ad ad

कारोबार


एनसेलले प्राधिकरणलाई दिएन सेयर बिक्रीको जवाफ

एनसेलले प्राधिकरणलाई दिएन सेयर बिक्रीको जवाफ

नेपालखबर
मंसिर १७, २०८० आइतबार १६:५९, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्रीसम्बन्धी जानकारी मागे पनि एनसेल आजियटाले आइतबारसम्म दिएको छैन। 

प्राधिकरणले शुक्रबार नै विज्ञप्तिमार्फत सेयर खरिदबिक्रीको जानकारी पाएको भन्दै स्पष्टीकरण मागेको थियो।  

मलेसियन कम्पनी आजियटाले अघिल्लो हप्ता नेपालबाट बाहिरिने निर्णय गरेको विज्ञप्तिबाट जानकारी दिएको थियो। शुक्रबार अर्को विज्ञप्ति जारी गर्दै बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडसँग रेनोल्ड्स होल्डिङ लिमिटेडको सम्झौता भएको जानकारी दिएको छ। 

रेनोल्ड्स आजियटा ग्रुपअन्तर्गतकै कम्पनी हो। नेपाल दूरसञ्चार प्राधिकरणले भने आफूहरुलाई पूर्वजानकारी नदिई ८० प्रतिशत सेयर बिक्री गरेको भन्दै स्पष्टीकरण सोधेको थियो। 

प्राधिकरणले दूरसञ्चार नियमावली २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पूँजीको ५ प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली २०७६को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो सेयरधनीको सेयर खरिदबिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले जानकारी गराउन निर्देशन दिएको थियो। 

‘एनसेलले अहिलेसम्म जवाफ दिएको छैन’, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘कति दिनभित्र जवाफ दिनुपर्छ भनी समय तोकेका छैनौँ। कम्पनीसँग संवाद भएको छ, भोलिसम्म स्पष्टीकरण पठाउला।’

कम्पनीले स्पष्टीकरणको आधारमा आगामी कदम चाल्ने अध्यक्ष खनालले बताए। 

आजियटाले ५ करोड डलरमा खरिदबिक्री सम्झौता भएको जनाएको छ। स्पेक्ट्रलाइट दुई महिनाअघि मात्रै खुलेको कम्पनी हो। 

२६ सेप्टेम्बर २०२३ मा खुलेको यो कम्पनीको कार्यालय लन्डनमा छ। सतिशलाल आचार्य कम्पनीका निर्देशक छन्। 

एनसेल आजियटाले ८० प्रतिशत सेयर खरिदबिक्री भएको जानकारी गराएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .