२१ वर्षदेखि डाँडो ओगटेर बसेको चम्पादेवी केबलकारको दर्ता २६औँ पटक नवीकरण भएको छ। २ वर्षअघि उद्योग विभागले नवीकरण नगर्ने भनेर गरेको निर्णय विभाग आफैँले उल्ट्याएको हो।
२५ पटक म्याद थप भएकोमा २०७६ मा अन्तिम पटकलाई भन्दै ६ महिनाको लागि उद्योग विभागले म्याद थप गरेको थियो।
त्यसपछि हालसम्म यस केबलकार कम्पनी म्याद गुज्रिएर बसेकोमा अहिले म्याद थप भएको हो। २ वर्षअघि अन्तिम पटकलाई मात्रै नवीकरण भएको भन्दै निर्णय गरे पनि अहिले उद्योग विभागका महानिर्देशकको रुपमा रामचन्द्र तिवारी आएपछि २ वर्षअघिको निर्णय उल्ट्याएका हुन्।
४ महिनाअघि विभागको टोली स्थलगत निरीक्षणमा समेत गएको थियो। साथै परियोजनाको शून्य प्रगति रहेको भन्ने रिपोर्टिङ भएको समेत विभागले स्वीकार गरेको छ। यो अवस्थामा समेत विभागले २ वर्षको निर्णय उल्ट्याएको हो।
दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा सञ्चालनमा आउने भनिएको चम्पादेवी केबलकारले २१ वर्षदेखि ठाउँ मात्रै ओगटेर बस्दै आएको छ।
उद्योग विभागमा २०५७ कात्तिकमा दर्ता भएको यस परियोजनाको अहिलेसम्म म्याद थप मात्रै भइरहेको छ। यसको प्रगति भने अहिलेसम्म शून्य नै छ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवालसहितको टिमले निर्माण गर्ने भनिएको चम्पादेवी इको फ्रेन्डली कम्पनी प्रालि नामबाट दर्ता भएको यस केबलकार परियोजनाले हरेक पटक म्याद थप हुने समयमा निर्माणकार्य अब सुरु भइहाल्छ भन्ने तर कामचाहिँ अघि नबढाउने गरेको देखिएको हो।
२५ पटक म्याद थप भएकोमा २०७६ मा अन्तिम पटकलाई भन्दै ६ महिनाको लागि उद्योग विभागले म्याद थप गरेको थियो। त्यसपछि अहिले यस केबलकार कम्पनी म्याद गुज्रिएर बसेको छ। म्याद थप गर्नको लागि भन्दै उद्योग विभागमा आवेदन आएकोमा विभागले आफ्नै निर्णयलाई बदर गर्दै म्याद थप गर्ने निर्णय गरेको हो।
किन उल्टियो निर्णय ?
उद्योग विभागका निर्देशक भक्तराज जोशीका अनुसार यस पर्यटनमूलक उद्योगमा केही लगानी भइसकेको छ।
‘सोही कारण उक्त निर्णय लिनुपरेको हो’, उनले भने, ‘हामीले दुईमध्ये एक निर्णय लिनुपर्ने थियो। कि दर्ता खारेज गर्नुपर्दथ्यो कि नवीकरण गर्नुपथ्र्यो। त्यसमा नवीकरणको विकल्प रोजेको हौँ।’
लगानीकर्ताहरुले पनि लगानी भइसकेको र अब कार्यप्रगति समेत आगामी केही दिनमै देखाउने प्रतिबद्धता रहेको बताउँदै आएका छन्।
केही समयअघि केबलकार कम्पनीले आफ्नो लगानी गर्ने योजना र निर्माण भएपछि हुने फाइदाबारे जानकारी पत्रकार सम्मेलनमार्फत नै गराएको थियो।
पत्रकार सम्मेलन नै गरेर कम्पनीले यही अंग्रेजी वर्षको अन्तिमबाट काम सुरु हुने जानकारी गराएको थियो।
यसमा ६ अर्ब रुपैयाँ लगानी हुने समेत बताइएको थियो। यसले उपत्यकाको एक महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित गराउने जानकारी गराइएको थियो। कम्पनीले आवश्यक प्राविधिक कार्य पूरा भएको र अब निर्माण प्रक्रिया सुरु हुने भनेको छ।
तीन वर्षमा निर्माणकार्य सम्पन्न गरी सो केबलकार सञ्चालनमा ल्याउने कम्पनीको दाबी छ।
कम्पनीका अनुसार चम्पादेवी माताको मन्दिर रहेको डाँडा समेत करिब २२ हेक्टर वन क्षेत्र नेपाल सरकारबाट प्राप्त भएको छ।
केही प्राविधिक एवं कानुनी अवरोधहरुको निकास समेत आएकोले परियोजनाको कार्य तीव्रगतिले प्रारम्भ गरिएको कम्पनीको दाबी छ।
Shares
प्रतिक्रिया