ। यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। धानको क्षेत्रफल र उत्पादन अन्य बालीको तुलनामा झण्डै दोब्बर रहेको छ। नेपालमा वार्षिक करिब साँढे १ खर्ब रुपैयाँबराबरको धान तथा यसका उपउत्पादनहरु प्राप्त हुने गर्दछन्। नेपालको कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान कृषि क्षेत्रको रहेको छ।
नेपालको उत्पादनले पुग्दैन
कृषि विभागका अनुसार आव २०७५/०७६ मा नेपालमा करिब ४० लाख मेट्रिकटन चामल आवश्यक पर्नेमा करिब ३४ लाख मेट्रिकटन आपूर्ति भई छ लाख मेट्रिकटन चामल अपुग हुने गरेको छ। मुलुकमा हाल हरेक वर्ष उत्पादन वृद्धि भए पनि आवश्यक चामलको आपूर्तिका लागि विदेशबाट हुने आयातमा निर्भर रहनुपर्दा वार्षिक २५ अर्बभन्दा बढी रुपैयाँ विदेशिन पुगेको छ।
नेपालमा उत्पादन हुने धानका जातहरु
उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्यपहाड र उच्च पहाडमा चैते सिजनका लागि सात र वर्षे सिजनका लागि एक सय १६ गरी जम्मा एक सय २३ वटा रहेका छन्। जसमध्ये करिब ३० प्रतिशत सुख्खाग्रस्त र १२ प्रतिशत डुबानग्रस्त जमिनलाई मध्यनजर राखी नेपाल कृषि अनुसन्धान परिषद्बाट सुख्खा र डुबान सहने धानका जातहरुको विकास भई कृषकमाझ लोकप्रिय रहेका छन्। साथै, स्वदेशमै हाइब्रिड धानका जात विकासका काम समेत द्रुतगतिमा भइरहेको विभागको भनाइ छ।
विश्वको साँढे ३ अर्ब जनसंख्याको आधारभूत खाद्यवस्तु धान
विभागकै अनुसार विश्वको साँढे ३ अर्ब जनसंख्याको आधारभूत खाद्य वस्तु धान नै हो। संसारमा करिब १६ करोड ७० लाख हेक्टरमा धानखेती भई ७६ करोड ९६ लाख मेट्रिकटन उत्पादन भएको पाइन्छ। यसको ९० प्रतिशत उत्पादन तथा खपत एसियाली मुलुकहरुमै हुन्छ।
उत्पादनको दृष्टिले विश्वमा सबैभन्दा बढी धान उत्पादन गर्ने देश चीन रहेको छ भने त्यसपछि क्रमशः भारत, इन्डोनेसिया, बंगलादेश, भियतनाम पर्दछन्। वैज्ञानिक तथ्यअनुसार ८ देखि १० हजार वर्षअगाडि मानवीय उपयोगका लागि पहिलो बालीको रुपमा धानलाई संरक्षण एवं खेती गर्न सुरु गरिएको मानिन्छ। यसको उत्पत्ति क्षेत्रमध्ये नेपाल पनि एक रहेको विभागको दाबी छ।
प्रतिक्रिया