आज दसैँको महाअष्टमी। शक्तिस्वरूपा भगवती महागौरीको पूजा गर्ने दिन।
रातमा सेतो वर्ण र सेतो पहिरनकी, गोरुमा सवार, माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल एवं बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा भएकी देवीको उपासना गर्ने दिन।
अष्टमीमा कालरात्रिको पूजा गरिन्छ साथमा हतियारको पनि। आदिमकालमा मान्छेहरु हतियारलाई पनि देवता नै मान्थे। आफूले बोक्ने हतियारले लक्ष्य भेदन गरोस् भन्ने चाहन्थे। त्यसलाई चुस्त दुरुस्त राख्थे।
दसैँ मान्ने नेपालमा आज साँझ हतियारको पूजा गरिँदैछ तर नेपालमा आजकल हतियार बन्दैनन् अझ हतियार बन्ने फलाम नेपालमा उत्पादन नै हुँदैन।
त्यसो त, कुनै समय नेपालीहरु नेपालमै उत्पादन भएको फलामले हतियार बनाउँथे। कुनैबेला तिब्बतको लागि नेपालमै टक्का (सिक्का) काटिन्थ्यो। पर्वत, तनहुँ, बागलुङलगायतका जिल्लाहरुमा रहेका खानीबाट निकालिएको फलामले विश्वकर्माहरु हतियार बनाउँथे।
यो कुरा अहिलेको पुस्ताले पत्याउँदैनन्। तनहूँको भिमाद र बागलुङ गलकोटको झोलुङ्गे पुलमा प्रयोग भएको फलाम नेपालकै हो भनेर पत्याउने पुस्ता भने अझै बाँकी नै छन्।
तर, पछिल्लो समय नवलपुरको हुप्सेकोट गाउँपालिका–५ मा रहेको हुप्सेकोट डाँडाबाट फलाम निकाल्ने कुराले धेरैलाई उत्साहित बनाएको छ। नेपालकै फलामले हतियार र अन्य सामग्री बनाउने सम्भावना देखिएको छ।
र, सबैभन्दा बढी उत्साहित चाहिँ गण्डकी प्रदेश सरकार नै भएको छ। संघीय सरकारको पहलमा स्थापित धौवादी फलाम कम्पनीको लागि २ अर्ब ५० करोड रुपैयाँ पूँजीसहितको धौवादी फलाम कम्पनी खडा गरिएको छ। कम्पनीमा केन्द्र सरकारका विभिन्न मन्त्रालय र निकायहरुको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३ प्रतिशत र स्थानीय तहको २ प्रतिशत तथा निजी क्षेत्रको ४५ प्रतिशत लगानी रहने व्यवस्था छ।
गण्डकी प्रदेश सरकारले सो फलाम खानीमा सक्दो बढी लगानीको अपेक्षा गरेको छ। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको २०७७ पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय गरेको थियो भने ६० करोड लगानी गर्न इच्छुक रहेको प्रस्ताव पठाइएको थियो।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमै प्रदेशले १५ प्रतिशत लगानी गर्न पाउनुपर्ने माग गरेका थिए। मन्त्रिपरिषद्ले ६० करोड लगानी प्रस्ताव गर्नुको पछाडिको कारण पनि त्यही थियो।
कम्पनीमा हालसम्म केन्द्र सरकार र मन्त्रालयको २ अर्ब २० करोड निजी क्षेत्रका विभिन्न घरानाहरुले १८ करोड र प्रदेश सरकारको १२ करोड लगानी भइसकेको छ। हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलाम खानी १० किलोमिटर लम्बाइ र ३० देखि ३५ मिटर चौडाइमा फैलिएको प्रारम्भिक अध्ययनहरुले देखाएका छन्।
खानी तथा भूगर्भ विभागले ५ टन कच्चा पदार्थ चीनमा पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नजिता सकारात्मक आइसके पनि खानी कहिले सञ्चालन हुन्छ भन्ने निर्क्यौल भएको छैन।
गण्डकी प्रदेशमै रहेको खानीमा लगानी गर्ने र राजश्व वृद्धिमा सघाउने यो परियोजना रणनीतिक महत्वको भएको गण्डकीका अर्थमन्त्री रामजी बराल स्वीकार्छन्।
तर, व्यावसायिक रुपले सञ्चालन गर्न के कठिनाइ भएको छ, कहाँ रोकिएको छ भन्नेबारे सरकारले अध्ययन गर्दै गरेको उनको धारणा छ। सार्वजनिक निजी साझेदारी, संघ र प्रदेश सरकार अनि स्थानीय सरकारको साझेदारी एवं अन्तर्राष्ट्रिय लगानीकर्तासँग संयुक्त लगानीको मोडालिटी नबन्दा प्रदेश सरकारको योजनाले सार्थकता नपाएको हो।
हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले भने फलामखानीको विषयमा आफूलाई थाहै नभएको जिकिर गरेकी छन्। केही दिनअघि उनले गाउँपालिकामै पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिकासँग कुनै समन्वय नै नभएको दुखेसो पोखेकी हुन्।
फलामखानी स्थापना गरिए पनि सम्पर्क कार्यालयसम्म सो ठाउँमा नखोलिएको बताउँदै उनले प्रश्न गरिन्, ‘संघीय र प्रदेश सरकारको बजेटमा हरेक वर्ष फलामखानी प्राथमिकतामा पर्छ तर काम कति भयो, बजेट कता कता खर्च भयो?’
धौवादी फलामखानी कम्पनीको सञ्चालक समितिमा गाउँपालिका पनि सदस्य हुनुपर्ने माग राख्दै आएपनि सुनुवाई नभएको उनको गुनासो छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को प्रतिवेदनमा पनि धौवादी फलामखानीको कामले गति नलिएको उल्लेख गरिएको छ।
Shares
प्रतिक्रिया