पर्शुराम कुँवर नेपाली बैंकिङ क्षेत्रमा सफल प्रमुख कार्यकारी अधिृकत (सीईओ)का रुपमा चिनिन्छन्। उनले तीनवटा बैंकमा सीईओको कार्यकाल पूरा गरेका थिए।
बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय वित्तीय संस्थामा भने छैनन्। दुई वर्षअघि उनले ग्लोबल आईएमई बैंकबाट विदा लिएका थिए।
बीचमा कार्यकारी भूमिकाबाट विश्राम लिएका उनी हाल इ–सेवामा आबद्ध हुन आइपुगेका छन्।
यद्यपि उनी अनलाइन भुक्तानी सेवा प्रदायकमा कार्यकारीका रुपमा भने आएका होइनन्।
उनी कम्पनीमा सेरेमोनियल भूमिकामा नेतृत्व गर्ने गरी इसेवामा आबद्ध भएका हुन्। उनको आगमनसँगै इ–सेवाका अस्गर अलीले सञ्चालक समितिबाट राजीनामा दिएका छन्।
सञ्चालक हुँदै इ–सेवा भित्रिएका कुँवर केही दिनमै अध्यक्ष बन्नलागेको कम्पनी स्रोतले जनाएको छ।
स्रोतका अनुसार उनले चाँडै अध्यक्षको शपथ खाँदै छन्। तर कुँवर भने यस विषयमा खुलेर बोल्न चाहेनन्।
उनले नेपालखबरसँग भने, ‘शपथ भएको छैन। शपथ भएपछि कसरी काम गर्ने र के हुने विषयमा बोलूँला।’
लामो समय कार्यकारी भूमिकामा बिताएर अध्यक्ष हुने बैंकको पूर्वसीईओ उनी मात्रै होइन्।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल पनि लामो समय कार्यकारी भूमिका निभाएर अहिले अध्यक्षको भूमिकामा छन्।
अनुभवी कुँवर
कुँवर वित्तीय क्षेत्रका एक अनुभवी व्यक्ति हुन्। बैंकिङ क्षेत्रमा उनले २०४२ सालदेखि प्रवेश गरेका थिए।
तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले नेपालको तीनवटा बैंकको कार्यकारी भूमिकामा रहेर नेतृत्व गरे।
उनले बैंक अफ काठमाण्डु, जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्वदायी भूमिकामा काम गरेका थिए।
नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो। यसले धेरै रिस्कहरु निम्त्याउने धेरैको आकलन समेत थियो।
तर बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओमा कुँवर रहने समझदरी भएको थियो।
त्यहीअनुसार मर्जर सम्पन्न भयो। मर्जर सेफ ल्यान्डिङमा रहेर बैंकले अहिले नेपालको नम्बर वानको ताज लिइरहेको छ। जसको श्रेय उनै कुँवरलाई जाने गरेको छ।
Shares
प्रतिक्रिया