अर्घाखाँची सिमेन्ट उद्योगले केही समयअघि मात्रै पीपीसी सिमेन्ट उत्पादन सुरु गरेको छ। क्लिंकर उत्पादनबाट सुरु भएको यो कम्पनी ओपीसी हुँदै पीपीसीसम्म आइपुगेको हो। अहिले नेपालमा सिमेन्ट आत्मनिर्भर रहेको तथ्याङ्कले समेत देखाइसकेको छ।
सिमेन्टमा आत्मनिर्भर रहे पनि सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिंकर भने अहिले पनि आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ। तर अर्घाखाँची सिमेन्ट उद्योगचाहिँ आफ्नै क्लिंकर उत्पादन गरी गुणस्तरीयतामा ध्यान दिने बताउँदै आएको छ। उत्पादनको मात्र बढेसँगै गुणस्तरको बहस सुरु भइरहेको अवस्थामा अर्घाखाँची सिमेन्ट उद्योगका प्रोजेक्ट सेल्स हेड इ.अभिनय जयसवालसँग नेपालखबरले गरेको कुराकानी :
अर्घाखाँची सिमेन्टकाे स्थापना कहिले र कसरी भयाे?
अर्घाखाँची सिमेन्ट ठूला उद्योगपतिहरुको लगानी भएको उद्योग हो। रुपन्देहीमा रहेको यो उद्योग मुरारका अर्गनाइजेसन, सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र उमा इन्टरनेशनल सिमेन्टले मिलेर सुरु गरेका हुन्। उक्त कम्पनीहरु पहिलेदेखि नै नेपालमा सिमेन्ट उत्पादन गरिरहेका थिए। नेपालमा क्लिंकर आयात गर्नुपर्ने अवस्थाका कारण ठूला व्यावसायिक घरानाहरु मिलेर यहाँ नै क्लिंकर उत्पादन सुरु गरेका हाैँ। १० वर्ष अघिदेखि यो उद्योगले क्लिंकर मात्रै उत्पादन सुरु गरेको हो।
यसले नेपालको सिमेन्ट उत्पादन गर्ने कम्पनीहरुलाई क्लिंकर आपूर्ति गरिरहेको थियो। आफ्नै उद्योग ग्रुपको सिमेन्ट कम्पनीदेखि त्योभन्दा बाहेकलाई पनि क्लिंकर दिने काम सुरु गर्न थाल्यो। विस्तारै नेपालमा मेगा प्रोजेक्टहरु आउनथाले। त्यहीअनुसार ओपीसी सिमेन्टको उत्पादन समेत सुरु हुनथाल्यो। त्यसपछि अर्घाखाँची सिमेन्टले २०७१ सालतिर ओपीसी सिमेन्ट उत्पादन सुरु गर्न थालेको हो। त्यसपछि अर्घाखाँची सिमेन्टले बजार हेरेर यो वर्षदेखि पीपीसी सिमेन्टको उत्पादन सुरु गर्न थालेको छ।
कसरी उत्पादन हुन्छ ओपीसी र पीपीसी सिमेन्ट ?
ओपीसी भनेको अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट हो। यो भनेको ‘प्योर’ सिमेन्ट हो। यसको प्रयोग ढलान गर्ने गिट्टीको प्रयोग गरेर आरसीसी गरिन्छ। पीपीसी भनेको चाहिँ पोर्टल्याण्ड पोज्जोलाना सिमेन्ट हो। बालुवासँगै मिसाएर यसको प्रयोग गरिन्छ। क्लिंकर भनेको चाहिँ सिमेन्टको मुख्य कच्चा पदार्थ हो।
त्यसकारण क्लिंकर गुणस्तरीय हुन धेरै जरुरी हुन्छ। पनिर तथा दही बनाउँदा मुख्य कुरा दूध भनेझैँ सिमेन्टको बेस (मुख्य आधार) नै क्लिंकर हो। क्लिंकर राम्रो भयो भने मात्रै सिमेन्ट राम्रो बन्छ। यदि ९५ प्रतिशतभन्दा माथि क्लिंकर मिसावट हुन्छ भने ३ देखि ५ प्रतिशत जिप्सन मिसावट गरिन्छ। यसरी बन्ने सिमेन्टलाई ओपीसी भनिन्छ। तर पीपीसी चाहिँ ७० प्रतिशत क्लिंकर र पाँच प्रतिशत जिप्सम तथा बाँकीको २५ प्रतिशत फ्लाई एस मिसावट हुन्छ। योचाहिँ अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मिसावट हुने हो।
अर्घाखाँची सिमेन्टको क्षमता र उत्पादन कति छ?
यस कम्पनीले दैनिक तीन हजार टन क्लिंकर र ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ।
एउटै फ्याक्ट्रीबाट दुई प्रकारको सिमेन्ट उत्पादन गरिरहनुभएको छ, यसले गुणस्तरमा असर गर्दैन ?
क्लिंकर र जिप्सन मिसावट हुने सबै काम डिजिटल प्रणालीबाट हेर्न सकिने व्यवस्था छ। एउटै फ्याक्ट्री भए पनि उत्पादन हुने लाइनचाहिँ फरक–फरक छ। एउटै लाइनबाट हुने हो भने मिसावटमा केही समस्या हुनसक्थ्यो तर अर्घाखाँचीको उद्योगमा त्यो समस्या छैन। हाम्रो लाइन अलग–अलग भएकोले कुनै पनि समस्या रहँदैन।
तर तपाईंहरु आफ्नै क्लिंकरबाट सिमेन्ट उत्पादन गर्नुहुन्छ, अरुले आयात गरेर पनि सिमेन्ट उत्पादन गरिरहेका छन्, गुणस्तर मिल्छ त?
क्लिंकर आफैँ उत्पादन गर्ने उद्योगहरु नेपालमा नभएका होइनन्। अर्को भनेको भारतबाट क्लिंकर आयात गरेर सिमेन्ट उत्पादन गर्ने कम्पनीहरु पनि छन्। आयात गर्दा कुनै समय राम्रो पनि आउन सक्ने भयो। कुनै समय नराम्रो पनि आयात हुनसक्ने भयो। उताबाट क्लिंकर आयात गरी उत्पादन हुने अन्य सिमेन्टमा क्लिंकरको गुणस्तरअनुसार सिमेन्टको गुणस्तर हुन्छ।
अर्को कुरा आफ्नै फ्याक्ट्रीमा उत्पादन गर्दा ताजा क्लिंकर प्रयोग गर्न सक्ने भए पनि आयात गर्दा भने कुनै समय चिसो पसेको पनि हुनसक्छ वा कुनै कारणले गुणस्तरमा ह्रास आएको पनि हुनसक्छ। अर्घाखाँचीले क्लिंकरको पनि गुणस्तरलाई आवश्यक जाँच गरेर उत्पादन प्रक्रियामा पठाउने हुँदा सिमेन्टको गुणस्तर उच्च तथा एकैनासको रहन्छ।
नेपालमा कुनै परियोजना भत्किए, बिग्रिएमा त्यसको दोष सिमेन्ट कम्पनीमाथि लगाइने गरिएको छ, यसलाई कसरी लिनुहुन्छ ?
यो जायज प्रश्न उठाउनुभयो। तर यो भन्ने कुरा मात्रै हो। सबै सर्वसाधारणले बुझ्नुपर्ने कुरा के हो भने सिमेन्टले फेविकलले गर्ने काम गर्छ। यसले विभिन्न सामग्रीलाई जोड्ने हो। अब यसमा अरु मिसावट भएको कुराहरु के कस्तो छ, त्यो पनि हेर्नुपर्ने हुन्छ। बालुवा इँट्टाको अवस्था कस्तो छ, त्यो पनि हेर्नुपर्ने हुन्छ।
त्यस्तै प्राविधिकले पनि त्यसमा कसरी प्रयोग गरेको छ, त्यो पनि महत्वपूर्ण हुन्छ। सिमेन्टको मात्रा कति राख्नुभएको छ। धेरै राख्दा पनि राम्रो हुँदैन, थोरै राख्दा पनि मजबुत हुँदैन। त्यसैले प्राविधिकले त्यसको मात्रा मिलाउनुपर्छ। त्यसैले कुनै परियोजना राम्रो बन्नको लागि सम्पूर्ण चिजहरु राम्रो र गुणस्तरीय हुनुपर्छ।
अहिले बजारको अवस्था कस्तो छ? हाल सिमेन्ट र डण्डीलगायत अन्य निर्माण सामग्रीको मूल्य घट्यो भन्ने पनि छ, यसलाई कसरी लिनुहुन्छ?
पहिलो कुरा भनेको नेपालको मार्केट नै अहिले कमजोर भएको छ। भूकम्पले भत्किएका संरचनाहरुको समेत काम भएको छैन। त्यस्तै सरकार संघीय संरचनामा गयो, यसले विकास निर्माणलाई सहयोग गर्छ भन्ने आशा सबैलाई थियो। तर सोचेजसरी काम हुन सकिरहेको छैन। प्रदेश र स्थानीय तहमा गएका प्रोजेक्टहरुको नै काम अघि बढेको छैन।
विभिन्न कानुनी व्यवस्थाहरु नमिल्दा अहिले निर्माण क्षेत्र नै सुस्ताएको अवस्था छ। यसमा के हुन्छ भने अर्थशास्त्रको सिद्धान्तअनुसार नै माग काम भएको अवस्थामा त मूल्य कम भइहाल्छ नै। धेरै उत्पादन गर्दा खर्च पनि कम हुने नै भयो। सोअनुसार लागत कम पर्दा यसै पनि मूल्य कम हुनु स्वाभाविक कुरा भयो। हामीले पनि यसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। सोहीअनुसार मूल्यमा गिरावट आएको हो।
बेलाबखत परिवर्तन हुने सरकारको नीतिनियमले उद्योग धन्दालाई कस्तो असर गर्छ?
चालू आर्थिक वर्ष एक हजारभन्दा बढीको भुक्तानी गर्दा भ्याट तथा प्यानमा आबद्ध भएको हुनुपर्ने व्यवस्था सरकारले ल्याएको छ। एउटा गाडीले काठमाडौं आउँदा ४० हजार जति भाडा लिन्छ भने तर त्यो गाडीवाला प्यानमा आबद्ध भएको हुँदैन। खरिदकर्ताले के आधारमा बिल लिनेदिने गर्ने ?
यसले हामीलाई अहिले व्यवसाय गर्न अप्ठ्यारो परिरहेको छ। यसलाई सानो रुपमा लिए पनि यो जटिल छ। सरकारले हरेक कारोबार तथा व्यवसायलाई औपचारिक रुपमा करको दायरामा ल्याउन खोज्दा नेपालको व्यवसायको अवस्था नै खस्किन गएको छ।
उत्पादन भएका सिमेन्ट खपत बढाउन के गर्नुपर्छ?
सिमेन्ट उद्योगको विकास भयो तर नयाँ परियोजनाहरु सुरु भएको छैन। अहिले नेपालमा नै नेपाली उत्पादन लगाउनुपर्छ भन्ने हो। नेपालमा सिमेन्टको खपत बढाउनैपर्छ। यदि विकासको कुरा गर्ने हो भने निर्माण क्षेत्र अघि बढ्नैपर्छ। अहिले धेरै कामहरु रोकिएका छन्। त्यसले गर्दा सिमेन्टलगायत अन्य निर्माण सामग्रीले बजार पाउन नसकेको हो। त्यसैले परियोजनाहरुको काम अघी बढाउने र नयाँ परियोजनाहरुको सुरुवात गर्नुपर्दछ।
नेपालबाट निर्यातको सम्भावना कस्तो छ?
निर्यातको कुरा पनि हामीले अघि बढाउन सकिन्छ। नेपालसँग जोडिएको भारतीय राज्यहरु उत्तरप्रदेश र विहारमा चुनढुंगाको खानी छैन। जसको कारण नेपालको उत्पादन त्यता लान नसकिने भने होइन। तर त्यो क्षेत्रमा पनि भारतको अन्य ठाउँबाट सिमेन्ट आउँछ नै। यदि विदेश व्यापार गर्ने हो भने सरकारले त्यसमा रणनीति अपनाउनुपर्ने हुन्छ।
हामीले निर्यात प्रोत्साहनको कुरादेखि कर छुटसम्मको व्यवस्था अपनायौँ भने मात्रै विदेशीसँग प्रतिस्पर्धा गर्न सकिन्छ। यदि निर्यात गर्ने कुराचाहिँ गर्ने तर नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्नसकेनन् भने कुनै अर्थ रहँदैन। सबैले हेर्दा पहिलो कुरा मूल्य नै हेर्ने गर्छ।
हाल उद्योगहरुले पर्याप्त बिजुली पाएका छन्, सिमेन्ट उत्पादन लागत पनि घटेको होला नि!
अहिले पनि उद्योगहरुले आफ्नो मागअनुरुप बिजुली पाएका छैनन्। हाल लोडसेडिङ नभए पनि उद्योगलाई आवश्यक मात्रामा बिजुली दिनसक्ने क्षमताको ट्रान्सफर्मर जडान नभएकाले उद्योेगले चाहिएको जति बिजुली प्राप्त गर्नसकिरहेका छैनन्।
यसको व्यवस्थापनका लागि हाम्रो उद्योले वेष्ट हिट रिकभरी प्रविधिमार्फत २ मेगावाट बिजुली उत्पादन गरी हामीलाई अपुग बिजुलीको जोहो गरिरहेका छाैं।
सबै तस्बिरः स्नेहा केसी
Shares
प्रतिक्रिया