ad ad

ब्लग


जसले नाकाबन्दी लगायो उसैसँगको सेटिङमा संसद भंग?

जसले नाकाबन्दी लगायो उसैसँगको सेटिङमा संसद भंग?

डाचाराज वाग्ले
माघ १७, २०७७ शनिबार ४:७,

प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संविधान विपरित गरेको संसद् विघटनले सिंगो देश आक्रान्त र आन्दोलित बनेको छ। आम वौद्धिक जगत, नागरिक समाज, प्रमुख राजनीतिक दल, पेशागत संघ/संगठन, मानव अधिकारकर्मी, कानुनविद् सबै ओलीको प्रतिगामी कदमको विरुद्धमा छन्।

प्रधानमन्त्रीका शंसयपूर्ण र अराजक हर्कतविरुद्ध केही अघिदेखि नै सचेत र प्रबुद्ध समुदाय तथा राजनीतिक पार्टीबाट आबाज उठेको पनि हो। केपी ओली स्वयं अध्यक्ष रहेको तत्कालिन सत्तारुढ नेकपाभित्रै पनि ओलीको यसप्रकारको हर्कतका विरुद्ध तीखो संघर्ष भएकै हो।

ओली पूर्व एमालेको सर्वसम्मत अध्यक्ष होइन। निर्वाचनमा झिनो मतले मात्रै उहाँ अध्यक्षमा चुनिनु भएको हो। ओलीकै हाराहारीको मत प्राप्त गर्ने अर्का नेता माधव नेपाल र उहाँको सिंगो पक्ष ओलीको विरुद्धमा थियो र छ। ओलीलाई अध्यक्ष जिताउन प्रमुख भूमिका खेल्ने वामदेव गौतम ओली प्रवृत्ति विरुद्ध विगतदेखि नै अत्यन्त कडा रुपमा प्रस्तुत हुनु भएको थियो। ओलीलाई प्रम र पार्टी अध्यक्ष दुबै पदबाट हटाउनु पर्छ भन्ने प्रस्ताव सुरुमा गौतमले नै राख्नुभएको हो। नेकपाको अर्को पक्ष पूर्व माओवादी केन्द्रका एकाध अराजनीतिक र स्वार्थी व्यक्ति बाहेक लगभग सिंगो माओवादी केन्द्र ओली हरकतको विपक्षमै थियो र छ।

यसरी देशका प्रमुख राजनीतिक पार्टीहरु, बौद्धिक जगत, नागरिक समाज, आफ्नै पार्टीको दुईतिहाइ भन्दा बढिको ठूलो हिस्सा विपक्षमा हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले संविधान मिचेर संसद विघटनजस्तो हर्कत कुन तागतले, कसको आडभरोसामा गर्नु भएको होला? यो निकै गम्भीर प्रश्न छ।

कतिपय मान्छेहरुले ओलीमा रहेको शक्तिशाली शासक बन्ने अधिनायकवादी मनोकांक्षा पूरा गर्न गरिएको दुस्साहसिक कदमको रुपमा पनि संसद विघटनलाई लिने गरेका छन्। तर, उरन्ठेउलो बेलामा झापामा एकाध मान्छेको हत्या गर्नेबाहेक ओली आफैँले अरु दुस्साहसिक काम गरेको देखिँदैन। त्यसो भए ओलीले प्रयोग गर्ने औषधिको प्रभावको उत्तेजनामा यी सबै गतिविधि भएका हुन् त? यो पनि अर्को विचारणीय प्रश्न हो।

प्रधानमन्त्री एउटा व्यक्ति होइन, संस्था हो। त्यो संस्थामा सल्लाहकार हुन्छन्, विषय विज्ञहरु हुन्छन्। त्यसभन्दा पर सदर गर्ने राष्ट्रप्रमुख हुन्छन्। यस मानेमा यो संसद विघटनको सन्दर्भ शक्तिशाली अधिनायकवादी शासक बन्ने ओली सनकसम्म मात्र सिमित छैन।

दोस्रो संविधानसभाले ०७२ मा संविधान जारी गर्दाको बखत तीन थरी तत्व त्यसको विपक्षमा थिए। वामपन्थी जडसुत्रवादीहरु, राजावादी–धार्मिक कठमुल्लावादीहरु र नेपालको आन्तरिक मामलामा चलखेल गर्न पल्केको विदेशी तत्व। अहिले संसद विघटनपछि त्यस बखत संविधानको विपक्षमा रहेको वामपन्थीधार प्रष्टरुपमा ओलीमार्फत भएको प्रतिगमनको विपक्षमा खडा छ। बाँकी दुई थरी तत्व रहस्यमयी तरिकाले शिकार ढुकेर बसेजस्तो बडो शान्त देखिन्छन्।

०७२ को संविधानले दरबारिया सामन्ती शक्तिलाई मर्माहत बनाएको थियो। नेतृत्व गर्ने राजतन्त्रको अन्त्य भएपछि मर्माहत बन्ने नै भयो। हिन्दूत्वको नाममा शासन गरेको राजतन्त्रवादीहरु ०७२ को संविधान प्वाल पार्ने औजार खोजिरहेका थिए। नेपालको आन्तरिक मामिलामा मसिनोगरी चलखेल गरिरहेको विदेशी शक्ति ऊसँग सल्लाह र सहमती नगरी संविधान जारी भएकोमा अत्यन्त आक्रोशित थियो। नेपालमा भएको आफ्नो प्रभाव प्रयोग गरेर एकस्तरको आन्दोलन र नाकाबन्दी लगाउने स्तरसम्म ऊ पुग्यो। नाकाबन्दीको हरकतले ऊ एक्सपोज भयो र पछि हट्यो।

आफ्नो स्वार्थ र सहमतिबेगर जारी भएको संविधानविरुद्ध ऊ पनि थियो। संविधान प्वाल पार्ने खन्तीको खोजीमै थियो ऊ पनि। यसरी यी दुबैथरीले खोजेको संविधानरुपी जहाज प्वाल पार्ने खन्ती केपी ओली बने। अब क्रमशः दरबारिया, धार्मिक कठमुल्लावादी तत्व तथा विदेशी खासगरेर विस्तारवादको प्रभावमा रहेका तत्वहरु विभिन्न रुपमा क्रमशः ओलीका वरिपरी गोलबन्द हुने क्रम पनि सुरु हुने देखिन्छ।

यी सबका बावजुद पनि ओलि संसद बिघटन गर्न र पार्टी फुटाउने हदसम्म जान किन बाध्य भए भन्ने प्रश्न बढी महत्वपूर्ण छ। वास्तवमा ओली वरपरका मण्डलीले गरेको भ्रष्टाचारको बिपक्षमा रहेका निकाय ओलीको नजरमा बेकामे मात्र होइन, ती त अझ उहाँको काममा अवरोध गर्ने ठहरिए। बालुवाटारको जग्गा प्रकरण देखि यति होल्डिङ्स ठेक्का प्रकरण, वाइडबडी जहाज खरीद प्रकरण, ओम्नी समूहमार्फत स्वास्थ्य सामाग्री खरीद, जिटुजी प्रणाली अन्तर्गत भएको स्वास्थ्य सामाग्री खरिदको घोटाला, सेक्युरिटी प्रिन्टिङ मेसिन खरिद प्रकरणमा ७० करोडको कमिशन वार्ता तथा शंसयपूर्ण राजनीतिक नियुक्तिका (लेनदेनको आशंका) हर्कत् विरुद्ध बोल्ने प्रतिनिधिसभा र नेकपाको बहुमत पक्ष ओलीको यस प्रकारको यात्राका लागि निकै ठूलो तगारो बनेको थियो। जसको कारण ओलीले संसदको बिघटन र पार्टी बिभाजन गर्ने घातक कदम चालेको प्रष्टै छ।

हिजो निरंकुश राजतन्त्रको नाइके ज्ञानेन्द्र शाहीको विरुद्ध संघर्ष गर्दा उनी दरबार हत्याकाण्डबाट सत्तामा आएका हुन् भन्ने दृढ धारणा सहितका तथा राजतन्त्र विरुद्धको लामो संघर्षबाट प्रष्ट भएका जनता हामीसँग थिए। आज त्यो अवस्था छैन।

बडो प्रायोजित तरिकाले आफैँले नाकाबन्दी गर्ने, आफ्नै मान्छेलाई त्यसको विरोधी मोर्चाको पनि नायक बनाएर जनताको नजरमा ठूलो राष्ट्रवादी छवी बनाइदिएर अहिले संविधान विरुद्ध, अग्रगमनविरुद्ध ओलीलाईनै प्रयोग गरिँदै छ।

हिजो ०६२/०६३ ताका दरबार एक्लिएको थियो। आज दरबार, विस्तारवादी, साम्राज्यबादी र संविधान विरोधी प्रतिगमनकारी ओली गुटको बलियो गठजोड देखिन्छ । यो अहिले सतहमा देखिएको सामान्य समीकरण हो। हाम्रो जस्तो अग्रगामी शक्तिले प्रतिगामीहरुको समीकरण भत्काउनु पर्छ। जनताको आन्दोलन कमजोर भयो भने यिनीहरुको गठजोड झन् मजबुत हुन्छ। आन्दोलन तेज भयो भने यिनीमध्येकै कतिपय तत्व आफ्नो भोलीको स्वार्थका लागि आन्दोलनको पक्षमा आउन पनि बाध्य हुन्छन्।

अहिले आन्दोलनको माहोल बन्दै गएको छ। सचेत जनसमुदाय र जनताका प्रतिनिधिहरु आन्दोलनमा छन्। तर जबसम्म सबैभन्दा तल रहेका जनता ओलीको प्रतिगमनविरुद्ध उठ्दैनन् तबसम्म वास्तविक आन्दोलन हुँदैन। आन्दोलनको पक्षमा लाग्नको लागि हामीप्रति जनताका केही शंसयहरु छन्। केही प्रश्नहरु छन्। तिनको तथ्यपरक र चित्तबुझ्दो जबाफ हामीले दिन सक्नुपर्छ। जनताका शंसयपूर्ण आवाज सुन्नुपर्छ र जनताकै नजरले एकपल्ट आफैँतिर फर्केर हेर्नुपर्छ। हामीबाट भए–गरेका कमिकमजोरीप्रति क्षमायाचना गर्नुपर्छ र अब उप्रान्त त्यस्तो नगर्ने विश्वास जनतालाई दिलाउन सक्नुपर्छ। तब मात्रै जनता विस्वस्त हुन्छन्। त्यसपछि मात्रै आन्दोलनको आँधी सृजना हुन्छ। त्यस्तो आन्दोलनले मात्रै ठूलाठूला तानाशाहलाई उडाएर फालिदिन्छ।

असंबैधानिक तवरबाट ओलीले गरेको संसदको विघटन, राजनीतिक तिकडमबाजी, जालझेल, फट्याइँ, अहंकार तथा खिसिट्युरीयुक्त तुच्छ बचनहरुको एकोहोरो जबाफ अहिले हामीले सभाहरुमार्फत् दिइरहेका छौँ। यी विषयसँग जनतालाई खासै प्रत्यक्ष सरोकार छैन, भलै कहिँ कतै यसको महत्व पनि आफ्नो ठाउँमा होला। संसद विघटनले जनसमुदायको जीवन यापनमा पार्ने नराम्रा असर के हुन्? संसद रहँदा जनताको जीवनमा के कस्ता सकारात्मक प्रभाव पर्नेछन्? यी विषय १, २, ३ गरेर हामीले भन्न सक्नुपर्छ। हाम्रा ७ जना नेताहरु ओलीको मन्त्रीमण्डलमा लामो समयसम्म रहे। उनीहरुले जनसमुदायको हितमा के–के प्रस्ताव मन्त्रीपरिषद्मा लगेका थिए? ओलीले ती के–के कुरा लागू गर्न दिएनन्, ती सबै विषय १, २, ३ गरेर जनतालाई भन्न सक्नुपर्छ।

ओली सरकारमा रहेका हाम्रा मन्त्रीहरुले पनि र पार्टी भित्रबाट पनि विगतमा भएका गल्तिकमजोरीप्रति क्षमायाचना गर्नुपर्छ। अब चाहीँ प्रतिगमन परास्त भएपछि बन्ने सरकारले जनताको पक्षमा के–के काम गर्ने हो? त्यसको फेहरिस्त जनतालाई भन्न सक्नुपर्छ। यो विषय किन पनि महत्वपूर्ण छ भने, जनताका लागि ओली र अरु सबै उस्तै हुन्। यिनीहरु पनि सरकारमा हुँदा के चाहीँ गरे जनताका लागि? अथवा अहिले संसद नहुँदा के बिग्रेको छ? पुनस्र्थापना भयो भने के हुन्छ? यी र यस्ता जिज्ञासा आम जनतामा छन, त्यसको जवाफ पनि हामीले दिन सक्नु पर्छ।

ओलीको प्रतिगमनविरोधी आन्दोलनमा लागेका हामीप्रति पनि जनसमुदायका प्रश्नहरु छन्। केही ठोस प्रश्न जनताको माझमा जरो गाडेर बसेका छन्। जनताले त्यसको तथ्यपरक जबाफ खोजेका छन्। विभिन्न समयमा सरकारमा रहिसक्दा जनसमुदायले भोगेका समस्याहरु के–के रहेछन्? लामो समयसम्म सरकारमा रहँदा पनि ती समस्याको समाधान किन हुन सकेन? कतिपय गर्छु भनेर गरिएका बाचाहरु पनि पूरा भएका छैनन्। ती किन पूरा भएनन्? अब प्रतिगमन परास्त भएपछि जनसमुदायको पक्षमा के–के काम कुरा हुन्छ? त्यो पूरा गरिन्छ भन्ने विश्सनीय आधार के? गर्ने भनेका कामकुरा पूरा नगरेमा के गर्ने? अर्थात जनसमुदायको दैनिक जीवन यापनको सन्दर्भमा ओलीको प्रतिगामी तन्त्र कसरी खराब? र, हाम्रो अग्रगामी आन्दोलन कसरी जनहितैषी? यस्ता जिज्ञासा जनस्तरमा व्याप्त छन्। हामीले यिनको जबाफ दिनुपर्छ।

एउटा राजनीतिक नेतृत्वले गर्छु भनेका कतिपय काम विभिन्न खण्डखातिरले गर्दा पूरा नहुन पनि सक्छन्। तर जनताको नजरबाट हेर्दा ऊ त्यो काममा दत्त चित्त भएर लागेको र व्यक्तिगत स्वार्थ सिद्धिमा लागेको छैन, ऊ बेइमानीपूर्ण छैन भन्ने देखिनु पर्यो। यो सवालमा पनि हामीलाई जनताले शंसयपूर्ण नजरले हेरेका छन्, प्रश्न गरेका छन्।

न पुर्खौली धन–जेथा, न बन्दब्यापार, जनताको जीवनस्तर उकास्न राजनीतिमा लागेको भनिएको नेताको जीवनस्तर तडकभडकपूर्ण छ। जनताको जीवनस्थतर झन् झन् तल गिरेको छ। नेताजीको माथि–माथि अभिजात वर्गको जस्तो जीवनशैली बन्ने नजताको जीवन झन् पछि झन् खराब। यो कसरी भयो? कुरा सर्वहारा वर्गको अनि संगत, साइनो उठबस, सर–सम्बन्ध शोषक अभिजात वर्गसँग किन? जगतको आँखा छलेर गरिएका, तर लोकले छ्याङ्गै देखेका गलत क्रियाकलाप धेरै भएका छन्। त्यस्ता विषयमा जनताबाट औँँला ठड्याएका व्यक्तिलाई अब पार्टीले के गर्ने? यसको उत्तर हामीबाट जनताले खोजेका छन्।

राजनीति भनेको जनताले नबुझ्ने, जनताको प्रत्यक्ष जीवनसँग नजोडिने अमूर्त विषय होइन। जनताको दैनिक जीवनसँग सरोकार राख्ने र जनताको समग्र अप्ठेरा भोगाइहरुको सुबिचारित बैकल्पिक संस्लेषण हो, राजनीति। हरेक व्यक्तिले निजी जीवनमा गरेका क्रियाकलापको तार्किक विमर्श र उन्नत जीवन तर्फको यात्रा हो राजनीति। जनताको जीवनयापनसँग नजोडिएका कुराको वास्तवमा राजनीतिसँग साइनो सम्बन्धै नहुनुपर्ने हो। राजनीतिक आन्दोलन खराब भोगाइका विरुद्ध सुन्दर जीवनका लागि हुन्छ। प्रतिगमन विरोधी यो राजनीतिक आन्दोलनले केही सिमित टाठाबाठालाई मात्र होइन, आम दुःखी नेपाली जनसमुदायको जीवनस्तर सुन्दर बनाउनेछ भन्ने ठोस विश्वास हामीले जनतालाई दिलाउन सक्नुपर्छ।

एउटा सशक्त आन्दोलन उठ्न प्रतिगामी, जनविरोधी तत्वका खराब क्रियाकलाप मात्र पर्याप्त हुँदैन। आन्दोलनकारी पनि जनताको नजरमा विश्वसनीय हुनुपर्छ। जनताका शंसयको तथ्यपरक जवाफ र कमीकमजोरीप्रतिको विनम्र आत्मालोचनाले त्यो विश्वसनीयता बढाउँछ।

महत्वपूर्ण कुरा, आजको हाम्रो आन्दोलनको मुल नकारात्मक प्रवृत्ति भनेको राजनैतिक भ्रष्टाचार र त्यसको मुख्य संरक्षक ओली प्रवृत्तिनै हो। हामी त्यसैका विरुद्ध संघर्षमा छौँ। हामी भित्र पनि कुनै न कुनै रुपमा यो भ्रष्ट, अहंकारी, स्वैच्छाचारी, अराजक र प्रकारान्तरले प्रतिगामी ओली प्रवृत्ति छैन भन्न सकिन्न। माथी पनि भनियो, जनताले त औँला ठड्याएकै छन्। अहिले आन्दोलनको सुरुवाती चरणबाटै त्यस्तो प्रवृत्तिलाई पहिल्याएर त्यसका विरुद्ध खबरदारी गर्न सकिएन भने आन्दोलनमा त्यो तत्व अन्ततः झन् स्थापित हुनेछ। आन्दोलनको सफलतापछि त्यस्तै प्रवृत्तिका पात्र नेता हुने र फेरि एउटा चरणमा नयाँ नाममा फेरि अर्को ओली झनै शसक्त भएर प्रकटहुने संभावना रहन्छ। त्यसैले भ्रष्टाचार त्यसमा पनि राजनीतिक भ्रष्टाचार र गैर सर्वहारा प्रवृत्तिका विरुद्ध सुरुदेखि नै सचेत संघर्ष गर्न हिच्किचाउनु हुन्न। हामीले अब जोडदिएर भन्न सक्नु पर्छ–केपी ओलीको प्रतिगमन विरुद्ध हामीले गरेको आन्दोलनको सफलतामा फेरि अर्को ओली जन्मने आधार सकभर दिन चाहन्नौँ।

(वाग्ले आन्दोलनरत नेकपाका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज हुन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .