ad ad

कारोबार


पर्यटन बोर्डले आइतबार सीईओ पाउँदै

पर्यटन बोर्डले आइतबार सीईओ पाउँदै

सीबी अधिकारी
माघ ४, २०७६ शनिबार ८:१८,

मुलुकको पर्यटन क्षेत्रको निम्ति आकर्षक पद मानिएको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीव्र प्रतिस्पर्धा भइरहेको छ। लाभ र सेवा सुविधा मात्र हैन राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा विभिन्न अवसर पाइने भएकाले पनि बोर्डको सीईओको छुट्टै आकर्षण छ।

आर्थिक हिसाबले पनि बैंकपछि सबैभन्दा आकर्षक बोर्डको सीईओ मानिन्छ। बोर्ड सार्वजनिक निजी साझेदारीको नमूना संस्था हो। सरकारी पाँच र निजी क्षेत्रका छ गरी ११ जना बोर्ड सञ्चालक समिति सदस्य रहने व्यवस्था छ। सीईओको प्रतिस्पर्धाको दौडमा अहिले नौ उम्मेदवार सम्पूर्ण शक्ति र सामर्थ्यका साथ लागि परेका छन्। प्रतिस्पर्धीमध्ये कसले बाजी मार्ने हो त्यो चाहिँ आइतबार टुंगो लाग्नेछ।

बोर्डको सीईओ छनोट समितिले प्रतिस्पर्धीको प्रस्तुतिकरण र अन्तर्वातापछि नम्बर दिइसकेको छ। प्रतियोगिको नम्बर सिलिङ् भइसकेको र आइतबार बोर्डका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालका सचिव केदारबहादुर अधिकारीसँग छनोट समितिको बैठकबसी बोर्डको सीईओका लागि तीन सदस्यीय प्रतिस्पर्धीलाई सिफारिस गर्नेछ। समितिको सिफारिसपछि बोर्ड सञ्चालक समिति आइतबार साँझसम्म तीन जनामध्ये एक अब्बल उम्मेदवारलाई बोर्डको सीईओ नियुक्त गरिनेछ। बोर्डको सीईओको कार्यकाल चार वर्षको हुनेछ।

बलिया प्रतिस्पर्धीबीच उपयुक्त उम्मेदवार छान्न कत्तिको कठिन हुँदोरहेछ भनी पत्रकारले साेधेकाे प्रश्नमा  छनोट समितिका सदस्य पौडेलले प्रतिस्पर्धी सबै सक्षम र सवल भए पनि प्रक्रियागत ढंगले सीईओ छनोट गर्नुपर्ने भएकाले कुनै कठिनाई नभएको अनुभव सुनाए। बोर्डको सीईओको प्रतिस्पर्धाका लागि निवेदन दिएका १७ प्रतियोगीमध्ये उनीहरुको शैक्षिक प्रमाणपत्र र अनुभवका आधारमा ‘सर्टलिष्ट’ गरिएको थियो।

सर्टलिष्टमा परेका नौ जनालाई विज्ञसहितको सहभागितामा समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिएको थियो। समितिका दुई विज्ञका रूपमा पूर्व पर्यटनसचिव कृष्णप्रसाद देवकोटा र पर्यटन व्यवसायी सागर पाण्डे रहेका थिए। बजारमा हल्ला आएजस्तो सीईओ छनोटमा कुनै पनि किसिमको दबाब र प्रभाव नआएको सदस्य पौडेलले बताए। उनले भने, “बोर्डको सिइओ छनोट प्रक्रियागत ढंगले अघि बढेको हो, यसमा कुनै दबाब आएको छैन, कुनै प्रभाव पनि परेको छैन, निष्पक्ष र स्वतन्त्ररूपमा उत्कृष्ट व्यक्ति छनोट गर्छौै।”

सीईओ छनोटका लागि सिफारिस गर्न पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, बोर्डका सञ्चालक समिति सदस्य पौडेल र कृष्णबहादुर महरा सम्मितलित उपसिमित बनाइएको थियो। प्रारम्भिक छनोटमा परेका नौ प्रतिस्पर्धीको प्रस्तुतिकरणपछि उनीहरुमध्येबाट उपसमितिले तीन जनाको नाम बोर्डलाई सिफारिस गर्ने बोर्डका पूर्व सचिवायल सदस्य केबी रानाले बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अध्यक्ष रहेको बोर्ड सञ्चालक समितिले सीईओ नियुक्त गर्ने व्यवस्था छ। समितिले बनाएको सीईओ छनोट कार्यविधि मातहत रही सीईओका लागि आवेदन माग गरेको थियो। गत मंसिर १८ गते प्रकाशित विज्ञापनपछि १७ जनाले आवेदन दिएका थिए।

त्यसमध्येबाट उपसमितिले काशिराज भण्डारी, दीपक बस्ताकोटी, दीपकराज जोशी, धनञ्जय रेग्मी, नवीन पोखरेल, बच्चुनारायण श्रेष्ठ, रोहिनीप्रसाद खनाल, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐरको नाम छनोट गरेको थियो। प्रतिस्पर्धी उम्मेदवारमध्ये निवर्तमान सीईओ जोशी र हाल भ्रमणवर्ष सचिवालयमा सदस्य सचिव रहेका बच्छुनारायण श्रेष्ठको नाम अग्रपङ्तिमा छ। जोशी कूशल अनुभव भएका व्यक्ति हुन् भने श्रेष्ठ पनि सबै हिसाबले अब्बल उम्मेदवार हुन।

राष्ट्रिय शक्ति सन्तुलनका हिसाबले बच्छुको बलियो सम्भावना छ। तर, बोर्डको अघिल्लो कार्यकालमा पनि सीईओ भइसकेका र विषयवस्तुलाई सरल तथा सहज ढंगले प्रस्तुत गर्ने कुसल खुबी भएका जोशी पनि रोजाइएका उम्मेदवार हुन। यद्यपि, दुईमध्ये कसले बाजी मार्ने हो त्यसका लागि कम्तीमा दुई दिन कुर्नैैपर्छ। बोर्डको सीईओका प्रतिस्पर्धी जोशीले व्यावसायिक तथा स्वतन्त्र व्यक्तिको रोजाइमा आफू रहेको र एक पटक बोर्ड नेतृत्वका लागि अहिलेका समयसान्दर्भिक आवश्यकता भएकाले पनि केही सम्भावना रहेको बताए।

अर्का प्रतिस्पर्धी श्रेष्ठले सीईओ छनोट प्रक्रियामा आफू परीक्षार्थीका रुपमा सबै प्रक्रिया पूरा गरेको व्यक्ति भएकाले अहिले केही प्रतिक्रिया नदिने बताए। माघको पहिलो साताभित्रै सीईओको टु‌ंगाे लाग्ने बोर्डका निमित्त सीईओ नन्दिनी लाहे थापाले बताए। बोर्डको सीईओको आकर्षणसँगै चुनौती पनि उत्तिकै छ। नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनु मुख्य जिम्मेवारी हुनेछ भने पर्यटन क्षेत्रका चार दर्जनबढी संस्थालाई रिझाउनु र निजी क्षेत्रको साझेदारितालाई व्यावसायिक र प्रभावकारी बनाउनु पनि गहन जिम्मेवारी हुनेछ। राष्ट्रिय र अन्तरराष्ट्रिय पर्यटन प्रवद्र्धनका गतिविधिसँगै देशभित्र नयाँ गन्तव्य पहिचान तथा प्रवद्र्धन र अन्तरराष्ट्रिय पर्यटन बजारको खोजी गर्नुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .