जर्मनी प्रविधिको स्कोडा गाडीको शोरुम पोखरामा खुलेको छ। पोखराको नयाँबजारस्थित एसएसएल मोटर्स प्रालि स्कोडाको लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता तय भएको छ।
शो रुमको बुधबार एक कार्यक्रम पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल लगायतले उद्घाटन गरे।
स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले एसएलएल मोटर्सलाई बिक्रेता नियुक्त गरेको हो। पोखराको नयाँबजारमा रहेको एसएसएल मोटर्सले स्कोडा गाडीको बिक्री तथा बुकिङ सुरु गरिसकेको छ। डिलर सुरु गरेसँगै प्रालिले स्कोडाको बहुप्रतिक्षित एसयुभी कुशाकको बुकिङ पनि सुरु गरिसकेको निर्देशक सूर्यप्रसाद बरालले जानकारी दिए।
स्कोडाको कुशाक एसयूभी २ साता अगाडि मात्रै नेपाली बजारमा सार्वजनिक भएको हो। एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन ट्रिममा उपलब्ध हुने स्कोडा कुशाक सबै गरी ५ भेरिएन्टमा बजारमा उपलब्ध छन्।
स्कोडा कुशाकको सुरुवाती भेरिएन्ट एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैयाँ तोकिएको छ। एम्बिसन म्यानुअल ट्रान्समिसनको मूल्य ५३ लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ५८ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
स्टाइल म्यानुअल ट्रान्समिसनको मूल्य ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसनको मूल्य ६५ लाख ९० हजार रुपैयाँ तोकिएको छ। रोबस्ट र मस्कुलर लुक रहने कुशाकले नेपाली एसयूभीप्रेमीको मन जित्ने कम्पनीले अपेक्षा गरेको छ।
Shares
प्रतिक्रिया