ad ad

कारोबार


तिहारमा माला उन्न भ्याइनभ्याई, वर्षाले फूल उत्पादन घट्यो

तिहारमा माला उन्न भ्याइनभ्याई, वर्षाले फूल उत्पादन घट्यो

सुदीप भण्डारी
कात्तिक १८, २०७८ बिहिबार १९:३४, बुटवल

रुपन्देहीका कृषकहरुले पनि केही वर्ष यतादेखि व्यवसायिक रुपमा फूल खेती गर्न थालेका छन्।

विशेष गरी तिहारलाई लक्षित गरेर फूल उत्पादन हुने गरेको छ। त्यस बाहेक हिउँदमा विवाह उत्सव, साधारण सभा लगायतका कार्यक्रम हुने भएकाले पनि फूलको लागि राम्रो सिजन मानिन्छ। विगतका वर्षमा फूलबाट राम्रो उत्पादन भएपनि यो वर्ष लगातारको वर्षाले गर्दा फूल उत्पादनमा कमी आएको छ। कतिपय कृषकले तिहारलाई लक्षित गरि फूल खेती गर्न पनि पाएनन्। 

रुपन्देहीको तिलोत्तमा नगरपालिका १ मा रहेको देउराली पुष्प व्यवसायी समितिले २०७६ सालको तिहारमा फूल खेतीबाट राम्रो आम्दानी गरेको थियो। तर यो वर्ष लगातारको वर्षाले तिहारको लागि फूल रोप्नै नपाएको समितिकी अध्यक्ष सीता पाठकले बताइन्।

‘पहिलो वर्ष फूल खेतीबाट तिहारमा संस्थाको लागि ५ लाख रुपैयाँ बचत भएको थियो। गत वर्ष थोरै फूल लगाए पनि लकडाउनले गर्दा बिक्री भएन’ उनले भनिन्, ‘यो पटक पानी आइरह्यो। विउ ल्याए पनि फूल रोप्न नपाएर खेत बाँझै छ।’ 

समितिले २२ कठ्ठा जग्गा लिजमा लिएको छ। केहीमा धान खेती छ। फूल लगाउन छुट्याइएको १० कठ्ठा बाँझै भएको पाठकले बताइन्। 

केही ठाउँमा भने फूल उत्पादन भएको छ। रुपन्देहीको तिलोत्तमा ४ मा ९ जना महिलाहरु मिलेर सामूहिक फूल खेती गरेका छन्।

क्षितिज नमुना कृषक समूह गठन गरेर उनीहरुले फूल खेती र तिहारको लागि माला उत्पादन गरेका छन्। अहिले समूहका महिलाहरुलाई माला उन्न भ्याइ नभ्याइ छ। सुरुमा लगाइएको फूल वर्षा तथा डुबानले बिगारेको तथा केही ठाउँमा तिहारको लागि फूल उत्पादन भएको समूहकी अध्यक्ष नविना भण्डारीले बताइन्। 

‘समूहले डेढ विघा जग्गा लिजमा लिएको हो। अहिलेलाई १० कठ्ठा भन्दा बढीमा फूल खेती छ। सुरुमा रोपेको डुबानले लग्यो’ उनले भनिन्, ‘अहिले केहीमा फूलेको छ र बसेर माला उनीरहेका छौं। केही मालाहरु बिक्री भइसक्यो। तिहारको अघिल्लो दुई दिन माग एक दम बढी हुन्छ।’

वर्षाले धेरै ठाउँमा फूल नफूलेकाले माग बढी रहेको समूहका सचिव कोष बहादुर बस्नेतले बताए। उनले हिउँदमा हुने विवाह लगायत अन्य उत्सवको लागि पनि फूल उत्पादन हुने बताए। 

रुपन्देहीको देवदह नगरपालिकामा नगरमै पहिलो पटक २२ वर्षीय किसान पवन तिवारीले फूल खेती थालेका छन्। लक्ष्मी पूजाको अघिल्लो दिनसम्म उनले १० हजार मूल्य बराबरका माला बिक्री गरिसकेका छन्। यो वर्ष फूल र माला बेचेर तीन लाख रुपैयाँ कमाइ हुन्छ कि भन्ने पवनको आशा छ। 

‘५ कट्ठामा फूल खेती गरेको छु। यो वर्षबाट सुरु गरेको हो’ उनले भने, ‘तिहारमा मात्र ५ हजार माला बिक्री गर्ने लक्ष्य छ। केही फूल तिहार पछिलाई पनि उत्पादन हुन्छ।’ 

लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष रमेश पाण्डेले वर्षाका कारण तराईका फूल उत्पादक किसानहरू समस्यामा परेको बताए। पाण्डेले वर्षाका कारण ढिला फूल उत्पादन भएकाले तिहारमा फूलको अभाव हुने र पछि उत्पादित फूल खेर जाने अवस्था रहेको सुनाए।

‘पानी बढी पर्दा समयमै किसानले फूल रोप्न पाएनन्। पछि लगाएको फूल पानी र डुबानले नष्ट गर्यो। केही किसानले फूल लगाए पनि तिहारपछि मात्र फुल्छ’ उनले भने, ‘अहिले तिहारमा बिक्री गर्न पाएका छैनन्। पछि उत्पादन भएको फूल खेर जान्छ।’ 

किसानद्वारा उत्पादित फूलले अहिलेको तिहारमा ४० प्रतिशत मात्र माग धान्न सक्ने पाण्डेको भनाई छ। तिहारलाई लक्षित गरेर लगाएको फूल ढिला फुल्दा त्यसबेला ६५ प्रतिशत फूल खेर जाने उनको अनुमान छ। भारतमा पनि वर्षा र डुबानका कारण राम्रो उत्पादन नभएकाले कम आयात भइरहेको लुम्बिनी पुष्प व्यवसायी संघका अध्यक्ष पाण्डेले बताए। 

‘वर्षाका कारण यहाँ पनि कम उत्पादन भएको र बाहिरबाट पनि आयात कम हुँदा गत वर्ष भन्दा यो वर्ष बिक्री बढ्न सक्छ’ उनले भने, ‘तिहारको सुरुको दिन त सयदेखि एक सय २० मा माला बिक्री भइरहेको छ। माग बढी हुँदा तिहारको अघिल्लो दिन २ सय भन्दा बढी पनि पुग्न सक्छ।’ 

लुम्बिनी प्रदेश सरकारले फूल खेतीलाई प्रसय दिने खालका कार्यक्रमहरु ल्याएको बताएको छ। प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत अमर शर्मा घिमिरेले तालीम र फूल पकेट क्षेत्र लगायतका कार्यक्रम ल्याएको बताए। 

‘गत वर्ष हामीले केही उद्यमीहरूलाई तालिम दियौँ। उहाँहरुले सुरुवात गर्नुभएको छ। यो वर्ष पनि तालिमका कार्यक्रम जारी रहन्छ’ उनले भने, ‘अर्को जहाँ तीर्थस्थलहरू छन्। त्यहाँ वरिपरि फूलको नर्सरी अथवा व्यवसाय गर्नेहरुलाई अनुदानका कार्यक्रम पनि ल्याएका छौं।’ 

लुम्बिनी, स्वर्गद्वारी लगायत मुख्य धार्मिक स्थलहरूलाई फोकस गरेर यो कार्यक्रम ल्याएको घिमिरेले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .