ad ad

कारोबार


बाह्रबीसे सबस्टेसन ठेकेदारलाई छिटो काम सक्न कुलमानले दिए ‘अल्टिमेटम’

बाह्रबीसे सबस्टेसन ठेकेदारलाई छिटो काम सक्न कुलमानले दिए ‘अल्टिमेटम’

कार्यकारी निर्देशक कुलमान घिसिङ ।


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १३:३७, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबीसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ। 

सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको काम सन्तोषजक नभएपछि प्राधिकरणले कार्यसम्पादन सुधार गर्न ४ महिनाको अल्टिमेटम दिएको छ। 

खिम्ती, तामाकोसी र भोटेकोसी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन तामाकोसी–काठमाडौ उच्च क्षमताको प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो। प्राधिकरणले आयोजनाअन्तर्गत रामेछापको न्यू खिम्ती, बाह्रबिसे र काठमाडौंको लप्सीफेदीमा ४०० केभीको सबस्टेसन पनि निर्माण गरिरहेको छ। एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपानेलगायतको टोलीले बाह्रबिसे सबस्टेसन निर्माणस्थलको निरीक्षण गरी ४ महिनाभित्रमा काममा सुधार नदेखिए ठेक्का तोड्ने चेतावनी दिएको छ। 

‘करिब दुई वर्ष अघिको भन्दा निर्माणस्थलमा गर्नु पर्ने कामको प्रगति उल्लेख्य देखिएको छैन, यस्तै अवस्था रहने हो भने ठेक्का तोड्नुको विकल्प छैन, ४ महिना हेर्छौं त्यसपछि पनि काममा सुधार भएन भने ठेक्का सम्झौताअनुसारको कारबाहीको प्रक्रिया अगाडि बढ्छ’, ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशक दिंदै कार्यकारी निर्देशक घिसिङले भने। 

ठेकेदार कम्पनीका प्रतिनिधिले भने बर्खाको समयमा काम गर्न नसकिएको र अहिले क्रमिक सुधार गरिएकोले ४ महिनामा कामको प्रगति हेर्न अनुरोध गरेका थिए। ठेकेदार कम्पनीको व्यवस्थापन परिवर्तन भई नयाँ टिम आएकोले अहिले काममा केही प्रगति देखिएको छ। 

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायतका उपकरणहरु ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, कार्यालय तथा नियन्त्रण कक्ष भवन निर्माणाधीन छन्। सबस्टेसनमा २२०÷१३२ केभी, १६० एमभीए र १३२÷११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहने छन्। सबस्टेसन निर्माण पछि स्थानीय रुपमा 

बाह्रबिसे बजारबाट सबस्टेसनसम्म जाने करिब साढे चार किलोमिटर सडक जीर्ण रहेकोले निर्माणस्थलमा उपकरणहरु तथा निर्माण सामाग्री ढुवानीका लागि समस्या छ। बागमती प्रदेश सरकारको लगानीमा बन्न लागेको सडकको निर्माण अलपत्र छ। 

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको विद्युत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ। 

यसैगरी, रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै काठमाडौंको लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन निर्माणाधीन छ। प्रसारण लाइन अन्तर्गत न्यू खिम्ती–बाह्रबिसे खण्डमा पर्ने ११५ वटा टावरमध्ये ३५ वटा टावरको जग हालिएको छ भने ६ वटा उठाइएको छ। ४४ किलोमिटर यस खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ। 

यो लाइन बनाउन पनि बाह्रबिसे सबस्टेसनको ठेकेदारले नै पाएको थियो। तर, ठेक्का सम्झौताको ७४ प्रतिशत समय बित्दासमेत कम्पनीले निर्माणका प्रारम्भिक काम नै नगरेपछि सम्झौता अवधि बाँकी नै रहेको अवस्थामा ठेक्का तोडिएको थियो।  

त्यसपछि प्राधिकरणले गरेको नयाँ टेण्डरमा भारतीय कम्पनी  केइसी इन्टरनेशनल छनोट भएको थियो।  

बाह्रबिसे–लप्सेफेदी खण्डमा पर्ने १२२ टावरमध्ये ९८ वटाको जग हालिएको छ भने ७८ वटा खडा गरिएको छ। वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधलगायतका कारणले निर्माण प्रभावित भएको छ। भारतीय कम्पनी लार्सन एण्ड टर्वो (एलएण्डटी)ले ठेक्का पाएको यस  खण्डको निर्माण आगामी साउनभित्र सक्ने लक्ष्य राखिएको छ। 

लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १३२ केभी प्रसारण लाइन निर्माणाधीन छ। यस खण्डको निर्माण ठेक्का पनि एलएण्डटीले नै पाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .