चालू आर्थिक वर्षको अन्तिम महिनाको मध्य समय सकिन लाग्दा दैनिक बजेट खर्च बढेको छ। दैनिक खर्च बढे पनि एक हप्तामै ४ खर्ब ५९ अर्ब रुपैयाँको चेक काटिसक्नुपर्ने दबाब देखिएको हो।
पछिल्लो समय दैनिक अर्बौँ रुपैयाँ बजेट खर्च हुनथालेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। चालू आर्थिक वर्षको बजेट खर्च गर्ने समय जम्मा १ हप्ता मात्रै बाँकी छ।
यसअनुसार मन्त्रालयले असार २० गतेसम्म बजेटसम्बन्धी भुक्तानी गरिसक्नुपर्ने रुलिङ सबै निकायहरुलाई गरिसकेको छ। यो अर्थमा बजेट खर्च गर्ने अवधि जम्मा १ हप्ता मात्रै बाँकी छ।
तथ्यांकअनुसार असार ५ गते ३ अर्ब ९९ करोड रुपैयाँ खर्च भएकोमा ६ गते २ अर्ब ३३ करोड बजेट खर्च भएको छ। ७ गते ४ अर्ब ६५ करोड, ८ गते ४ अर्ब ३१ करोड, ९ गते २ अर्ब ६० करोड, १० गते २ अर्ब ९१ करोड भएको देखिएको छ।
११ गते सार्वजनिक विदाको दिन समेत ३० करोड भुक्तानी भएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ। त्यस्तै आइतबार अर्थात् १२ गते ७ अर्ब ७४ करोड रुपैयाँको चेक काटिएको छ।
मन्त्रालयका अनुसार हालसम्म ६६ दशमलव ५७ प्रतिशत बजेट खर्च भएको छ। जसमा चालू खर्च ७९ दशमलव ७२ प्रतिशत, विकास खर्च ३८ दशमलव ७२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ४८ दशमलव २४ प्रतिशत खर्च भएको छ।
चालू आर्थिक वर्षमा सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा हालसम्म १० खर्ब ८७ अर्ब रुपैयाँ खर्च गरिसकेको देखिएको छ।
तर सरकारले १५ खर्ब ४६ अर्ब रुपैयाँ मात्रै बजेट खर्च गरे पुग्ने देखिएको छ।
बजेटको मध्यवधि समीक्षामार्फत अर्थ मन्त्रालयले ९४ प्रतिशत मात्रै खर्च गर्नसक्ने बताएको छ। सोही कारण मन्त्रालयले पौने खर्ब रुपैयाँभन्दा बढी खर्च हुन नसक्ने घोषणा गरेको थियो।
यो अर्थमा पनि अब बजेट ४ खर्ब ५९ अर्ब गरिसक्नुपर्नेछ।
एक हप्ता अवधिमा सरकारले ४ खर्ब ५९ अर्ब रुपैयाँको चेक काटिसक्नुपर्ने तथ्याङ्कले देखाएको छ।
अर्थ मन्त्रालयमा रकमान्तरको चाप
कुनै शीर्षकमा विनियोजन भएको बजेट तत्काल खर्च हुने सम्भावना नदेखिएमा र अर्को शीर्षकमा खर्च गर्न आवश्यकता भएमा बजेट खर्च गर्न पाइने व्यवस्था छ।
अर्को शीर्षकमा लगेर पनि खर्च गर्न पाउने व्यवस्था अर्थात् रकमान्तरको फाइदा उठाउँदै सो सुविधा उपयोग गर्न चाहनेको अर्थ मन्त्रालयको बजेट महाशाखामा अहिले भीड लागेको छ।
धेरै व्यक्ति महाशाखा प्रमुख चक्र बुढाको कोठामा पस्नथालेपछि आइतबार प्रहरी समेत परिचालन भएको छ। महाशाखाका एक अधिकारीले धेरै व्यक्ति छिर्नथालेपछि महाशाखा अगाडि प्रहरी राखेर भीड नियन्त्रण गरिएको बताए।
लक्ष्यअनुसार नै राजस्व उठ्दै
चालू आर्थिक वर्षको राजस्व लक्ष्यअनुसार नै संकलन हुने अर्थ मन्त्रालयले बताएको छ। मध्यावधि समीक्षामा अर्थ मन्त्रालयले राजस्वको लक्ष्य संशोधन गरेको छैन।
चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो। यसअनुसार ९ अर्ब ६३ अर्ब रुपैयाँ अर्थात् ८१ दशमलव ५९ प्रतिशत रकम संकलन भइसकेको छ भने अन्य प्राप्ति समेत गरेर सरकारले १० खर्ब २० अर्ब रुपैयाँ आम्दानी गरेको देखिएको छ।
Shares
प्रतिक्रिया