प्रिय भूषिता वशिष्ठ,
केही साातायता मेरो लेखन कोरोना महामारीबारे केन्द्रित भइरहेको छ। अब पुग्यो।
कोरोनाले विश्राम लेओस्/नलेओस्, म भने त्यसबाट अब विश्राम लिन चाहन्छु। कोरोनाले विश्वलाई थकाएको छ, म बबुरो नगल्ने कुरै भएन। गलें।
अब मलाई अलिकति जीवन र छन्दका विषयमा कुरा गर्न मन छ। यसका लागि तपाईंभन्दा उचित पात्र यतिबेला कोही भेटिनँ, भूषिता।
यसैले म आज टाढाबाट तपाईंका नाममा यो स्तम्भ लेखिरेहको छु। अन्यथा वा असजिलो नमान्नुहोला। त्यस्तो केही भए कृपया मलाई माफ गर्नुहोला।
बडो सरल मन, भाव र चेतका साथ म यो लेखिरहेको छु।
म यस्तो एउटा मान्छे हुँ, जो आफ्ना भाव र अरूका चेतसँग बेलाबेला तर्सिरहन्छ। अरू मेरो परिचय तपाईंले थाहा पाउँदै गर्नुहोला।
केही महिनादेखि म तपाईंलाई सुनिरहेको छु, त्यो पनि छन्दमा। खासगरी पलेंटीमा।
तपाईंजस्तो म छन्दका रूप र रङ त्यति जान्दिनँ। तर खै कुन्नि किन हो, म छन्द भनेपछि हुरुक्कै हुन्छु। छन्दले मेरो मन, भाव र चेत, तीनै चिजलाई एकैचोटि बिथोलिदिन्छ।
कहिलेकाहीं शब्दका अर्थ, लयले निर्धारण गर्दारहेछन्। शब्द बलिया भएका बेला त कुरा बेग्लै भए, नत्र शब्द कमजोर भएका बेला पनि म छन्द र लयका अगाडि हार खान्छु।
छन्दमा जुन लय हुन्छ, त्यो मलाई यस्तो लाग्छ– दिमागबाट होइन, आत्माबाट आइरहेको छ।
प्रिय भूषिता,
तपाईंको उमेर मलाई थाहा छैन। तर अहिले नै तपाईंको यत्तिको छन्द चेतसँग म नतमस्तक छु।
म हजुरआमाका श्लोकमा रमाईरमाई हुर्किएको मान्छे। हजुरआमा गोठमा राति हामीलाई श्लोक सुनाउनुहुन्थ्यो। हात्ती/घोडालाई सिक्रीले बाँध्ने, चरा चुरुंगीलाई सुतरीले र मान्छेलाई वचनले बाँध्ने भावका श्लोक छन्दमा सुन्थ्यौं, हजुरआमाका मुखबाट।
हजुरआमाका मात्र होइन, मामाका पनि यस्तै–यस्तै छन्द वाचनमा हुर्किएको मान्छे म।
मलाई आज पनि कता-कता भ्रम छ, छन्द पाका उमेरका मानिसको मात्र रुचिको विषय हो। र, त्यो उनीहरूलाई मात्रै सुहाउँछ।
तर होइन रहेछ।
तपाईंजस्ता उमेरकालाई झन् बढ्ता सुहाउँदो र खुल्दोरहेछ। बल्ल आज बुझ्दै छु, तपाईंका वाचन सुनेपछि। तपाईंजस्तो मान्छेले छन्दका भाव र चेत पक्रेर त्यसैका भावभंगीमा कविता वाचन गरेको म आज टाढाबाट बडो रुचिपूर्वक हेरि/सुनिरहेको छु।
भिडियोः
कृपया यसलाई निरन्तरता दिनुहोला।
हेर्नुस्, मान्छेले जीवनमा आफूलाई खुसी राख्ने जम्माजम्मी दुईवटा कला मात्रै रहेछन्: १) प्रभावमा पार्न सक्ने र, २) प्रभावमा पर्न जान्ने।
खैर, म दोस्रोमा पर्छु।
प्रभाव- भाव, चेत र व्यवहार, जे मा पनि हुन सक्छ।
कि तपाईं आफ्ना भाव, चेत र व्यवहारले अरूलाई प्रभावमा पार्नुस् कि त आफू अरूका भाव, चेत र व्यवहारबाट सही हिसाबले प्रभावित हुन जान्नुस्।
बस्, संगीत, सिर्जना, लेखन सबैको सार यही हो। लय र छन्दको सार पनि यही हो।
अधिकारका लागि मुठ्ठी कस्नु बेग्लै कुरा, मलाई किन-किन नारीमा छन्द, लय र लचकता भएको मनपर्छ। म यसो भनेर हल्काफुल्का कुरा गरिरहेको छैन। यसो भनेर म नारीलाई सौन्दर्यको कोठरीमा कैद गर्न खोजिरहेको छैन। म वारिको होइन, पारिको कुरा गरिरहेको छु, भूषिता।
वारि अर्थात् दैनन्दिनको भौतिक जीवन, पारि अर्थात् आत्मिक, भावनात्मक, छन्दात्मक, सौन्दर्यात्मक र सन्तुष्टिको जीवन। पारिको जीवन, भौतिकतासँग त्यत्ति सम्बन्धित छैन। हो, त्यही पारिको जीवनको मूल्य, ओ हो, बहुमूल्य पो छ त!
फेरि पनि मलाई माफ गर्नुहोला, तपाईं रूप र रङमा कता-कता तसलिमा नसरिनजस्तो देखिनुहुन्छ। आँट र विश्वास पनि उस्तै हुन सक्छ। तपाईं नसरिनजस्तै विद्रोही र घोर अधिकारवादी हुनुहुन्छ कि हुनुहुन्न, मलाइ थाहा छैन।
तर म निश्चिततासाथ भन्न सक्छु- संसार सधैं विद्रोही चेतले मात्र होइन, तपाईंजस्ताका भाव र छन्दको साैन्दर्य चेतले बढी रोमाञ्चक र शान्त बन्छ। बढी रसिलो हुन्छ।
तपाईं अंग्रेजी साहित्यको विद्यार्थी, तर संस्कृतका श्लोक र छन्दमा रुचि। अंग्रेजी र संस्कृत मिले, ज्ञान र साहित्यमा यसलाई जित्ने अरू के होला र यो दुनियाँमा?
कोरोना महामारीबाट हामीले सिकेको एउटा पाठ के हो भने हामीलाई बचाउने भौतिकता होइन, भावना रहेछ; शब्द, भाव, छन्द र लय हाे रहेछ।
शब्दमा भाव र अर्थ हुन्छ। अनि छन्द र लयमा ‘एक्सप्रेसन’।
हो, हामीलाई चाहएिको यत्ति हो।
यसले भाव मात्र होइन, शरीरकै इम्युन सिस्टम (प्रतिरक्षात्मक प्रणाली) बढाइदिन्छ, भूषिता।
आज हामीलाई शरीरको मात्र होइन, भावको पनि रोग-प्रतिरोधी क्षमता बढाउनुछ।
त्यो क्षमता, शब्द, छन्द, लय र संगीतमा छ। नृत्यमा छ। शब्द सिकौं। भाव बुझौं, छन्द समातौं र लयमा बाँचौं।
भावका दृष्टिले हामी असाध्यै कर्कश र विरूप हुँदै गएका छौं। हामीले आफ्ना लय र छन्द गुमाउँदै गएका छौं।
यसलाई जोगाउन र हामीलाई बचाउन तपाईंले गरेका प्रयासबाट म आल्हादित छु।
यो कोरोना कहरमा म आज तपाईंका छन्दमय आवाज सम्झिरहेको छु, टाढाबाट। र, अझै अरू सुन्न र बुझ्न चाहन्छु। कृपा गर्नुहोला।
एउटा अपरिचित मित्र
सन्जय घिमिरे, टेक्सास, अमेरिका
भूषिता वशिष्ठका कविताहरू यहाँ भिडियोमा हेर्न सकिन्छः
प्रतिक्रिया