यातायात व्यवस्था कार्यालय बुटवलबाट परीक्षणकालिन सवारी चालक अनुमतिपत्र सेवा सुरु भएको छ।
लुम्बिनीको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको उक्त कार्यालयबाट लाइसेन्सको परीक्षा उत्तीर्ण गरेकाहरूलाई प्रिन्ट लाइसेन्स दिन सुरु गरिएको हो।
चालक अनुमति पत्रको प्रिन्ट यातायात व्यवस्था कार्यालयमै हुने छ। अहिलेलाई परीक्षणकालिन चालक अनुमति पत्र मात्र दिइएको र पछि स्थायी रुपमा दिने कार्यालय प्रमुख तेजनारायण यादवले बताए।
‘परीक्षण कालका लागि यो अनुमति पत्र दिएका हौँ। एक वर्षभित्र स्थायी प्रकारको अनुमति पत्र वितरण गर्छौं। अब नागरिकले रसिद बोकेर हिँड्नुपर्ने दुःख सकियो’ उनले भने, ‘अब दुरुपयोग नहुने, ट्राफिकलाई पनि कारवाही गर्न सजिलो हुन्छ। राजस्व तिरेकै दिन सेवाग्राहीले अनुमति पत्र प्राप्त गर्छन्।’
परीक्षणको छुट्टै अनुमति पत्रको कार्ड दिने अन्तर्राष्ट्रिय व्यवस्था नै रहेको यादवले बताए।
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार १० जना सेवाग्राहीलाई सवारी चालक अनुमति पत्र प्रदान गर्दै सेवाको शुभारम्भ गरेका हुन्। केसीले नेपालमै लुम्बिनी प्रदेशमा पहिलोपल्ट यो सेवा सुरु गरेको दाबी गरे। सेवाग्राहीबाट धेरै गुनासो आइरहेको बेला परीक्षणका रुपमा यो सेवा सुरु गरेको उनले बताए।
Shares
प्रतिक्रिया