ad ad

ब्लग


नारायण गोपाललाई मदिरा खान नदिन कुरेर बस्यौं

नारायण गोपाललाई मदिरा खान नदिन कुरेर बस्यौं

कृष्णमोहन श्रेष्ठ
मंसिर १९, २०७७ शुक्रबार ११:१०,

कार्यक्रम चलाउने क्रममा नारायणगोपाललाई स्वरसम्राट र मह जोडीलाई हास्य जगतका बादशाह भनेछु। पछि धेरैतिर स्वरसम्राट भनेको सुनियो। पछि मेरा अग्रज तथा साथीहरुले भने, स्वरसम्राट पहिलो पटक तैंले भनेको होस् नि। मलाई गर्व लाग्यो तर दाबी भने गरिनँ। 
***
उनले रक्सी पिइदिए कार्यक्रम नै असफल होला भन्ने लाग्यो। त्यो बेला नारायण दाइलाई पिउन दिएनौं, अहिले सँगै बसेर पिउने मन छ तर नारायण दाइ छैनन्। अहिले भएको भए भन्ने थिएँ, दाइ पिएरै गाउनुस्।
बितेका कुराले केही चोट लाग्दा
तिमी टाढा हुँदा धेरै दुख लाग्छ ... 

दीप श्रेष्ठको यो गीत पहिलो पटक सुनेपछि विगतको बिछट्टै याद दिलायो। केही विगतभन्दा फरक गर्ने रस बस्यो। म स्कुल छँदादेखि बढी हास्यव्यंग्य र मुक्तक, कविता लगायतका साहित्यमा बहुत रुचि राख्थेँ। विशेष साहित्यिक गतिविधि हुने ठाउँका रुपमा चिनिएको पोखरामा म पनि साहित्यदेखि अपवाद भइनँ। साहित्यजस्तै पोखरा सङ्गीतमा पनि शिखरमै थियो। साथीहरु गीत गाउँथे, लेख्थे। तर किनकिन म भने त्यतिविधि गीतमा उत्साही थिइनँ।

जब दीप श्रेष्ठको ‘बितेका कुराले केही चोट लाग्दा’ गीत सुनेपछि गीत सुन्ने रस बस्यो। १७/१८ वर्षे ठिटोसँग चोट लाग्ने खालका विगत त थिएनन्, तर यादहरु भने थिए। यसले प्रभावित पा¥यो र म गीत सुन्ने भएँ। पछि दीप श्रेष्ठका गीत खोजीखोजी सुनेँ। नमजा लागेन बरु नेपाली आधुनिक गीत सङ्गीत सुन्ने रुचि नै बढ्दै गयो।

यहीँ ठाउँका धर्मराज थापा देशभर घन्किए। यहीँका झलकमान गन्धर्व ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्’ गीत गाउँदै गरेका भेटिन्थे। यहीँका सरोज गोपालका ‘देउराली उकाली चढेर’ हिट भए। यहीँका अरुण थापा ‘जति माया लाए पनि’ गाउँदै पोखरासँग सुखदुख साटे। निकै सुन्दर गीत लेख्ने विनोद गौचन साथी नै थिए। तर, म भने अरुमै बढी रुचि राख्थेँ। मेरो पारा नै अलि ठट्यौली थियो। हाँसीमजाकमा रमाउने। अहिले पनि त्यो बानी हटेको छैन।

दीप श्रेष्ठको फ्यान वा अझ भनौं आधुनिक गीतमा मोह जगाउने आदरणीय गायकको आफैं सहभागी भएर एकल साँझ नै गर्न पायौं। चालिसको दशकको मध्यतिर आसपासमा दीप श्रेष्ठलाई मञ्चमा उभ्याउने संस्था थियो, लियो क्लब अफ पोखरा। हामीले त्यो साँझको नाम दिएका थियौं–सुनगाभा फक्रेको साँझ। ‘सुनगाभा फक्रेको साँझ’ निकै उत्साहजनक भएकै कारण हामीमा उत्साह र ऊर्जा थपियो। मलाई दीप तीन पुस्ताका गायक लाग्छ । पुराना पुस्ता र नयाँ पुस्ताको पुल।

दीपबाट आधुनिक गीतले लगाएको मोहनी नारायणगोपालले त प्यासी नै बनाइदिए। नारायणगोपाललाई खुब सुनियो। तारादेवीसँगै नारायणगोपालले गाएको ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ असाध्यै मन पथ्र्यो। अहिले पनि उस्तै गुनगुनाउँछु। जबजब यो गीत सुन्छु र आफैंमा नियाल्छु। बढी ठट्यौले मलाई, यो गीत सुन्दा ठट्टैमा बैंस जानै लागे झैं लाग्छ।

मुखमै झन्डिने शब्द, शरीर नै तरङ्गीत बनाउने सङ्गीत र आवाजले गहिरोसँग डुबाउने उनको कला। नारायणगोपालका गीतले कहिल्यै बोर भइएन, बरु ती बोर लागेका बेला साथी बने। हुन त मैले नारायण गोपालका सबैजसो गीत सुन्ने मौका पाउँथिन, तर जति सुन्थेँ सुनिरहुँ लाग्ने। जतिजति नारायणगोपाल सुन्दै गएँ, उतिउति उनलाई भेट्ने र आँखाले गाएको हेर्न र सुन्न पाए हुन्थ्यो भन्ने मनले लोभ बढिरह्यो।

नारायणगोपाल पोखराका लागि नयाँ थिएनन्। उनको पोखरासँग गहिरो सम्बन्ध भएको हामीले सुन्थ्यौं। भूपी शेरचन र उहाँको दोस्तीको बारेमा सुनेकै हो। पोखरामै उहाँको संगतमा रहेको पनि थाहा थियो। तर, हामीले नारायण गोपालको गीतको भोक मेटाउन सकेका थिएनौं। त्यही मौकाको खोजीमा थियौं। हामीले नारायणगोपाललाई प्रत्यक्ष सुन्न र सुनाउन कस्सियौँ। यसपटकको कार्यक्रममा लियो क्लब अफ पोखराको सहयात्री थियो लायन्स क्लब अफ अन्नपूर्ण।

यो समूहमा थुपै्र थियौं। त्यतिबेला रमेश कर्मचार्य अध्यक्ष हुनुहुन्थ्यो सायद। दीपसँगको ‘सुनगाभा फक्रेको साँझ’ सफल भएपछि हामी दोस्रो पटक यही नाम दिएर नारायणगोपाललाई पोखरेली दर्शकसामु उभ्याउने पक्का भयो। आजाद श्रेष्ठ दाइलगायत केही नारायणगोपाललाई पोखरा ल्याउने मेसोमा लागे। कार्यक्रमको तयारीका लागि खटिनेमा सानोकाजी तझ्या, कृष्ण राजभण्डारी, सोनाम साङ्पो, विनोद गौचन, खिम गुरुङ, धुर्व श्रेष्ठ, अर्जुनजंग शाही, शिव रञ्जित, सरोज वैद्य, राजेन्द्र बजिमयलगायत थुप्रै थियौं। नारायणगोपाल पोखरा आउने पक्का भयो। उनीसँगै मह जोडीलाई पनि कार्यक्रममा पस्कँदै थियौं। मह जोडी अर्थात् मनदकृष्ण हरिवंश त्यतिबेला पनि हिट थिए। हामी पनि कार्यक्रम हिट हुनेमा ढुक्क थियौं।

२०४६ सालतिरको त्यो समय र त्यो समयको ऊर्जा अब चाहेर पनि आउँदैन। सम्झना आउँदा मजा आउँछ, आनन्द लाग्छ। ठाउँ तोकियो तत्कालीन दीपेन्द्र सभागृह, हाल यसलाई पोखरा सभागृह भनिन्छ। ‘जाग लम्क चम्क हे नौं जवान हो’ भन्ने राष्ट्रिय गीतले बोलेझैं जागिरहेका थियौं, उनलाई सुन्ने आतुरताले।

नारायणगोपाल आइपुगे पोखरा। मह जोडी पनि आइपुगे। उनीहरु त आइपुगे कार्यक्रम आइपुग्न अझै २४ घन्टा बाँकी थियो। नारायणगोपाल लगायत मह जोडीलाई स्वागत गरियो। मेरो ध्यान नारायणगोपालतिर मात्रै थियो। साथी कुसुमले भनेसी थाहा भयो। नारायणगोपाललाई सघाउन लोचन भट्टराई पनि सँगै आएकी रहिछन्। सिर्जनचोक नजिकै इन्द्रेणी होटलमा बस्ने चाँजोपाँजो मिल्यो। केही साथी अतिथिसँग बस्यौं, केही कार्यक्रमको अन्तिम तयारीमा लाग्यौं।

नारायण गोपाल पियक्कड छन्, नपिई गाउनै सक्दैनन् आदि कुरा सुनेका थियौँ। हामीलाई एउटा चिन्ता थियो, उनले बढी पिएर कार्यक्रममै आएनन् भने? सबै सपना तुहिन्छ। मान्छेले हामीलाई हेर्ने दृष्टिकोण नै फेरिन्छ। त्यस्तो भयो भने त बर्बाद हुन्छ भनेर हामीले नारायणगोपालको निगरानी गर्ने र धेरै पिउन नदिने सल्लाह गरेका थियौं। त्यो जिम्मा अध्यक्ष रमेश कर्माचार्यलाई थियो।

कार्यक्रम हुने दिन नारायण गोपाललाई जहाँजहाँ जान्छन् त्यहीँ र जहाँ बस्छन् त्यही सँगै बसेछन् कर्माचार्य। नारायणगोपालले सोधेछन्, ‘भाइ किन तिमी मसँगै हिँडिरहेका छौं, बसिरहेका छौं।’ रमेशले भनेछन्, ‘तपाईंजस्तो महान् कलाकारसँग बस्न पाउनु मेरो गर्व हो।’ नारायणगोपालले शंका व्यक्त गरिहालेछन्, ‘होइन होला मैले रक्सी खान्छु भनेर कुरिरहेको जस्तो लाग्यो।’ अस्ति भर्खर रमेश कर्माचार्यले फोनमा त्यो बेलाको कुरा सम्झाउँदा दुबै हास्यौं।

कार्यक्रम सुरु हुन लाग्यो। मान्छे सभागृहमा खचाखच थिए। चर्चित गायक नारायणगोपाल प्रत्यक्ष गाउँदै थिए, त्यसैमाथि मह जोडी। कार्यक्रम सञ्चालनको जिम्मेवारी पाएको थिएँ मैले। यो मेरा लागि गर्वको विषय र ऐतिहासिक जिम्मेवारी थियो। पहिले पालो नारायणगोपालकै थियो। मञ्च सुरु हुनु अगाडि नै मैले नारायणगोपाललाई खुसुक्क भनेको थिएँ, ‘अलिकति त्यो चिज पनि व्यवस्था गरेको छु, तर कार्यक्रम सकिने बित्तिकै रमाउनुपर्छ है।’ ‘हुन्छ हुन्छ केही छैन, मलाई अहिले पर्दैन’ नारायणगोपालको उत्तर आयो।

दुई वटा गीत के गाउनु भएको थियो, मलाई इशारा गरेर आफैं मञ्चको पछाडिपट्टी आए। अघि मैले कानमा सुटुक्क भनेजसरी नै साउती मारे, ‘भाइ मलाई त्यो व्यवस्था गर्न पर्‍यो, नत्र म गाउन सक्दिनँ।’ मैले साथीभाइलाई भने। २–४ मिनेटमै आइपुग्यो। २–४ घुटुक लोकल पिएर गएपछि फेरि माहौल जमिहाल्यो। 

देशका ठूला गायक, कलाकारका अघिल्तिर उभिएर कार्यक्रम चलाउनु मेरा लागि चुनौतीपूर्ण काम थियो। त्यतिबेला म अलिकति नर्भर र अलिअलि उत्साहित थिएँ।

जिन्दगीमा नसोचेको कार्यक्रम चलाउन पाएकोले गृहकार्य राम्रै गरेको थिएँ। कार्यक्रम चलाउने क्रममा स्वरसम्राट नारायण गोपाल र मह जोडीलाई हास्य जगतका बादशाह भनेछु। त्यो भन्छु, भनेको थिइनँ, मुखबाट फ्याट्टै फुत्यो। कार्यक्रम सकियो। मैले पहिले नारायणगोपाललाई स्वरसम्राट भनेको सुनेको थिइनँ।

पछि धेरैतिर स्वरसम्राट भनेको सुनियो। पछि मेरा अग्रज तथा साथीहरुले भने, स्वरसम्राट पहिलो पटक तैंले भनेको होस् नि। मलाई गर्व लाग्यो, तर दाबी भने गरिनँ।

त्यो कार्यक्रमको स्मरण ताजै थियो। त्यसको २ वर्षपछि नारायणगोपाल हामीबाट कहिल्यै नफर्कने गरी समाधिमा गए। त्योबेला नारायण दाइलाई पिउन दिएनौं, अहिले सँगै बसेर पिउने मन छ, तर उनी नै छैनन्। अहिले भएको भए भन्ने थियौं, दाइ टन्न पिएर गाउनुस्। नारायणगोपालसँगको छोटै भेटमा पनि लागिरह्यो, हाम्रो चिनारी धेरै पुरानो हो। जब सम्झनामा त्यो कार्यक्रम र नारायणगोपाल आउँछन् उनकै यो गीत गुनगुनाउन मन लाग्छ-

चिनारी हाम्रो धेरै पुरानो भएझैं लाग्दछ
नदेखे पनि भेट सधैँसधैँ भएझै लाग्दछ

(नेपालखबर अर्काइभबाट। अमृत सुवेदीले कृष्णमोहन श्रेष्ठसँग गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .