ad ad

कारोबार


डिशहोमले अब इन्टरनेट सेवामा हात हाल्दै छ : सुदीप आचार्य (अन्तर्वार्ता)

डिशहोमले अब इन्टरनेट सेवामा हात हाल्दै छ : सुदीप आचार्य (अन्तर्वार्ता)

दीपक भट्ट
पुस १७, २०७६ बिहिबार १२:१४,

डिजिटाइजेसनको वकालत गर्ने डिशहोम टिभी अहिले बजारमा ग्राहकमाझ लोकप्रिय बन्दै गएको छ। केबल टिभी सबैको पहुँचमा नपुगेको तथा एनालगमार्फत सेवा वितरण भइरहेको अवस्थामा राजस्व समेत खुम्चिएको थियो। अर्कोतिर ग्राहकले पनि चाहनाअनुसारको सेवा पाउनसकेका थिएनन्। तर डिशहोमले नेपालको टिभी सेवालाई नै फरक धारमा पुर्‍याएको छ। त्यस्तो परिवर्तन कसरी सम्भव भयो त? यससम्बन्धमा डिशहोमका प्रबन्धनिर्देशक सुदीप आचार्यसँग गरिएको वार्ताः

sudip acharya dish 2

नेपालमा डिशहोमको सेवा कसरी सुरु भएको थियो?
डिश नेपाल र होम टिभी नामका दुईवटा कम्पनी तथा दुईवटा ब्राण्डले सन् २००९ मा लाइसेन्स पाएका थिए। दुईवटाले लाइसेन्स पाएपछि स्पेस पनि पाए। दुवैले आआफ्नो तरिकाले काम सुरु गरे। त्यसपछि सन् २०१० मा ६ वटा अन्य कम्पनीले पनि लाइसेन्स पाए। त्यतिबेला लाइसेन्सको लागि नै २ करोड रुपैयाँ लाग्थ्यो। तर सबैले लाइसेन्स पाए पनि स्याटेलाइटको स्पेस पाउन सकेनन्। उनीहरुले बाध्य भएर त्यो लाइसेन्स नै छाड्नुपर्यो।

भनेपछि आवश्यक अध्ययन वा भनौँ पूर्वतयारीविनै काम थालिएको रहेछ।
हामीले सहज रुपले गर्न सकिने बिजनेसको रुपमा यसलाई लियौं। गर्नुपर्ने होमवर्क कम भएर यसको बिजनेस सुरु भएको हो। रुरल एरिया (ग्रामीण क्षेत्र) मा टिभीको एक्सेस नै नभए पनि मागचाहिँ सबैतिर थियो। तर त्यसमा कसरी बिजनेस गर्ने, कसरी मार्केटिङदेखि टेक्निकल कामहरु पूरा गर्ने भन्ने अध्ययनचाहिँ नभएकै हो।

सुरुवाती चरणमा यो कम्पनीको लिडिङ भूमिकामा म थिइनँ। लगानीकर्ता थिएँ। अमेरिकामा बस्थेँ। त्यहाँ पनि डिश टिभी राख्ने चलन थियो। अमेरिकामा यसले प्रख्याति कमाएको पनि थियो। तर अपार्टमेन्टहरुमा सजिलै राख्न पाइँदैनथ्यो। त्यसको लागि निश्चित प्राविधिक कुराहरु अनिवार्य थिए। नेपालमा पनि यो काम सजिलै गर्न सकिन्छ भन्ने कुरा आयो। हामी पनि सहमत भयौँ। त्योचाहिँ गल्ती भयो वा हामीले त्यसलाई हलुकासँग लिन नहुने थियो। तर धेरै नै सकारात्मक मोडमा रह्यौं। स्याटेलाइट स्पेस पायौँ। फेरि पनि त्यसको कति पैसा पर्छ, त्यसमा हामीले सोचेनौँ। सोही कारण सोचेअनुसार काम गर्न सकेनौँ।

दुई कम्पनी भएर कति समय काम गर्नुभयो?
हामीले होम टिभी अगस्टदेखि र अर्को डिश टिभी सेप्टेम्बरदेखि सुरु गरेका थियौँ। सुरुमा नसोचेको लागत आउन थाल्यो। अगस्टदेखि सुरु भएको कम्पनीमा म आबद्ध थिएँ। दशैँअघि सुरु गरेकोेले दशैँसम्ममै ५०/६० हजार ग्राहक बनाउने लक्ष्य लिएका थियौँ। त्यसले हामीलाई दिगो नहुने जस्तो भयो। पहिलो महिना कमर्सियल अप्रेसनमै लागत ह्वात्तै बढ्यो। तर ‘इनकम जेनेरट’ हुन त समय लाग्ने भयो। किनकि ग्राहकसँग पैसा लिने सिस्टम नै बनेको थिएन। ग्राहकसँग पैसा लिन नसक्नु त छँदै थियो, स्याटेलाइटलाई, कन्टेन्टलाई समेत पैसा दिनुपर्ने भयो। नगद प्रवाहमा गाह्रो पर्यो। एक महिना त लगानीकर्ताबाट जसोतसो धानियो तर फेरि अर्को महिना कसरी गयो, त्यो पनि थाहा भएन। दोस्रो महिनामा ५÷७ हजार ग्राहक त बने, पैसा आउने च्यानल नै बनेको थिएन। त्यसकारणले धेरै गाह्रो भएको थियो।

यो त कम्पनीलाई परेको अप्ठ्यारो भयो, ग्राहकमाझ जाँदा कस्तो अनुभव भयो?
डिशहोम टिभीमा ग्राहकको रुचि नभएको चाहिँ होइन, सबैको रुचि देखिएकै थियो। तर समस्या के भयो भने सुरुमा हामी धेरै महँगो भयौँ। सोचेअनुसार व्यवसाय अघि बढेन। बरु एउटा इक्विपमेन्ट बिक्री गर्नुपर्ने थियो। ६÷७ हजार पैसा लगाएर इन्स्टल गर्नुपर्ने त्यसपछि पनि मासिक रुपैयाँ पनि तिर्नुपर्ने थियो। त्यसका साथै रिचार्ज गर्नुपर्ने त्यो सिस्टम सिक्न पनि सबैलाई सहज भएन।

ग्राहकसँग जान हामीलाई केही समय लाग्ने रहेछ। एक वर्षसम्म योजनाबद्ध रुपले गर्न सकेनौँ। त्यसपछि दुईवटा कम्पनी टिक्न सक्दैन भन्ने भयो। त्यो बेलाका बोर्ड मेम्बरहरुले राम्रो निर्णय गरेजस्तो अहिले महसुस हुन्छ। सन् २०११ को फेब्रुअरीमा हामी एक (मर्ज) भयौँ। त्यतिबेला व्यवसाय कसरी अघि बढाउने भन्ने पनि हामीले सिकिसकेका थियौँ। मर्ज भएपछि थप लगानी पनि भयो। अनि अलिकति आडभरोसा भयो।

sudip acharya dish 3

मर्जपछि नयाँ कामचाहिँ के भयो?
हामीले मर्ज भएपछि ताइवान हङकङ भन्ने एउटा कम्पनीसँग सहकार्य गर्यौँ। त्यो कम्पनीले नै यसलाई चाहिने इक्विपमेन्ट निर्माण गर्छ। त्यसपछि चाहेजसरी काम गर्न पाइयो। उनीहरुको विज्ञता पनि लिने गरी सहकार्य भएको थियो। प्राविधिक रुपमा राम्रो भएपछि हाम्रो ध्यान ग्राहक बढाउनेमै केन्द्रित भयो।

केवल नेटवर्क पुगेको स्थानमा जान सहज भयो कि नपुगेको स्थानमा जान सहज भयो?
त्यो अलि चाखलाग्दो कुरा छ। गाउँमा जाँदा ग्राहक पाउन थाल्यौँ नै, सहरमा पनि केबलहरुको सर्भिस राम्रो थिएन। त्यसकारण हामीलाई विकल्पको रुपमा हेर्न थालियो। फेरि क्वालिटी पनि हाम्रो धेरै राम्रो थियो। सर्भिसचाहिँ सोचेअनुसार थिएन। तत्काल समस्या समाधान गर्ने सर्भिस दिन सक्नेखालको थिएन। कल सेन्टर पनि राम्रो थिएन। मैले भन्न खोजेको हामी प्राविधिक रुपमा कहीँ न कहीँ कमजोर थियौं।

कम्पनीको नेतृत्वदायी भूमिकामा कहिले जोडिनुभयो?
सन् २०१५ मा म प्रमुख कार्यकारी अधिकृतको नयाँ जिम्मेवारीमा नियुक्त भएँ। यसअघि लगानीकर्ताको रुपमा तथा कम्पनीको बजार व्यवस्थापकको भूमिकामा रहेको थिएँ।

नयाँ जिम्मेवारी कसरी सुरु भयो?
नयाँ जिम्मेवारी सम्हालेको १२ दिनमै भूकम्पले अर्को विपत्ति ल्यायो। त्यो समयमा हामीले स्याटेलाइट माइग्रेसन गरेका थियौं। इन्टेक स्याटको ९०६ स्याटेलाइटबाट हामी ‘आमोस फोर’मा गएका थियौं। जसले गर्दा हाम्रा सबै प्राविधिकहरु ग्राहकको घर–घरमा पुग्नैपर्ने हुन्थ्यो। त्यसले हामीलाई फेरि एकपटक ग्राहकसँग जोडिने अवसर मिल्यो भने भूकम्प गएको बेला १७ घण्टामै सबै सेवालाई पुनः सञ्चालनमा ल्याउन सफल पनि भयौँ। यसबाट जनविश्वास बढ्यो।

सँगसँगै कम्पनीले बिलिङ सफ्टवेयरलाई पनि अपग्रेड गरिरहेको थियो। ग्राहकले रिचार्ज गरेको आधा÷एक घण्टामा पनि टिभी नचल्ने समस्याको समाधान बिलिङ सिस्टममा भएको अपग्रेडले केही सेकेन्डमै चल्ने बनाइयो। असहज अवस्थाबाट यसरी कम्पनी विस्तारै बाहिर आउन थाल्यो। यसले नयाँ अवसरहरु पनि देखाउन थाल्यो। त्यसका लागि अब नयाँ प्रविधि र योजनाको आवश्यक थियो। हामीले कल सेन्टरमा पनि ठूलो लगानी गर्यौँ। अहिले हामीसँग उत्कृष्ट कल सेन्टर छ। अन्य किसिमका कम्पनीहरु पनि हाम्रो यो सेन्टर कसरी चलिरहेको छ भनेर हेर्न र बुझ्न आउने गर्छन्।

सरकारले अहिले टिभी सेवालाई डिजिटाइजेसनमा लगेको छ, यसबाट तपाईंहरुलाई पनि फाइदै भयो होला नि?
टेलिभिजन प्रसारणको वितरणलाई डिजिटलमा रुपान्तरण गर्ने नीति सरकारले लिएको छ। तर त्यसको सुरुवात डिशहोमले गरिसकेको थियो। अन्तर्राष्ट्रिय दूरसञ्चार युनियन आईटीयूले पनि डिजिटलमा जानैपर्ने निर्देशन दिइसकेको थियो। एनालग केबल प्रसारणलाई डिजिटलमा रुपान्तरण गर्दाको फाइदा र त्यसबाट सरकारको राजस्वमा पर्ने फरक विषय डिशहोमको अनुभवले दिलाइसकेको थियो। त्यसबाट पनि सरकार एक हिसाबले जानकार थियो।

त्यस विषयमा हामीले पनि भनिरहेका थियौँ। यसमा एउटा राम्रो कुरा के हो भने भारतमा डिजिटलमा ल्याउन अलि गाह्रो परेको थियो। तर नेपालमा सहज रुपले भएको छ। कम्पनीहरु आफैं त्यसको अभियानमा लगेका हुन्। सरकारले रेगुलेसन गर्न सक्ने कम्पनीहरुले पनि ग्राहक नपाउने स्थितिपछि नयाँ सिस्टम आएको छ। त्यो समयमा हामीले क्याम्पेन नै गरेका थियौँ। हामीले राजस्व पनि तिरेका छौं। सरकारलाई डिजिटलमा गएदेखि यति फाइदा हुन्छ पनि भनिरहेकै छौं।

sudip acharya dish 4

एनालगबाट डिजिटाइज हुँदा के फाइदा हुन्छ?
एनालगमा बस्दा एउटा प्याकेजको मात्रै कुराहरु हुन्थ्यो। त्यसलाई कसरी फरक गर्ने भनेर सोच्यौँ। अहिले पनि हामी फरक प्याकेज ल्याउनेबारे लागिरहेका छौं। हामीले नेपाली चलचित्र मात्रै दिने गरी ‘प्लस मुभी’ भन्ने छुट्टै च्यानल सुरु गर्यौं। ग्राहकले पैसा तिरेर नेपाली चलचित्र हेर्न पाउने विकल्प तयार भएको छ। त्योसँगै हामीले ‘पेपर भ्यु’पनि सुरु गर्यौँ। यसबाट हलमा चलेका नेपाली चलचित्र पैसा तिरेर ग्राहकले टिभीमै हेर्न पाउँछन्। सिनेमा हल नभएका स्थानका दर्शकका लागि यो चलचित्र हेर्ने एउटा गतिलो विकल्पको रुपमा स्थापित हुँदै गएको छ। अर्कोतर्फ नेपाली चलचित्र उद्योगमा पनि यसले सहयोग पुगेको छ।

कम्पनीले अहिले के गरिरहेको छ?
पुस १८ देखि नयाँ च्यानल पनि सुरु गर्न लागेका छौं। रमाइलो टिभीदेखि अन्य च्यानल पनि बनाइरहेका छौं। हामी कन्टेन्टमा लगानी गरिरहेका छौं। नेवारी टिभी पनि चलिरहेको छ। ग्राहकहरुले के चाहन्छन्। केमा रुचि देखाइरहेका छन्। उनीहरुको चाहनाअनुसार कन्टेन्टमा फोकस गरिरहेका छौं। अहिले तोकिएको समयमा मात्रै टिभी हेर्न मिल्ने अवस्था छ। विस्तारै ग्राहकले चाहेको समयमा हेर्न मिल्ने सेवा सुरु गर्ने तयारीमा कम्पनी जुटेको छ।

डिशहोमको सेट टप बक्समा दुई वटा यूएसबी पेनड्राइभ राख्न मिल्ने बनाइएको छ। त्यसमा पेनड्राइभ राखेर फिल्म रेकर्ड गरेर आफूले चाहेको समयमा हेर्न सकिन्छ। तर यसरी रेकर्ड गरिएको चलचित्र त्यही सेट टप बक्समा मात्रै हेर्न मिल्ने प्रविधि अपनाइएको छ। यदि तपाईं कुनै खेल हेर्दै हुनुहुन्छ र बीचैमा तपाईं कुनै जरुरी काममा अल्झिनुपर्यो भने पेनड्राइभ राखेर ‘पज’ गरेर राख्न सकिन्छ । यूएसबीकै लागि कम्पनीले अर्को योजना पनि बनाएको छ। त्यो के भने, हरेक हप्ता अथवा हरेक १५ दिनमा यूएसबीमा फिल्म डाउनलोड हुन्छ। यदि तपाईंले पैसा तिर्नुभएको छ भने खुल्छ नत्र खुल्नेछैन। यसका साथै हामीले अर्को ‘डिशहोम गो’ भन्ने मोबाइल एप ल्याएका छौं। त्यहाँ हाल कम्पनीका ग्राहकले २० वटा च्यानल निःशुल्क रुपमा हेर्न सक्छन्।

तपाईंहरु नयाँ प्रविधिका साथ लगानी गर्दै अघि बढ्नुभएको छ तर पछिल्लो समय टिभीप्रतिको लोकप्रियता कमजोर भइरहेका कुरा पनि आइरहेका छन् नि?
टिभी हराउनचाहिँ हराउँदैन तर अहिले मोबाइलको पहुँच भने बढेको छ। हातबाटै चलाउन सकिने भएकोले हेर्न सकिने भएको छ। तर पनि इभेन्टहरु, फिल्महरु, विशेष गरी खेलहरुचाहिँ एक्लै हेर्न मजा आउँदैन। हलमा नै जाने हो भने पनि साथीभाइसँग जाने हो।

मैलेचाहिँ कसरी हेरेको छु भने टेलिभिजन उद्योगलाई धक्का पर्नेभन्दा पनि नम्बर अफ आवरचाहिँ घट्ला तर हराउने अवस्था आउँदैन। यसले ट्रयाक छोड्दैन। दूरदराजका मान्छेले अहिले पनि मिडिया भनेको टेलिभिजन नै हो भनेर विश्वास गर्छन। केही रेडियोले लिएको छ तर त्यसको पनि दायरा होला। टेलिभिजन भनेको सबैतिर जान सक्छ।

sudip acharya dish 5

सरकारले क्लिनफिड नीति लागू गर्न ऐन बनाएको छ, बजारमा यसको प्रभाव कस्तो हुन्छ?
सरकारले बनाएको ऐन कानुनलाई फलो गर्नु जोसुकैकै पनि दायित्व हो। तर्क गर्ने फरक कुरा हो। तर मान्नुपर्छ। मेरो तर्कचाहिँ अलिकति सोचेर गरौँ भन्ने थियो। नेपालको परिवेशलाई अलिकति अध्ययन गरेको भए हुन्थ्यो कि! हामीले ल्याएको ऐनमा नै अलि अनडिफाइन्ड (नखुलेका) कुराहरु पनि छन्। पहिलो कुरा त पूरै क्लिन फिड आउने हो कि यहाँ आएर क्लिन हुने हो त्यो कुरा स्पष्ट छैन। भोलि कसरी व्याख्या हुने हो? मैले समेत व्यावहारिक पक्ष के हो त्यो बुझेको छैन। सरकारको अहिलेको तर्क के छ भने भारतबाट जुन च्यानलहरु आएका छन्, ती सबै विज्ञापनरहित आउनुपर्छ भन्ने छ।

तर विश्वमा नै त्यस्तो प्रावधान छैन। विश्वमा स्वदेशी विज्ञापन हुनुपर्छ तर विदेशी च्यानलमा विज्ञापन नै हुनुहुँदैन भन्नेचाहिँ कतै छैन। गत वर्षको विदेशी च्यानल विज्ञापनरहित नै आउने हो भने विश्वकप फुटबलमा कसैको प्रायोजन होला, त्यसले बीचमा विज्ञापन देखाउला। त्यसलाई कसरी क्लिन गर्ने यस्ता जटिल विषयहरु पछि आउनेछ। हामीले यो ऐन बन्ने क्रममा दफाबार छलफल हुँदा हामीसँग पनि छलफल होस् भन्नेचाहेका थियौं। तर व्यवसायीहरुले आफ्नो फेवरको कुरा राख्लान् भन्ने धारणा आयो। तर अहिलेको नीतिगत व्यवस्थापछि केही कठिनाइहरु आउनेछन्। ती कुराहरु अहिले हेरिएको छैन।

ती कठिनाइहरु कसरी सामना गर्नुहुन्छ?
हामी सरकारले लिएको नीतिहरु आत्मसात् गरेर अघि बढिरहेका छौं। करदेखि ग्राहकको सुविधाहरुलाई ध्यानमा राखेर काम गरिरहेका छौं। हामी देशको कुना–कुनामा पुगेका छौं। सबै ठाउँमा पुग्छौं। त्यसका लागि नवीनतम प्रविधि आत्मसात् गर्छौँ। अब इन्टरनेटमा पनि अघि बढ्न खोजिरहेका छौं। सहरमा फाइबरबाट र टेलिकमले पनि इन्टरनेट सुविधा प्रदान गर्न नसकेको स्थानमा हामी नयाँ रुपले इन्टरनेट सेवा प्रदान गर्ने योजनाका साथ अघि बढिरहेका छौं। टिभीकै कुरा गर्ने हो भने पनि अहिले हामीसँग करिब ३५ प्रतिशत ग्राहक रहेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .