ad ad

ब्लग


बाइडेनको पहिलो भाषण जब चीनमा भाइरल बन्यो

बाइडेनको पहिलो भाषण जब चीनमा भाइरल बन्यो

चेतनाथ आचार्य
कात्तिक २७, २०७७ बिहिबार १६:११,

सामान्यतः चिनियाँ नागरिक अमेरिकाको चुनावमा चासो राख्दैनन्। अमेरिका मात्र होइन, कुनै पनि देशको निर्वाचनप्रति उनीहरूलाई मतलब हुँदैन। अमेरिकामा जो राष्ट्रपति भए पनि उसले चीनप्रतिको नीतिमा खासै परिवर्तन नगर्ने भएकाले अमेरिकामा हुने चुनाव चिनियाँका लागि चासोको विषय नबन्नु स्वाभाविक पनि हो। तर यसपटकको निर्वाचन भने अपवाद बनेको छ।

चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध कायम गरिएको ५० वर्षमा दुई देशबीचको सम्बन्ध सबैभन्दा तल्लो बिन्दुमा ओर्लिएको छ। चिनियाँ सामानमा अमेरिकाले गरेको भन्सार वृद्धि र चिनियाँ नागरकिप्रति गरिरहेको भेदभाव तथा लगाइरहेको लाञ्छनाका कारण चीनले आफूलाई पीडित ठानेको छ। विश्वव्यापी रूपमा लोकप्रिय चिनियाँ प्रविधि रोक्न अमेरिकाले अन्य मुलुकलाई समेत दबाब दिइरहेको छ। चिनियाँ व्यवसायीलाई विदेश गएका बेला धरपकड गर्ने र झुटा मुद्दा लगाउने अमेरिकाको छलकपटले पनि चीनलाई हैरान बनाएको छ।

सुनिने होइन, देखिने कूटनीति अपनाइरहेको चीनले पछिल्लो सयम बाध्य भएर अमेरिकाको प्रतिवाद गर्न थालेको छ। अमेरिकाकै कारण अब चिनियाँ कूटनीति सुनिने पनि हुन थालेको हो। चीनले विश्वका सबैसँग भाइचारा सम्बन्ध स्थापना गर्दै सहकार्य गर्ने नीति लिएको छ। साझा हित र साझा जित चीनको नारा हो। चीनको यो अभियानमा सबैभन्दा ठूलो चुनौती पनि अमेरिका नै बनेको छ।

अमेरिकाले चीनविरुद्ध मोर्चाबन्दी गर्ने र चीनलाई अप्ठ्यारो बनाउने उद्देश्यले विश्व स्वास्थ्य संगठन, विश्व व्यापार संगठन, जलवायु परिवर्तनजस्ता महत्वपूर्ण अन्तर्राष्ट्रिय संस्थालाई असहयोग गर्ने नीति ल्याएको छ। कतिपय मञ्चबाट त ऊ बाहिरी पनि सकेको छ। विश्वमा देखिएका महत्वपूर्ण विषयमा हातेमालो गर्नुपर्नेमा यसरी अमेरिका बाहिरिएपछि ती क्षेत्रमा आफूले नेतृत्व गर्नुपर्ने बाध्यता आइपर्नु र सहकार्य तोडिँदै जानुले चीन गम्भीर बनेको हो।

उल्लिखित प्रतिकूल अवस्था अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिर्जना गरेका हुन्। ट्रम्पले थालनी गरेका तमाम खराब नीति आफू राष्ट्रपतिमा निर्वाचित भएमा खारेज गर्ने वाचा जो बाइडेनले चुनावताका गरेका थिए। त्यसकारण चिनियाँ नागरिकले बाइडेनको जितको कामना गर्नु स्वाभाविक बनेको हो।

राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले गत आइतबार अपराह्न सम्बोधन गरे। जुन भाषण चिनियाँ विइपोको माइक्रो ब्लगिङमा टप ट्रेन्डिङमा पर्‍यो। बाइडेनको सम्बोधनको भिडिओ हेर्ने/सुन्ने चिनियाँ नागरिकको संख्या ८० करोड पुगेको छ। सामान्यतः विदेशी राजनीतिक नेताको सम्बोधनलाई यति धेरै चिनियाँले सुनेको/हेरेको सम्भवतः यो पहिलोपटक हो।

यसपटकको अमेरिकाको चुनावलाई चिनियाँ सञ्चारमाध्यमले पनि निकै प्राथमिकता दिएर टिप्पणी प्रकाशन गरेका छन्। चिनियाँ सञ्चारमाध्यममा चेतावनीसहितको आशावादी धारणा व्यक्त भएको पाइन्छ। चीनको सरकारी पत्रिका पिपुल्स डेलीको भगिनी प्रकाशन ग्लोबल टाइम्सले लेखेको छ- ‘जो बाइडेनको विजय चीन-अमेरिका तनावको संक्रमण काल सकिने र उच्चस्तरीय संवादबाट आपसी रणनीतिक विश्वास पुनःस्थापना गराउने एउटा अवसर हुन सक्छ।’

अगाडि भनिएको छ- ‘दुवै राष्ट्रले जलवायु परिवर्तनका समस्या र कोरोनाविरुद्ध खोप विकासलगायत विषयमा संयुक्त रूपमा काम गर्न सक्छन्। किनभने विदेश मामिलामा बाइडेन ट्रम्पभन्दा नरम र परिपक्व छन्। चुनावको नतिजासँगै अमेरिकाबाहेकका मुलुकका नेताले आनन्दको सास फेर्न थालेको सुनिएको छ। ट्रम्पले लिएको एकात्मकता र संरक्षणवादविरुद्ध बहुपक्षीयतालाई पुनःस्थापित गराउने कुरा चुनावताका बाइडेनले भनेका थिए।’

चीनको क्वाङतोङ प्रान्तबाट प्रकाशन हुने दक्षिणी दैनिक साउदर्न डेली पत्रिकाले विइपोमा लेखेको छ– ‘बाइडेनले अमेरिकाका लागि सबैभन्दा ठूलो वैदेशिक चुनौती रुसलाई मान्नुपर्छ, चीनलाई होइन। हामीमा यसबारे कुनै भ्रम हुनु हुँदैन।’

चिनियाँ सर्वसाधारणको चाहिँ राजनीतिक मुद्दामा उत्तिको चासो छैन। उनीहरूको इच्छा व्यापार युद्ध अन्त्य होस् भन्ने मात्र छ। यसबाट व्यापार युद्धले चीनको अर्थतन्त्रमा असर पारेको कुरा प्रस्ट हुन्छ। अमेरिकाले चीनविरुद्ध लगाएका आरोप धेरै छन्।

चीनको मानव अधिकार, हङकङ मामिला, धार्मिक स्वतन्त्रताका नाममा सिन्चियाङमा अमेरिकाले गरेको हस्तक्षेप, तिब्बती पृथकतावादीलाई सहयोग, ताइवानलाई हतियार आपूर्ति यी सबै विषयलाई चिनियाँ सर्वसाधारण राजनीतिक ठान्छन्। यसर्थ त्यहाँ राष्ट्रपतिमा जोसुकै निर्वाचित भए पनि यी विषयमा अमेरिकाको नीति परिवर्तन नहुनेमा चिनियाँ स्पष्ट छन्। यी सवाल तत्काल सिर्जना भएका पनि होइनन्, चीनविरुद्ध अमेरिकाले लामो समयदेखि औंला उठाइरहेका विषय हुन्। त्यसो त चीनले पनि अमेरिकाले कहाँ–कहाँ मानव अधिकार हनन गरेको छ भन्ने विषयमा वार्षिक प्रतिवेदन नै सार्वजनिक गर्ने गरेको छ।

व्यापार युद्धचाहिँ ट्रम्प राष्ट्रपति भएपछि सिर्जना भएको सबैभन्दा अहम् सवाल हो। योचाहिँ राजनीतिक नभएर सर्वसाधारणलाई पनि चाँडै छुने विषय भएकाले सबैको चासो बनेको हो। अहिले पनि अमेरिका, चीनको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक हो। यी दुई देशबीचको व्यापारमा चीनलाई नाफा र अमेरिकालाई नोक्सान भइरहेको छ। यसैकारण अमेरिकाले आफ्नो व्यापार घाटा कम गर्न भन्सार कर वृद्धि गर्दा सर्वसाधारण चिनियाँले उपभोग गर्ने तोफु र बंगुरको मासु महँगिएको हो। चीनले भटमास र बंगुरको मासु सबैभन्दा धेरै आयात अमेरिकाबाट गर्छ।

सन् १९८० को दशकअगाडि धेरै चिनियाँमा अमेरिकाप्रति घृणा थियो। सांस्कृतिक क्रान्तिको समयमा त चिनियाँ नागरिकलाई अंग्रेजी बोल्न/पढ्न प्रतिबन्धजस्तै थियो। तर १९८० पछिको चिनियाँ पुस्तामा अमेरिकाप्रति गज्जबको मोह छ। चिनियाँ नयाँ पुस्ताले अमेरिका गएर विश्वविद्यालयमा पढ्न पाउनु सबैभन्दा ठूलो उपलब्धि मान्न थालेको छ। बालबालिकालाई महँगो शुल्क तिरेर अंग्रेजी भाषाको ट्युसन पढाउनुलाई यहाँका अभिभावक गौरव मान्छन्।

Biden China
बेइजिङमा सन् २०१३ मा चिनियाँ विद्यार्थीसँग बाइडेन (ह्वाइट हाउस)

चिनियाँ नागरिकका लागि अमेरिका कत्तिको महत्वपूर्ण भूमि हो भन्ने कुराको सानो उदाहरण चीनमा बिहे गर्दा राखिएका सर्तबाट पनि थाहा हुन्छ। अमेरिकामा पढेर फर्किएका चिनियाँ युवती/युवकलाई बिहेका लागि जोडी पाउन सजिलो हुन्छ। त्यसकारण ‘म्यारिज ब्युरो’ जस्ता एजेन्सीले प्राथमकिताका साथ ‘अमेरिकामा पढेको’ भनेर विज्ञापन गर्छन्।

चिनियाँ नयाँ पुस्तामा अमेरिकाप्रति जतिसुकै मोह भए पनि राष्ट्रभक्ति र चिनियाँ संस्कृति भने सदाबहार रहन्छ। उनीहरूमा राष्ट्रप्रतिको प्रेम कतिसम्म हुन्छ भन्ने कुराको एउटा उदाहरण हेरौं। एकजना चिनियाँ नेता चीनमा अर्बाैं भ्रष्टाचार गरेर अमेरिका भागेका थिए। उनलाई चिनियाँ अदालतले मृत्युदण्डको सजाय सुनायो। वर्षाैं अमेरिका लुकेर बसेका ती व्यक्तिलाई केही वर्षअगाडि गिरफ्तार गरेर चीनमा फिर्ता ल्याइयो। त्यस क्रममा चीनको विमानस्थल ओर्लनेबित्तिकै ती व्यक्तिले जमिनमा टाउको राखेर कराए, ‘आफ्नै मातृभूमिमा मर्न पाउँदा म खुसी छु मेरी आमा।’

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि चीन र चिनियाँप्रति सक्दो घृणा फैलाउने हर्कत गरिएको छ। चिनियाँ विद्यार्थीलाई अमेरिकामा पढ्न दिइने भिसामा कडाइ गरिएको छ। अमेरिकाका विश्वविद्यालयमा समेत यसको असर परेको छ। ती विश्वविद्यालयको मुख्य आयस्रोत नै चिनियाँ विद्यार्थी मानिन्छ। त्यसैगरी गत वर्ष अमेरिकामा भएको अन्तरिक्षसम्बन्धी वैज्ञानिक सम्मेलनमा जान खोज्दा चिनियाँ वैज्ञानिकलाई भिसा दिइएन। ट्रम्पले अमेरिका प्रवेशका लागि चिनियाँ नागरिकलाई दिइने भिसाको समयसीमा पनि घटाइदिए।

ट्रम्स राष्ट्रपति भएपछि नै चीन र अमेरिकाबीच व्यापार युद्ध चर्किएको हो। यसबाट कसैको जित नहुने र दुवै देशले हार्ने कुरा चीनले बारम्बार भनेर अमेरिकालाई बुझाउन खोज्यो। तर ट्रम्पको ‘अमेरिका फर्स्ट’ नाराले अन्ततः उनी आफैंलाई खाल्डोमा हाल्यो। अमेरिकासँगको व्यापार युद्धकै कारण चीनलाई आर्थिक रूपमा अप्ठ्यारो भएको कुरा सन् २०१९ मार्चमा यहाँको राष्ट्रिय जनकंग्रेसको अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङले प्रस्तुत गरेको सरकारी कार्य प्रतिवेदनमा उल्लेख छ। त्यो बेला प्रधानमन्त्री लीले यही सन्दर्भमा चीन अत्यन्त कठिन समयमा रहेको उल्लेख गरेका थिए।

व्यापार युद्ध जारी रहेकै बेला चालु वर्षको सुरुमा देखापरेको कोरोना भाइरसले दुई देशबीचको द्वन्द्वको आगोमा घिउ थप्ने काम गर्‍यो। डोनाल्ड ट्रम्पले कोरोनालाई ‘चाइना भाइरस’ भनेर चीनलाई होच्याउने काम गरे। उनी यतिसम्म पूर्वाग्रही भए कि आफैंलाई कोरोना संक्रमण नहुँदासम्म मास्क लगाएनन्। अमेरिकामा कोरोना नियन्त्रण गर्न नसकेको भनेर उनीविरुद्ध जति आरोप लाग्दै गयो उति नै उनले गैरजिम्मेवार भनाइ राख्न थाले। चीनले भाइरस बनाएर विश्वमा फैलाएको आरोप लगाउँदै त्यसको जिम्मेवारी चीनले लिनुपर्ने र क्षतिपूर्ति दिनुपर्नेजस्ता हास्यास्पद र आपत्तिजनक अभिव्यक्तिसमेत ट्रम्पले दिए। ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले पनि उनकै भनाइ बारम्बार दोहोर्‍याए।

ट्रम्पका वचनले चीनका नेता मात्र होइन, आम सर्वसाधारणको मनमा समेत नराम्ररी ठेस पुर्‍याएका छन्। यसका उदाहरण चिनियाँ सामाजिक सञ्जालमा बग्रेल्ती भेटिन्छन्। उल्लेखनीय के छ भने चीनमा अमेरिकालाई जतिसुकै घृणा गरिए पनि चीन सरकारले अमेरिकी व्यवसाय र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गरेको छ। अहिलेसम्म कुनै पनि अमेरिकी व्यवसायीविरुद्ध कुनै किसिमको नकारात्मक व्यवहार भएको छैन। यसले पनि चीन सरकार तथा चिनियाँ नागरिक जिम्मेवारपूर्ण व्यवहार गर्छन् भन्ने पुष्टि गरेको छ।

अरू विषय तपसिलका भए पनि बाइडेनले अमेरिका र चीनबीच चर्किएको व्यापारिक द्वन्द्व बुद्धिमत्तापूर्वक अन्त्य गराउँछन् भन्नेमा चिनियाँ नागरिक आशावादी छन्। बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भइरहँदा चिनियाँ विइपोमा सन् २०११ मा उनले चीन भ्रमण गर्दाका तस्बिर राखिएका छन्। त्यतिबेला उनी अमेरिकाका तथा सी चिनफिङ चीनका उपराष्ट्रपति थिए। समकक्षीका रूपमा बाइडेन र सीबीचमा सद्भावपूर्ण सम्बन्ध थियो। संयोग अहिले दुवै जना राष्ट्रपति भएकाले चर्किएको द्वन्द्व समाधान गर्ने अवसर आएको पनि ठानिन्छ।

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .