ad ad

कारोबार


स्पेनिस टोलीको भ्रमणले लुम्बिनीको पर्यटनमा जगाएकाे आशा

स्पेनिस टोलीको भ्रमणले लुम्बिनीको पर्यटनमा जगाएकाे आशा

सुदीप भण्डारी
कात्तिक १५, २०७८ सोमबार १७:२७, काठमाडौँ

कोरोना संक्रमणका कारण झण्डै २ वर्ष लुम्बिनीको पर्यटन क्षेत्र थलियो। सन् २०१९ को डिसेम्बर महिनामा चीनमा कोरोना संक्रमण फैलिएदेखि नै लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक आगमनमा कमी आउन थाल्यो।

२०७६ साल चैत्रबाट देशव्यापी रुपमा लकडाउन भएपछि अन्य क्षेत्र जस्तै लुम्बिनीको पर्यटन क्षेत्र पनि ठप्प बन्यो। २०७७ मंसिरबाट लुम्बिनीमा आन्तरिक र केही भारतीय पर्यटकहरु देखा परेपनि तेस्रो मुलुकका पर्यटक आएका थिएनन्। कोरोनाको दोस्रो लहर सुरु भएपछि फेरि २०७८ वैशाखबाट निषेधाज्ञा सुरु भयो। पर्यटन क्षेत्र थप धराशायी बन्यो।

यतिबेला कोरोना प्रभावमा केही कमी आएको छ। अवस्था सहज हुँदै गएको छ। दसैँ तिहारको आसपासमा लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल केही बढेको लुम्बिनीमा रहेको होटल सुरम्भाका सञ्चालक खिम श्रेष्ठको अनुभव छ। 

‘आन्तरिक पर्यटकहरु त आइरहेका छन्। स्कुल कलेजका टुर पनि देखिन्छन्’ उनले भने, ‘केही भारतीयहरु पनि देखिन थालेका छन्। तर जति हुनुपर्ने त्यो त भएको छैन। सुधार हुँदै छ भनौँ।’ 

दसैँअघि रुपन्देहीको बेलहिया सिमानाका सहज भएपछि भारतीय पर्यटक पनि देखा पर्न थालेका छन्। तर तेस्रो मुलुकका पर्यटक तत्काल आइहाल्छन् भन्ने यहाँका पर्यटन व्यवसायीमा आशा थिएन। 

कात्तिक १२ गतेदेखि १४ गतेसम्म स्पेनको एक्त्रामादुरा प्रदेश सभाका सभामुख ब्लांका मार्तिन देलगादो, प्रदेशका पर्यटन मन्त्री सहितको टोली लुम्बिनी क्षेत्रमै रह्यो।

भ्रमणको क्रममा तिलौराकोटमा आयोजित कार्यक्रममा स्पेनको काथेरेस नगरपालिका र लुम्बिनीका बुद्धसँग सम्बन्धित ४ नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भयो। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र देवदह नगरपालिका, नवपरासी पश्चिमको रामग्राम नगरपालिका तथा कपिलवस्तुको कपिलवस्तु नगरपालिकाले स्पेनको काथेरेस नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरे।

त्यस्तै, रुपन्देहीको सिद्धार्थनगर उद्योग वाणिज्य संघ र स्पेनको व्यवसायिक संस्थाबीच पनि भगिनी सम्बन्ध कायम भएको थियो। 

आइतबार लुम्बिनी गार्डेन फाउण्डेसनले उपलब्ध गराएको बहुमूल्य महाकरुणा बुद्धमुर्तिको राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अनावरण गरेकी थिइन्।

सो समारोहमा पनि स्पेनको टोली सहभागी भएको थियो। समारोहमा राष्ट्रपति भण्डारी, गृहमन्त्री बालकृष्ण खाण, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, स्पेनकी प्रदेश सभामुख ब्लांका मार्तिन देलगादो लगायतले स्पेनको टोलीको भ्रमणले यहाँको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्नुका साथै दुई देशको सम्बन्धमा थप आयाम थपेको उल्लेख गरेका थिए। 

कोरोना महामारीपछि अवस्था सहजतातर्फ उन्मुख हुँदै गर्दा युरोपियन मुलुकका सरकारी अधिकारीको टोलीको आगमनले लुम्बिनीका व्यवसायीलाई पनि उत्साहित बनाएको छ। लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोबिन्द ज्ञवाली स्पेनिस टोलीको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा राम्रो सन्देश जाने बताउँछन्। 

‘कोभिडपछि पहिलो पटक यो स्तरको भ्रमण भएको छ। यसले अन्तर्राष्ट्रिय समुदायमा लुम्बिनी सुरक्षित छ, घुम्न जानुपर्छ भन्ने सन्देश जान्छ’ उनले भने, ‘उहाँहरुले कार्यक्रमको लाइभ काष्ट पनि गर्नुभएको छ। यसले आशा गरेको भन्दा अझ छिटो लुम्बिनीको पर्यटन प्रवद्र्धन होला।’ 

ज्ञवालीले भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार पनि छिटो बन्नुपर्ने बताए। 

अहिले लुम्बिनीमा चहलपहल बढे पनि बास बस्ने गरी आउने पर्यटक भने कमै छन्। कोभिडको प्रभाव केही मात्रामै भएपनि बाँकी रहेकाले पर्यटक ढुक्कसँग यात्रा गर्न सकेका छैनन्।

विदेशी अधिकारीको भ्रमणले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै खालका पर्यटकहरूमा पनि सकारात्मक सन्देश गएको संस्कृती तथा पर्यटनविद डा. गितु गिरिले बताए। उनले पर्यटकको स्वागत र सत्कारका लागि पहिलेको भन्दा फरक शैली अपनाउनुपर्ने बताए। 

‘दुई वर्षसम्म पर्यटन झण्डै मृत अवस्थामा थियो। अहिले फेरि पर्यटन क्षेत्र जुरमुराउन थालेको छ। अब पहिले भन्दा राम्रो छवि बनाएर’ गिरिले भने ‘अब पर्यटकीय व्यवहार राम्रो गर्नुपर्छ। अब अन्तर्राष्ट्रिय विमानस्थल लगायतका पूर्वाधार पनि छिटो तयार हुन आवश्यक छ।’ 

स्पेनिस टोलीको भ्रमणले लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन मात्र नभई यहाँको विकासमा पनि सघाउ पुर्याउने लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए। 

‘युरोपियनहरु हामी भन्दा उच्च स्तरका छन्। विकासमा पनि अघि छन्। त्यहाँको प्रविधि पनि फाष्ट छ’ उनले भने, ‘यसले पर्यटन प्रवद्र्धन मात्र नभएर विकासमा पनि सघाउ पुर्याउँछ।’ 

राईले थपे, ‘स्पेनमा पनि बुद्ध पार्क बन्दै रहिछ। बुद्धको जन्मस्थल जानुपर्छ भन्ने सन्देश जान्छ।’ 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .