साताको तेस्रो कारोबार दिन आज सेयरबजार ओरालो लागेको छ। सुरुवाती दुई दिन बढेको सेयरबजार परिसूचक नेप्से मंगलबार ७.४८ अंकले घटेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि २ अंकले झरेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १२६३.३८ विन्दुमा रोकिएर कारोबार बन्द भएको छ। कुल १ सय ८३ कम्पनीको कारोबार भएको दिन ३७ लाख ६६ हजार ९ सय ८२ कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ११ हजार ३ सय १० पटकको खरिदबिक्रीपछि सेयरबजारमा आज १ अर्ब २ करोडको कारोबार भएको नेप्सेले जनाएको छ। आज १२ समूहको कारोबार भएकामा ऊर्जा, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचुअल फन्डको सूचक घटेको छ भने बाँकी समूहको सूचक बढेको छ।
आज प्रभु बैंक प्रोमोटर सेयरको ११ करोडको सेयर खरिद बिक्री भएको छ। त्यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ७ करोड २२ लाखको, एनआईसी एसिया बैंकको २ करोड ८६ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ८१ लाखको, हिमालयन डिस्टिलरीको २ करोड ४९ लाखको उच्च कारोबार भएको छ।
कमाइका दृष्टिले आज दुई कम्पनीले सर्किट ब्रेक गरेका छन्। रैराङ, हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेनको सेयर मूल्य १० प्रतिशतले बढेपछि क्रमशः कम्पनीका लगानीकर्ताले १० र २ सय ११ रुपैयाँ कमाएका छन्। यसबाहेक मञ्जुश्री फाइनान्सको सेयर मूल्य पनि ९.०३ प्रतिशतले बढेको छ। कम्पनीका लगानीकर्ताले १४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै, नेपाल फाइनान्सको ७.२६ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको ६.७४ प्रतिशतले सेयर मूल्य बढेको छ।
गुमाउने कम्पनीमा आज दिव्येश्वरी हाइड्रोपावर अगाडि छ। कम्पनीको सेयर मूल्य ८.६२ प्रतिशतले घट्दा लगानीकर्ताले ५ रुपैयाँ प्रतिकित्ता गुमाएका छन्। यसबाहेक वरुण हाइड्रोपावर कम्पनी (६.३२ प्रतिशत), सप्तकोशी डेभलपमेन्ट बैंक (६.१२ प्रतिशत), युनाइटेड मोदी हाइड्रोपावर (५.३६ प्रतिशत)ले पनि गुमाएका छन्।
प्रतिक्रिया