तत्कालीन राजा महेन्द्रको निम्तोमा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र उनका श्रीमान् ड्युक अफ एडिन्बरा फिलिप सन् १९६१ र १९८६ मा नेपालको राजकीय भ्रमणमा आएका थिए। काठमाडौंमा उनीहरूको भव्य स्वागत भयो। सन् १९६१ मा नेपाल आउँदा बग्गीमा चढेर एयरपोर्टबाट निस्केका शाही पाहुनाले जनताको ‘सलामी’ पाए।
उनीहरूलाई राजा महेन्द्रले चितवनमा बाघको सिकार गर्ने व्यवस्था मिलाए। राजकुमार फिलिप नौसेनामा काम गर्थे। दोस्रो विश्वयुद्धताका सैनिककै रूपमा एलिजाबेथसँग उनको भेट भयो। भेट विवाहमा बदलियो।
फिलिपले नौसेना छाडे। बन्दुक चलाउन आउने भए पनि उनीसँग बाघको सिकार गरेको अनुभव थिएन। नेपाल भ्रमणका क्रममा राजा महेन्द्रले त्यो अवसर दिलाए। सिकार गर्न चितवन पुगेको शाही टोलीले सयौं हात्तीको घेराबन्दीमा परेको पाटेबाघ लडायो।
जुन बेलाको भिडिओ एलिजाबेथले बनाएकी छन्। उनको फेसबुकबाट यो भिडिओ–
त्यसपछि लगत्तै राजकुमार फिलिपसहितको शाही टोली पोखरा आइपुग्यो। पोखरा विमानस्थलमा शाही पाहुनाको भव्य स्वागत गरियो। एलिजाबेथ र फिलिपको स्वागतका लागि पोखरा विमानस्थलमा २ सय भूतपूर्व गोर्खा सैनिक सहभागी थिए। उनीहरूको नेतृत्व भिक्टोरिया क्रस विजेता क्याप्टेन लालबहादुर थापालपे गरेका थिए।
सो अवसरमा पहिलो विश्वयुद्धमा घाइते भई अवकास पाएका एक भूतपूर्व सैनिकले एलिजावेथका हजुबुबाको फोटो भएको अवकास पत्र पनि रानीलाई देखाए। कृषि वैज्ञानिक अनिल सुवेदीले राजकुमार फिलिपको निधनसँगै आफ्नी आमाले उनको स्वागत गरेको तस्बिर फेसबुकमा राखे। त्यो बेला महिला संगठन कास्कीकी अध्यक्ष रहेकी आमाले फिलिपलाई स्वागत गर्दै गरेको तस्बिर फोटो उनको पारिवारिक संग्रहालयमा सुरक्षित रहेछ।
‘त्यो बेला आमा महिला संगठनको अध्यक्ष हुनुहुन्थ्यो। उहाँ एयरपोर्ट जानुभएको थियो, हामी पनि बाहिर थियौं, पोखराको घरमा कोही थिएनन्, सबै एयरपोर्ट पुगेका थिए,’ डाक्टर अनिल सुवेदीले शाही पाहुनाको पहिलो पोखरा भ्रमण सम्झँदै नेपालखबरसँग भने, ‘एयरपोर्टको तल्लो लाइनमा चिया दोकानका कटेरा थिए, यहाँ भएका सबै स्कुलका विद्यार्थी उनको स्वागतमा एयरपोर्ट पुगेका थिए।’
सुवेदीका अनुसार भ्रमणमा राजा महेन्द्र र रानी रत्ना पनि सामेल थिए। राजा महेन्द्र र फिलिप एउटा र रानी रत्ना र एलिजाबेथ अर्को जिपमा थिए, उनीहरूको भव्य स्वागत भएको थियो।
‘शाही पाहुनाले पोखरामा एकरात बिताए। रत्नमन्दिरमा बस्दा उनीहरूले फेवाताल हेरे अरे, फिसिङ पनि गरे भन्ने सुनेको हो,’ डाक्टर अनिलले बाल्यकाल सम्झिँदै सुनाए, ‘अरू ठाउँ कहीँ गएनन्। तालको सफर गरे। त्यो बेला रानी एलिजाबेथ अगाडि र फिलिप पछाडि थिए। मेरो आमाको फोटो कसले खिच्यो भन्ने पनि थाहा छैन। आमाले रानीलाई पनि स्वागत गर्नुभएको कुरा सुनाउनुहुन्थ्यो। मेरी आमा स्वर्गे भएकै २०४ सालमा हो।’
अहिले रत्नमन्दिर त छ तर नेपालमा राजसंस्थाको अन्त्य भइसकेको छ। रत्नमन्दिरसँग जोडिएका कथा भन्नेहरू पनि कम भइसके। त्यसको २५ वर्षपछि पनि रानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिप नेपाल आए। बेलायतमा गोर्खा सेना स्थापना भएको १५० वर्ष पुगेको अवसरमा गोर्खा सेनाले आयोजना गरेको विशेष कार्यक्रममा भाग लिन उनीहरू ४ दिने भ्रमणमा नेपाल आएका थिए। उनीहरूलाई तत्कालीन राजा वीरेन्द्र र रानी ऐश्वर्यले स्वागत गरेका थिए।
प्रतिक्रिया