६ वर्षअघि संस्थापक सेयर उठाएको सिन्धुज्वाला हाइड्रोपावरले अझै निर्माण सुरु गरेको छैन।
संस्थापक सेयरधनीलाई ५ वर्षभित्र आयोजना सम्पन्न हुने भन्दै सेयर उठाएको कम्पनीले हालसम्म पनि निर्माणकार्य सुरु नगरेको हो।
सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले अपर न्यासेम खोला हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट रन अफ द रिभर प्रकृतिमा बनाउन चर्चित व्यक्तिको अनुहार देखाएर १८ सय बढी मानिससँग करोडौँ रकम उठाएको थियो। तर त्यो पैसा आयोजना निर्माणको साटो हिनामिना भएको पाइएको छ। वर्षौँ बित्दा पनि काम सुरु नहुँदा रकम लगानी गरेकाहरु आफ्नो लगानी फस्ने डरमा छन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित आयोजना ४३ मेगावट क्षमताको छ। यसको वार्षिक लागत अनुमान ६ अर्ब ६ करोड रुपैयाँ छ।
त्यस्तै सोही खोलामा बन्ने अर्को न्यासेम खोला ए सिन्धुज्वाला हाइड्रो प्रोजेक्टको रुपमा रहेको ‘क्यास्केड’ आयोजना हो। यसको क्षमता २१ मेगावाट छ। जसको लागत ४ अर्ब १७ करोड रुपैयाँ रहने देखिएको छ। पहिला २ आयोजनाको लागत करिब १० अर्ब रहेकोमा अब लागत वृद्धि भई १३ अर्ब बढी पुग्ने कम्पनीको अनुमान छ।
यसमा हालसम्म १८ सय ५८ जना संस्थापक सेयरधनी पुगेका छन्। जसमा ५७ करोड रुपैयाँको सेयर जारी भएको छ। १७ सय ५ संस्थापक सेयरधनी हुने बेलासम्म चुर्णप्रसाद श्रेष्ठ र डा. गोविन्दराज पोखरेल अध्यक्ष रहेका थिए। १७ सय ६ देखि १८ सय ५८ सयसम्मको संस्थापक सेयर अर्जुनबन्धु रेग्मी आएपछि वितरण गरिएको छ।
सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडको नेतृत्व लामो समय व्यवसायी चुर्णप्रसाद श्रेष्ठले गरे। उनीसँगै योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल पनि नेतृत्वमा रहे। उनीहरुसँगै कम्पनीमा पूर्वउपमहालेखा परीक्षक बद्रीबहादुर कार्की प्रबन्धनिर्देशक रहेका थिए।
२०७३ को पहिलो सञ्चालक समितिमा अध्यक्ष चूर्ण प्रसाद श्रेष्ठ, सञ्चालकमा गोविन्दराज पोखरेल, बद्री बहादुर कार्की, रविन काजी पलान्चोके, भोज कुमार खड्का, कविता श्रेष्ठ र रमा सापकोटा रहेका थिए।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पूर्वसीईओ पोखरेल, पूर्वउपमहालेखा परीक्षक बद्रीबहादुर कार्की, हाई हिमालयका किरण मल्ल लगायतको भरोसामा धेरैले लगानी गरेका थिए। २०७३ कात्तिकमै राजीनामा गरेका गोविन्दराज पोखरेल २०७६ माघमा कम्पनीको अध्यक्ष भए।
सिन्धुज्वाला हाइड्रो प्रा.लिबाट २०७३ बाट लिमिटेड भएको थियो। २०७३ सालदेखि ४–५ जनाको बीचमै कम्पनीको नेतृत्वमा हानथाप भएको थियो। नियमावलीमा सहमतिमा नेतृत्व चुन्न सकिने व्यवस्थाले साधारणसभा नै नगरी नेतृत्व फेरिरहेको देखिएको छ।
‘कम्पनीमा चर्चित अनुहार देखेर धेरैले लगानी गरेका छन्’, एक संस्थापक सेयरधनीले नेपालखबरसँग भने, ‘कम्पनीमा नयाँ आउने र जाने चलिरहेको छ। हामीसँग पैसा उठाएर आफूखुसी गरिरहेका छन्।’
‘केही आम्दानी हुने आशमा लगानी गरेको लाखौँ रुपैयाँ केही टाठाबाठा मिलेर खाए’, ती सेयरधनीलाई चिन्ता छ, ‘आयोजना बन्ने टुंगो छैन। आफ्नो पैसा कसरी फिर्ता पाउने?’
संस्थापक सेयरमा अधिकांशको १ लाखदेखि ५ लाख रुपैयाँ लगानी छ। केही करोड रुपैयाँ संस्थापक लगानी छ।
यी हुन् सिन्धुज्वाला हाइड्रोका ५ बेथिति
सिन्धुज्वाला हाइड्रोपवार लिमिटेडले नै आफ्नो वेबसाइटमार्फत बेथिति भएको स्वीकार गरेको छ। कम्पनीले मुख्य ५ वटा बेथिति सार्वजनिक गरेको छ। कम्पनीको आयोजनाको लागि जग्गा खरिद र बैनाबापत ६ करोड २९ लाख रुपैयाँ भुक्तानी गरेको छ। तर कम्पनीको नाममा रहेको जग्गा ८५ लाख ५० हजार रुपैयाँको मात्रै छ।
दोस्रोमा २०७३ माघ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको ४०औँ बैठकको निर्णयअनुसार माता उग्रचण्डी आयात स्टोर खरिद गरी कम्पनीबाट २ करोड ९१ लाख भुक्तानी भएको तर हालसम्म उक्त आयल स्टोर कम्पनीको नाममा नरहेको उल्लेख गरेको छ। कम्पनी स्रोतका अनुसार माता उग्रचण्डी आयल स्टोर कम्पनीकै पूर्वअध्यक्ष चुर्ण प्रसाद श्रेष्ठको नाममा छ।
तेस्रो बदमासीको रुपमा २०७४ साउन २ गते बसेको कम्पनी सञ्चालक समितिको ८१औँ बैठकको निर्णयअनुसार कम्पनीले गेलुन खोला हाइड्रोपावरलाई छोटो अवधिको लागि १८ प्रतिशत ब्याजदरमा दिएको १ करोड ७ लाख हालसम्म फिर्ता भएको छैन। हालको सञ्चालक समितिले उक्त कम्पनीलाई ब्याजसहित सापटी रकम भुक्तानीको लागि ताकेता गर्दा पनि कुनै जवाफ नआएको उल्लेख गरेको छ।
गेलुन खोला हाइड्रोपावरको स्वामित्व चुर्ण प्रसाद श्रेष्ठकै नाममा छ। श्रेष्ठले सिन्धुज्वाला हाइड्रो लिमिटेडको नाममा रकम उठाएर अर्कै हाइड्रोमा लगानी गरेका छन्। उनले सिन्धुज्वाला हाइड्रोलाई सापटी रकम फिर्ता गरेका छैनन्।
चौथो बदमासीको रुपमा नेशनल डेभलपमेन्ट प्रा.लिलाई भुक्तानी गरिएको ९ करोड ८७ लाख रुपैयाँ फछ्र्यौट हुन नसकेको पेश्की रकम छ।
पाँचौँ बदमासीमा सिन्धुज्वाला आयोजनाको लागि प्रभु बैंकसँग गरिएको ऋण सम्झौता पूर्ण नभएको र कार्यान्वयनमा ल्याउन थप गृहकार्य गर्नुपर्ने आवश्यकता देखिएको छ।
प्रभु बैंकसँग सम्झौताको लागि नियुक्त परामर्शदाताले करिब ६ करोड बराबरको पारिश्रमिक रकम कम्पनीबाट पाउनुपर्ने दाबी गरी जिल्ला अदालत काठमाडौंमा दर्ता मुद्दाको कारण सो वित्तीय दायित्वको व्ययभार कम्पनीले बोक्नुपर्ने जोखिम रहेको सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले सार्वजनिक गरेको छ।
के भन्छन् पूर्व र हालका सञ्चालक?
कम्पनीकै पूर्वअध्यक्ष तथा संस्थापक सञ्चालक डा. गोविन्द पोखरेलले आयोजना बनाउन आफूले साधारणसभा गरी नयाँ लगानीकर्ता भित्र्याउने वातावरण बनाएको बताए।
पहिलाको नेतृत्वले कम्पनीको हिसाबकिताब मिलान गर्न तयार देखिएकाले अब समस्या नहुने उनको भनाइ छ।
‘पहिला केही कमजोरी भएका हुन सक्छन्। कमजोरी गर्नेले कम्पनीमा तिर्नुपर्ने रकम फिर्ता गर्ने बताउँदै आएका छन्’, पोखरेलले भने, ‘संस्थापक सेयरमा बढी लगानी गरेकाले उनीहरुको सेयरबाट कटौती वा घरसम्पत्तिबाट कम्पनीको रकम उठाउन सकिन्छ।’
पोखरेलका अनुसार अहिलेको नेतृत्वले दशैँ तिहारपछि निर्माणकार्य सुरु हुने बताएको छ।
पोखरेलले भने, ‘अहिलेको सञ्चालकले सेयर बिक्री गर्न चाहनेको सेयर खरिद गरिरहेको छ। अर्को प्रोजेक्ट बन्नेमा शतप्रतिशत विश्वस्त छौँ। नयाँ ठूला लगानीकर्ता भित्रिसकेको अवस्था छ।’
पोखरेलले आयोजना निर्माण ढिलाइ हुनुमा सुरुमा गरेको प्रतिबद्धताअनुसार लगानी नभित्रिनु मुख्य कारण भएको बताए। वार्षिक साधारणसभा गरेर लगानी गर्नसक्ने टिम आएकाले आयोजना निर्माण अब छिट्टै हुने उनको भनाइ छ।
यस्ता छन् कम्पनीका बेथितिहरु
हाल कम्पनीका सञ्चालक अर्जुन बन्धु रेग्मीले पनि पहिला विभिन्न कारणले ढिलाइ भएको बताउँदै अब आयोजना बन्ने दाबी गरे।
‘बैंकले रकम नदिई आयोजना बन्दैन। २५ प्रतिशत इक्विटी हामी उठाउने हो’, रेग्मीले भने, ‘अहिले पैसा उठाउनसक्ने व्यक्ति कम्पनीमा लगानीकर्ताको रुपमा भित्रिएका छन्।’
हाल कम्पनीमा शर्मा एन्ड कम्पनीका रमेश शर्मा, खुमा अर्याललगायतका लगानीकर्ता भित्रिएकाले अब आयोजना बन्ने रेग्मीको दाबी छ।
सिन्धुज्वालामा अर्जुन बन्धु रेग्मीले ३ करोड ८५ लाख, प्रकाश रजौरेले २ करोड, माउन्टेन क्यापिटल एण्ड भेन्चर्स प्रा.लिले ३ करोड १० लाख, खुमा अर्यालले ५ करोड र ब्लुफिन इन्भेष्टमेन्ट प्रा.लिले १० करोड कम्पनीको खातामा जम्मा गरेको सिन्धुहाइड्रोले जनाएको छ। थप ७५ करोड रुपैयाँको लगानी प्रतिबद्धता व्यक्त भएको छ।
‘लगानी गर्नसक्ने क्षमताका साथी कम्पनीमा भित्रिएसँगै सेयरधनीको सहयोग रहे आयोजना बन्छ’, अध्यक्ष रेग्मीले भने, ‘ठूला बैंक ऋण लगानी गर्न सहमत छन्। सम्झौता भएसँगै निर्माणको काम अघि बढ्छ।’
सिन्धु हाइड्रोले कम्पनीमा लगानी गरेको रकम फिर्ता नहुने तर संस्थापक सेयर बेचिदिने आश्वासन दिएको छ।
‘हामी नेतृत्वमा आएसँगै ७५ लाखको सेयर स्वामित्व परिवर्तन भएको छ’, उनले भने, ‘कसैलाई अप्ठ्यारो पर्दा एउटा संस्थापक सेयर अर्कोलाई बिक्री गरिदिएका छौँ।’
यस्तो छ पुँजी र प्रगति
२०७८ को वित्तीय विवरणअनुसार अधिकृत पुँजी २ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रहेकोमा चुक्ता पुँजी ५१ करोड ८१ लाख रुपैयाँ छ।
कुल सेयर पुँजी ५१ करोड ८१ लाख रुपैयाँ छ। अग्रिम सेयर पुँजी १६ करोड ९५ लाख रुपैयाँ गरी ६८ करोड ७६ लाख रुपैयाँ स्रोत रहेको छ।
कुल सम्पत्ति ३३ करोड ४८ लाख रुपैयाँ रहेकोमा १ करोड २६ लाख रुपैयाँ भुक्तानी दायित्व छ। खुद सम्पत्ति ३२ करोड २२ लाख रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ। जसमा ८ करोड नगद तथा बैंक मौज्दात छ भने एडभान्स, निक्षेपलगायतका २५ करोड ४८ लाख रुपैयाँ छ।
पूर्व सञ्चालन खर्चमा ५ करोड ९१ लाख रुपैयाँ खर्च भएको छ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत जेठसम्म पहिलो चरणको पहुँच मार्ग बनाउने काम सम्पन्न भएको छ। ११ केभी प्रसारणलाइन निर्माणको लागि ३२ लाख रुपैयाँ रकम सिन्धुपाल्चोक वितरण केन्द्रमा डिपोजिट गरेको छ।
ईआई माभेन प्रा.लिलाई कन्सलटेन्ट नियुक्त गरी ४३ मेगावाटको आयोजनाको लागि पेनस्टोक, सर्ज ट्यांक, २१ मेगावाटको पावरहाउस, पेनस्टोक, हेडवक्र्सको विषयमा जियोफिजिकल अध्ययन गरिरहेको छ।
२०७७/०७८ मा बाह्य अडिटको लागि बीआरएस न्यौपाने एन्ड कम्पनीका अनुप कुमार श्रेष्ठलाई जिम्मा दिएको छ।
Shares
प्रतिक्रिया