ad ad

कारोबार


११ वर्षमा पनि तयार भएन बुद्ध परिपथको पुल, गलत डिजाइनले समस्या

११ वर्षमा पनि तयार भएन बुद्ध परिपथको पुल, गलत डिजाइनले समस्या

सुदीप भण्डारी
कात्तिक २६, २०७८ शुक्रबार १६:५६, काठमाडौँ

बुद्धस्थललाई जोड्ने गरी रुपन्देहीको देवदहदेखि लुम्बिनीसम्मको ४२ किलोमिटर सडक दुई वर्षअघि नै सम्पन्न भएको हो। बुद्धको मावलीस्थल देवदहदेखि मणिग्राम, मोतीपुर, फर्साटिकर, सूर्यपुरा हुँदै लुम्बिनी पुग्ने गरी लुम्बिनी परिक्रमा अर्थात बुद्ध परिपथको सडक तयार भएको हो।

यही सडकमा पर्ने तिलोत्तमा नगरपालिकाको मणिग्राम र बुटवल उपमहानगरपालिकाको मोतीपुर जोड्ने तिनाउ खोलाको पुल अलपत्र अवस्थामा छ। पुलको निर्माण सुरु भएको ११ वर्ष भइसक्दा पनि आधाजसो मात्र ढलान भएको देखिन्छ। बाँकी ठाउँको लागि पिल्लर सम्म उठाइएको छ।

यो सडकले मोतीपुरसँगै सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिकाका विभिन्न स्थानबाट मणिग्राम आवत जावत गर्न सहज हुने आशा स्थानीयले गरेका थिए। तर पुल नबन्दा समस्या भएको छ। सडक राम्रो भएपनि यतिबेला खोला तारेर मोटरसाइकल ओहोर दोहोर गराउनुपरेको सुद्धोधन गाउँपालिका ३ बेतानीका यादव खनालले बताए। 

‘पुल बन्न थालेको थुप्रो वर्ष भइसक्यो। अझै खोलाबाटै हिँड्नुपरेको छ’ उनले भने, ‘यो भन्दा पछि सुरु भएका अरु थुप्रै पुल बनिसके। यो कहिले बन्छ टुंगो छैन।’ 

तिलोत्तमा नगरपालिका ३ का अर्जुन पाठकले तिनाउ पारीको बस्तीमा पुग्न बर्खामा लामो बाटो घुमेर जानुपर्ने बताए। 

‘सडक तयार भएको यतीका समय भयो। पुल जस्ताको तस्तै छ’ उनले भने, ‘हिउँदमा त जसोतसो ओहोरदोहोर गरिन्छ। वर्षामा त्यही पारी जान पनि कि त योगिकुटी कि अमुवा घुमेर जानुपर्छ।’

लुम्बिनी परिक्रमा सडकमा पर्ने यो पुलको ठेक्का सम्झौता २०६७ असार २५ गते भएको थियो। पुल निर्माणका लागि साढे २ वर्षको म्याद २०६९ पुस २४ मा सकिएको थियो। त्यसयता पटक पटक म्याद थपिएको छ। 

पुलको फाउण्डेसनको गलत डिजाइनका कारण निर्माण कार्य लम्बिएको हो। पुलको जग खन्ने क्रममा बिचमा ठूलो ढुंगा पर्दा काम रोकिएको र पुनः डिजाइन गरेर काम सुरु गर्नुपरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए।

‘फाउण्डेसन तयार पार्दा जति जानुपर्ने हो त्यति गएन। बिचमा आएर ढुंगा फेला पर्यो। ढुंगा फुटाएर तल जान सकेन’ उनले भने, ‘माथि सडक विभागबाट रिडिजाइन भएर काम अघि बढिसकेको छ।’ 

पुल निर्माणको काम अलाइट कन्ट्रक्सनले गरिरहेको छ। डिभिजन प्रमुख मरासिनीले यसमा निर्माण कम्पनीलाई दोष दिने ठाउँ नभएको विभागमा रिडिजाइनकै प्रक्रियाले गर्दा ढिलाई भएको बताए। उनले अब असार मसान्तमा पुल निर्माण सम्पन्न हुने दाबी गरे। 

‘अब सडक विभागको तर्फबाट कुनै रोकटोक छैन, सबै पास भयो। फाउण्डेसन र पिल्लर तयार भएको छ निर्माण कम्पनीले खुरुखुरु काम गरे भने असार मसान्तसम्म सकिन्छ’ मरासिनीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .