ad ad

कारोबार


लुम्बिनीमा ४२ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट

लुम्बिनीमा ४२ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट

धानबाली नाेक्सान भएपछि चिन्तित किसान। तस्बिर : रासस


सुदीप भण्डारी
कात्तिक ३, २०७८ बुधबार २१:२९, काठमाडौँ

वर्षाका कारण लुम्बिनी प्रदेशमा ४२ हजार हेक्टर क्षेत्रफलको धान खेतीमा क्षति पुगेको छ।

प्रदेशका १२ वटै जिल्लामा संकलन गरिएको प्रारम्भिक विवरण अनुसार हालसम्म  किसानले काटेर राखेको ४२ हजार ४ सय २७ हेक्टर क्षेत्रफलको धानबालीमा क्षति पुगेको प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

‘यो अहिलेसम्मको संकलन गरिएको प्रारम्भिक विवरण हो। केही ठाउँको विवरण संकलन हुन बाँकी छ’ मन्त्रालयका खाद्य सुरक्षा तथा कृषि व्यवसाय महाशाखा प्रमुख अमर शर्मा घिमिरेले भने ‘बर्दियामा आज फेरि कर्णालीले कटान गरेर बाढी पसेर धान बगाएको छ भन्ने सुनिएको छ। यसबाट धानबालीको क्षति अझै बढ्ने अवस्था देखिएको छ।’ 

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा करिब तीन लाख हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ। 

लुम्बिनी प्रदेशमा धानबालीमा सबै भन्दा बढी क्षति बर्दिया जिल्लामा भएको छ। यो जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको छ। त्यसपछि कपिलवस्तुमा ८ हजार हेक्टर, बाँकेमा साढे ५ हजार हेक्टर, रुपन्देहीमा साढे ३ हजार हेक्टर क्षेत्रफलको धान खेतमा क्षति पुगेको मन्त्रालयका खाद्य सुरक्षा महाशाखा प्रमुख घिमिरेले बताए। 

दसैंको टीकाको केही दिनअघि र कतिपय किसानले टीकाको अर्को दिनबाट पाकेको धान काट्न थालेका थिए। काटेर खेतमा पाँजा बनाएर राखेको धानमा धेरै क्षति पुगेको छ। नकाटेको धानमा पनि धेरै दिन पानी जमेमा क्षति हुने घिमिरेले बताए। 

क्षति बढेमा यस वर्ष धान उत्पादनमा २५ प्रतिशत जति कमि आउन सक्ने मन्त्रालयको अनुमान छ। 

‘क्षति बढ्दै गयो भने हामीले अनुमान गरे भन्दा एक चौथाइ धान उत्पादन कम हुने देखिएको छ’ मन्त्रालयका महाशाखा प्रमुख घिमिरेले भने। 

यस वर्ष निरन्तर वर्षा भएकाले किसानले धान उत्पादन बढ्ने आशा गरेका थिए। तर सोमबारदेखि भएको बेमौसमी वर्षाले धेरै नोक्सान पारेको हो। 

लुम्बिनीको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले बुधबार वर्षाका कारण धानबालीमा भएको क्षतिको बारेमा समिक्षा गरेको थियो। सो क्रममा क्षति भोगेका कृषकलाई कसरी राहत उपलब्ध गराउने भन्ने बारेमा पनि छलफल भएको महाशाखा प्रमुख घिमिरेले बताए। 

‘तत्काल के राहात दिने र हिउँदे बालीको लागि किसानलाई के सपोर्ट गर्ने भन्ने बारेमा छलफल गरेका छौँ’ उनले भने, ‘यसकै आधारमा प्रदेश सरकार र संघीय सरकारको मन्त्रिपरिषदले केही निर्णय गर्ला।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .