ad ad

कारोबार


वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायो : जिफन्ट

वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हरायो : जिफन्ट

नेपालखबर
पुस १, २०८० आइतबार १५:२१, काठमाडौँ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ।

जिफन्टलेआइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिएको हो।

जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशतभन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ।

आर्थिक वर्ष २०७७/०७८ मा ४२.२४ प्रतिशत र २०७८/०७९ मा ४६.३२ प्रतिशत दक्ष श्रमिक विदेश गएकोमा २०७९/०८० मा ६६ प्रतिशत दक्ष श्रमिक विदेश गएको जिफन्टको दाबी छ।

त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा १ लाख ६६ हजार ६९८ जना विदेशिँदा ल्याएको ९ खर्ब ६१ अर्ब ५ करोड रेमिट्यान्सको अनुपातमा २०७९/०८० मा विदेशिने ७ लाख ७१ हजार ३२७ को आम्दानी ४४ खर्ब ४८ अर्ब वार्षिक रूपमा भित्रिनुपर्ने हिसाब जिफन्टले निकालेको छ।

अदक्ष श्रमिकको तुलनामा दक्ष श्रमिक विदेशिनेको संख्या १५ प्रतिशतले बढी हुन्छ भन्ने मान्दा पनि कम्तीमा ७ खर्ब रेमिट्यान्स थप भई कुल ५० खर्बभन्दा बढी हुने जिफन्टका महासचिव लक्ष्मण शर्माले बताए। 

उनले अहिले केवल १२ खर्ब मात्र रेमिट्यान्स आएको देखिएकाले वार्षिक ३८ खर्ब रेमिट्यान्स हराइरहेको र यसबारेमा अध्ययन आवश्यक रहेको पनि बताए।

‘श्रमिकहरू अझै पनि विदेशिने क्रम बढ्दो छ। त्यसभित्र दक्ष कामदारको संख्या बढ्दो छ। यो नयाँ प्रवृत्ति हो,’ उनले भने, ‘श्रमिकहरूको संख्या विदेसिने क्रम बढेको छ। सीप भएका श्रमिकहरू विदेसिएका छन्। जुन प्रतिशतमा विदेशमा श्रमिकहरूको संख्या बढ्दो छ, तर रेमिट्यान्स बढिरहेको छैन, कतै न कतै यहाँ मिसमास भइरहेको छ।’

जिफन्टले युद्धमा नेपालीहरू असुरक्षित ढंगले विदेशिँदाका जोखिमप्रति पनि सरकारको ध्यानाकर्षण गराएको छ। शर्मा भन्छन्, ‘असुरक्षित क्षेत्रमा श्रमिकहरू प्रवेश गर्दै गरेको, युद्धमा सहभागी भएकाजस्ता डरलाग्दा तथ्यांकहरू पनि छन्। असुरक्षित ढंगले श्रमिक विदेसिँदै जाँदा यदि युद्ध भयो भने नेपाली श्रमिक युद्धमा पनि सहभागी हुने हुन् कि भन्ने संकेत देखिन्छ।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .