ad ad

कारोबार


देउखुरीमा लुम्बिनी प्रदेश सभाकाे भवन निर्माण तीब्र गतिमा, दैनिक १९ घण्टा काम

देउखुरीमा लुम्बिनी प्रदेश सभाकाे भवन निर्माण तीब्र गतिमा, दैनिक १९ घण्टा काम

सुदीप भण्डारी
कात्तिक २४, २०७८ बुधबार १७:४९, काठमाडौँ

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन दाङको देउखुरीमै गर्ने गरी भवन निर्माणलाई तीब्रता दिइएको छ। मौरिघाटस्थित राप्ती प्राविधिक शिक्षालयको जग्गामा प्रदेश सभाको भवन निर्माणको काम भइरहेको छ।

अहिले दिनरात गरेर दुई सिफ्टमा प्रदेश सभा भवन निर्माणका लागि कामदारहरु खटिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले बताए। 

‘अहिले द्रुत गतिमा काम भइरहेको छ। राति १ बजेसम्म यहाँ काम हुन्छ। केही समय बन्द भएर विहान ६ बजेबाट फेरि निर्माण सुरु हुन्छ’ उनले भने ‘मंसिर मसान्तसम्म सक्ने योजना छ।’ 

भवन निर्माणका लागि अहिले डेढ सय बढी कामदार खटिएका छन्। प्रदेश सभा भवन निर्माणको लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार साउन मसान्तसम्म भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो। म्याद थपिएको २ महिना हुँदा पनि कामले गति लिन सकेको थिएन। 

कात्तिकको पहिलो साता मुख्यमन्त्री कुलप्रसाद केसी प्रदेश सभा भवन बनिरहेको स्थलमा अनुगमनको लागि पुगेका थिए। निर्माणको कामले गति लिन नसकेपछि मुख्यमन्त्री केसी झोक्किएका थिए। उनले निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएका थिए। 

निर्माण व्यवसायीले भने डेढ महिनामा काम सक्ने प्रतिबद्धता जनाएका थिए। मुख्यमन्त्रीले चासो राखेपछि अहिले कामले तिब्रता पाएको हो। 

कामले तिब्रता पाएपछि देउखुरीबासीमा प्रदेशको राजधानीको अनुभुति छिट्टै गर्न पाउने आशा पलाएको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द केसीले बताए। 

‘पहिले कामै देखिएको थिएन। अहिले त धमाधम काम भएको देखिएको छ। उनले भने हिउँदे अधिवेशन अब यहीँबाट हुन्छ भन्ने आशा गरेका छौँ। अब अरु मन्त्रालय पनि क्रमशः आउला।’ 

रातदिन काम गर्दा अहिले प्रदेश सभाको ४० प्रतिशत जति काम भएको र अबको एक महिनामा बाँकी काम सक्नुपर्ने प्राधिकरणका प्रमुख घिमिरेले बताए। 

‘अब एक महिनामा सक्ने हाम्रो योजना छ। हामीले भने अनुसार सम्पन्न भयो भने नेपालमै नमुना काम हुने छ’ उनले भने ‘त्यसको लागि हामी प्रतिबद्ध छौँ।

५ करोड २२ लाखको लागतमा ड्रागन बस्नेत जेभीले निर्माणको काम गरिरहेको छ। निर्माण हुन लागेको भवनमा ढुंगाको छाना, आँखीझ्याल जस्ता यस क्षेत्रका परम्परागत डिजाइनहरू समावेश हुने छन्। 

मंसिर भित्र सभाहल सम्पन्न भएमा हिउँदे अधिवेशन देउखुरीमै बस्ने लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए।

‘भवन तयार भयो भने हिउँदे अधिवेशन दाङमै बस्छ। अहिले निर्माण भएको भवनमा सभा बस्न, प्राविधिक कक्ष र पत्रकारहरुको लागि पनि ठाउँको व्यवस्था छ’  उनले भने, ‘सचिवालयको लागि अर्को कुनै भवनमा व्यवस्था होला।’ 

पुनले सचिवालय भवन निर्माणको तयारी पनि भइरहेको बताए।  

२०७७ साल असोज २० गते प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी राख्ने र दाङको देउखुरीलाई राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। स्थायी राजधानी तोकिएको देउखुरीमा पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय स्थापना भएको छ। प्रदेशका अरु मन्त्रालयहरू बुटवलमै छन्।

कात्तिक २ गते मन्त्रालय रहेको स्थानमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको सम्पर्क कार्यालय स्थापना भएको छ। अन्य मन्त्रालयहरू आउन चाहेमा ठाउँको व्यवस्थापन गर्ने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .