चिनियाँ राष्ट्रपति सी चिङफिङको स्वागतका लागि नेहाल यादवले काठमाडौंका पर्खाल रंगाउन थालेको ६ दिन भयो। नेपालीले दशैँको उल्लास मनाइरहँदा उनी त्रिपुरेश्वर–थापाथली खण्डको रेलिङमा पेन्ट गर्दै थिए। उनी भारतीय नागरिक हुन्।
वीरगञ्ज पारिपट्टिको भारतीय सीमावर्ती सहर रक्सौल स्थायी घर भएका उनी केही महिनादेखि काठमाडौंमा छन्। उनीसँगै ३५ जनाको टोलीले सी स्वागतका लागि रेलिङ तथा पर्खालमा पेन्ट गरिरहेको छ।
निकै मिहिनेतपूर्वक काम गरिरहेका नेहाललाई काठमाडौंमा को आउँदैछ भन्ने जानकारी छैन। ‘चिनियाँ प्रधानमन्त्री आउँदैछन् भन्ने सुनेको हो’, उनी भन्छन्, ‘हामीलाई ६ घन्टा काम गरेबापत ५ सय रुपैयाँ दिइएको छ।’
बिजुलीबजार पुल नजिकै स्वागत गेट बनाउने तयारी भइरहँदा भेटिए दीपक जैसवाल। उनको टोलीका सबै ८ जना नै भारतीय नागरिक छन्। दीपक र उनको टोली बुधबार रातिदेखि चिनियाँ राष्ट्रपतिको स्वागतका लागि गेट निर्माण गर्न काम गरिरहेको छ।
‘हामी रातभरिदेखि काम गरिरहेका छौं। करिब आधा घन्टा जति सुतियो होला त्योभन्दा बढी सुत्न पाएको छैन’, उनी सुनाउँछन्। चिनियाँ राष्ट्रपतिको तस्विर अंकित फेलेक्स प्रिन्ट हातमा बोकेका उनलाई के उद्देश्यका लागि गेट बनाउन लागिएको भन्नेमा कुनै चासो छैन।
‘चीनबा नेपालमा कोही ठूलै मान्छे आउँदैछन्’, उनी यति मात्र भन्छन्। नेपालखबरले उनको टोलीलाई भेट्दा सबै गेट बनाउने काममा केन्द्रित भइरहेका थिए। ‘आज राति पनि सुत्न पाइँदैन, रातभरि काम गर्नुछ। भोलिसम्म सक्नुपर्छ भनेका छन्’, उनी भन्छन्।
दशैँ त्यागेर पार्क बनाउन
सल्यानका विष्णु कुँवर महाअष्टमीदेखि नै तीनकुनेमा बन्न लागेको अस्थाई पार्क निर्माण काम गरिरहेका छन्। पार्कमा फूल, बोटविरुवा रोप्ने, दुबो बिछ्याउने र चिटिक्क पार्ने उनको जिम्मेवारी छ।
यो वर्ष उनलाई दशैँमा घर जान मन थियो। घरमा रहेका आमा र बहिनीले बाटो हेरेका थिए। तर एकाएक दैनिक पाँच सयका दरले एक महिनासम्म काम पाउने भएपछि उनले दशैँ छोडे। रोजगारी रोजे।
‘परिवारको सम्झना मनमा राखेर बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म काम गरिरहेको छु’ नेपालखबरसँग कुराकानी गर्दा गाउँ र परिवार सम्झेर उनी निकै भावुक भए।
दशैँको यो समय काठमाडौंमा अत्यन्त राम्रो मौसम हुने समय हो। यही बेला चिनियाँ राष्ट्रपतिको स्वागतमा काठमाडौंका मुख्य सडक सिंगारिएका छन्। सडकका दुई छेउमा नेपाल र चीनका झन्डा फहराइरहेका छन्। सधैँ धुलो, धुँवा र कुरुप देखिने काठमाडौंको स्वरुप एकाएक फेरिएको देख्दा सर्वसाधारण दंग छन्।
अस्थाई पार्क, रङरोगन, सडक मर्मत, फूलबिरुवा रोप्ने, सरसफाई, स्वागत द्वार, सडक छेउँमा नेपालको कला संस्कृति झल्कने पोस्टरहरु र दुई देशका राष्ट्रपतिका तस्बिर, ठाउँ–ठाउँमा राखिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चिनियाँ राष्ट्रपति सी बस्ने सोल्टी होटलसम्मको सडक छेउछाउ दिनरात काम भइरहेको छ।
कपन घर भएका ६७ वर्षीय लोकनाथ भट्टराई बेल्चा बोकेर सरसफाईमा खटिएका छन्। सडक डिभिजन काठमाडौंमा कार्यरत उनी दशैँ अघिदेखि सरसफाईमा काम गरिरहेका छन्।
लोकनाथसहितको तीन जनाको टोलीले कुपण्डोलस्थित बागमती पुलदेखि जय नेपाल हलसम्म तथा गौशाला चोकदेखि जमलको आकाशे पुलसम्म सरसफाई गर्नेछ।
चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको नेपाल भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाले पार्क निर्माण, सरसफाई, झन्डा राख्ने, पोल र बारको पेन्टिङ र लाइटिङका लागि ६० कर्मचारीलाई खटाएको छ।
रङरोगन, सडकका खाल्डाखुल्डी पुर्ने, पिच गर्नेसहितका कामका लागि सडक विभाग र काठमाडौं सडक डिभिजन कार्यालयले सबै कर्मचारीलाई परिचालन गरेको छ। ‘दशैँजस्तो महान चाडमा पनि उहाँहरु विदा नबसी आफ्नो जिम्मेवारी पुरा गर्न लाग्नुभएको छ’ सडक विभागका प्रवक्ता शिवहरि सापकोटा भन्छन्।
प्रतिक्रिया