रेष्टुरेण्ट एण्ड बार एसोसियन पोखराले यही असार १३ गते यहाँको लेकसाइडमा नेपाली खानाको ब्राण्डिङको लागि ‘फुड फेष्टिभल’ गर्ने भएको छ।
‘नेप्लिज फुड प्रोमोसनल प्रोगाम’ नाम दिइएको सो फेष्टिभल फेवाताल किनाराको बाराहीचोकमा साँझ ५ बजेबाट राति ११ बजेसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा रेबानका महासचिव तथा महोत्सवका संयोजक गणेश थापाले जनाए।
उनले नेपाली खानाको ब्राण्डिङ नहुँदा स्तरीय होटल, रेस्टुरेण्टहरुमा नेपाली खानाका परिकारको सूची भेट्न मुस्किल भएकाले महोत्सव ब्राण्डिङको सुरुवात गरिएको जनाए। फेष्टिभलमा थकाली , गुरुङ , नेवारी , थारु खानाका साथै केराका परिकारहरु पनि राखिनेछ। फेष्टिभलमा ५ वटा स्टल राखिने पनि उनले जनाए। उनले नेपाली खानाको मौलिकताको चर्चागर्दै आउँदो वर्ष पनि फेष्टिभल आयोजना हुने जानकारी दिए।
‘दाल, भात, तरकारी र टिमुरको अचारसहितको खाना संसारको कुनै अर्काे भान्छामा पाक्दैन’, उनले भने,‘आफ्नै मौलिकतासहितको खाना खाएर तराई मधेसको ताप र मलेरियासँग जुध्ने शक्ति थारुले प्राप्त गरेको तथ्य हामीले संसारलाई किन नदेखाउने?’ पहाडको आँटो पिठो र ढिँडोकै शक्तिले उकालीओराली र भन्ज्याङ गर्न सक्ने नेपालीको पहिचान किन उजागर नगर्ने भन्दै उनले जिब्रो लठ्याउने नेवारी परिकार, कोरियन किम्चीभन्दा स्वादिलो गुन्द्रुकको स्वादलाई अन्तर्राष्ट्रिकरण गर्न महोत्सव फलदायी हुने दावी गरे।
प्रतिक्रिया