माघे संक्रान्ति पर्व नजिकिँदै छ। नेपाली समाजमा तरुललाई माघे संक्रान्तिको विशेष परिकारको रुपमा लिइन्छ। माघे संक्रान्तिमा तरुल फलाहारको रुपमा खाने प्रचलन छ।
पछिल्लो समय व्यवसायिक तरुल खेतीमा सर्लाही देशकै अब्बल जिल्लाको रुपमा स्थापित हुँदैछ। विशेषगरी सर्लाहीको पश्चिमी क्षेत्रमा पर्ने बागमती, बरहथवा लगायतका नगरपालिकामा तरुलको व्यवसायिक खेती हुन्छ। तरुल खेतीमा यहाँका हजारौँ किसान लागेका छन्।
सिँचाइको सुविधा भएको बागमती नदी किनारको उर्वर जमिनमा यतिबेला तरुल उठाउन किसानलाई भ्याइनभ्याई छ। रातदिन नभनी किसान आफ्नो वर्ष दिनको बाली भित्र्याउने चटारोमा छन्।
बिक्रीको लागि समस्या नहुने र आम्दानी पनि मनग्गे हुने भएपछि यो खेती सर्लाहीमा वर्षेनी बिस्तार हुँदै गएको छ। कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार यस वर्ष जिल्लामा २ सय हेक्टर भन्दा धेरै जमिनमा तरुल खेती गरिएको छ।
सर्लाहीमा उत्पादित तरुलको मुख्य बजार राजधानी काठमाडौं हो। राजधानीवासीले सर्लाहीको तरुल विशेष रुचाउने अनुभव किसान र व्यवसायीको छ।
मंगलबार बागमती नगरपालिका- ५ को राजघाट पुग्दा किसान तरुल उठाउन व्यस्त थिए। कोही खाडलबाट तरुल निकालिरहेका थिए भने कोही गाडीमा लोड गरिरहेका थिए। किसानको खेतमै भेटिए व्यवसायी बसन्त बुढाथोकी।
बागमती नगरपालिका- ६ खाल्टे घर भएका बुढाथोकीले यस वर्ष बागमती र बरहथवाका किसानको ६ विघा जमिन ठेक्का लिएर तरुल खेती गरेका छन्।
‘राजघाट क्षेत्रबाट मात्रै हिजोआज दैनिक ७० गाडीसम्म तरुल कालीमाटी गइरहेको छ,’ बुढाथोकीले भने, ‘मैलै मात्रै अहिलेसम्म १५ गाडी पठाइसकेँ। उताको माग अनुसार यताबाट पठाउन सकिएको छैन।’
माघे संक्रान्ति आउन अब तीन दिन मात्र बाँकी छ। पुस २९ गतेसम्ममा तरुल काठमाडौं पुर्याउन सके राम्रो आम्दानी हुने आशा बुढाथोकीले व्यक्त गरे।
‘माघे संक्रान्तिपछि अहिलेको जस्तो मूल्य पाइँदैन। बिक्री पनि अहिलेजस्तो धेरै हुँदैन,’ उनले भने।
तरुलबाट किसान र व्यवसायीले मात्र होइन, यतिबेला मजदुरले पनि मनग्गे आम्दानी लिइरहेका छन्। मजदुरले एक क्वीन्टल तरुल खनेको ज्याला ८ सय सम्म पाउँछन्।
राजघाटका श्रीबहादुर कुँवरको बारीमा तरुल खन्दै गरेका स्थानीय युवा सुरेश थापाले भने, ‘म दिनमा दुई/अढाई क्विन्टलसम्म खन्छु। अहिले आम्दानी राम्रै छ।’
पत्ताले तरुल खन्न भने गाह्रो हुने अनुभव उनले सुनाए। ‘सप्रिएको पत्ताले तरुल निकाल्न त चार पाँच फिटसम्म गहिरो खन्नुपर्छ,’ हत्केलाको ठेला देखाउँदै थापाले भने, ‘आम्दानी मात्रै होइन यसमा मेहनत पनि उत्तिकै गर्नुपर्छ।’
फागुनदेखि जेठसम्म तरुल रोपिसक्नु पर्छ। विशेषगरी यहाँका किसानले मकैबारीमा तरुल रोप्ने गरेका छन्। मकैको ढोडले तरुलको लहरालाई थांग्रोको काम गर्छ। तरुल खाने सिजन भने पुसबाट सुरु हुन्छ। माघे संक्रान्ति आसपास यसको खपत अत्यधिक हुन्छ। तरुलको किनबेच वैशाखसम्मै हुन्छ।
सर्लाहीमा उत्पादित तरुलको मुख्य बजार राजधानी काठमाडौं भएपनि छिटपुट रुपमा पोखरा, बुटवल, वीरगञ्ज, जनकपुर, विराटनगर जस्ता शहरमा पनि जाने गरेको छ।
राजघाटका श्रीबहादुर कुँवरले यस वर्ष ७ कठ्ठा जमिन तरुल खेतीका लागि ठेक्का दिएका छन्। त्यसबापत आफूले ठेकेदारसँग एक लाख १० हजार रुपैयाँ बुझेको उनले बताए।
‘मैले खाली जमिन ठेकेदारलाई दिएको हो। यो सबै तरुल उनैले रोपेका हुन्,’ ठेकेदारले तरुल उठाउँदै गरेको बारीमा भेटिएका कुँवरले भने।
राजघाटकै कृष्ण खरेलले यस वर्ष अढाई कठ्ठा जमिनमा मात्रै तरुल खेती गरेका छन्।
‘व्यवसायीले अढाई कठ्ठा तरुललाई ४० हजार दिइसके। हामी अझै भाउ बढ्छ कि भनेर बसेका छौँ,’ उनले भने।
धान, मकै, गहुँ जस्ता अन्न बाली भन्दा तरुल खेतीबाट दोब्बर बढी आम्दानी हुने किसान बताउँछन्।
‘राम्रो जमिन पर्यो भने एक कठ्ठामै १२/१३ क्विन्टलसम्म तरुल फल्छ,’ व्यवसायी बुढाथोकीले भने, ‘नफल्दा पनि ८/१० क्विन्टल फल्छ।’
कतिपय किसानले तरुल खेतीको लागि ठेकेदारलाई खेतबारी नै हुण्डामा दिन्छन् भने कतिपय किसानले आफैँ रोप्छन्। र, उठाउने बेलामा ठेकेदारलाई दिन्छन्।
‘मैले खाली जमिन ५/६ हजार रुपैयाँ प्रतिकठ्ठाको दरले लिएर तरुल खेती गरिरहेको छु,’ व्यवसायी बुढाथोकीले भने, ‘बलौटे खालको दोमट माटोमा तरुल मज्जाले सप्रिन्छ। त्यस्तो माटो भएको जमिन पर्यो भने एउटै बोटमा २५ किलोसम्म फल्छ।’
त्यस्तो जमिनलाई बिघाकै दुई लाखसम्म पर्ने उनले बताए।
सर्लाहीको स्थानीय बजारमा अहिले व्यापारीले खुद्रामा प्रतिकिलो ७० रुपैयाँका दरले तरुल बिक्री गरिरहेका छन। उपभोक्ताले पत्ताले तरुल रुचाउँछन्। सर्लाहीमा पत्ताले, आकाशे र जुँगे गरी तीन जातको तरुलको खेती बढी छ। तरुल अर्ग्यानिक कन्दमुल हो।
‘यसमा विषादीको प्रयोग नगन्य मात्रामा हुन्छ,’ किसान कृष्ण खरेलले भने।
Shares
प्रतिक्रिया