गाउँ छोडेर सहर पसेजस्तो सजिलो हुन्थ्यो परदेश लाग्न भने म उहील्यै हिँडिसक्थेँ। सजिलो छैन, यही देशमा छु। तर यो सहर पनि त म जन्मिएको माटो होइन। म जन्मिएको ओखलढुंगाको विकट बस्ती मेरो जीवनयापनका लागि सहज थिएन, गाउँको माया गरेर म त्यहीँ बस्न सकिनँ। त्यसपछि सहर पसेकी हुँ। म यतै छु। हिजोआज ओखलढुंगामा हाम्रो केही छैन। मेरो गाउँ भन्नुबाहेक अपनत्व पोख्ने अर्को केही छैन। बेलाबेला गाउँ पुग्दा पाहुना लाग्नु पर्छ। तर, गाउँ बिरानो लाग्दैन छातीमा।
हो, सहरमा जति अवसर, जीवन बाँच्ने विकल्प र सुगमता हुन्थ्यो भने म पनि जन्मिएको गाउँ छोड्दिनथेँ। आँखा झिमिक्क पारिसक्दा मन उडेर उही भिरमा पुगिसकेको हुन्छ। कोदो मात्रै फल्ने बारीमा नाँचिरहेको हुन्छ। देश छोडेर हिँडेकालाई पनि सायद यस्तै हुँदो हो।
देश छोड्नेको लर्को, छोड्न चाहनेको दौडधुप सबै सबै देखेकी छु। यहाँको संस्कार, अझै भनौँ, कुसंस्कारको थेग्नै नसक्ने भारले बेला–बेला देश छोडिहिँड्ने सोच र सपना म आफैमा पनि आएकै हुन्छ। त्यसैले मलाई यो देश छोडेर हिँडेकाप्रति न गुनासो छ न रिस। जन्मिएको देश र आफन्त छोडेर हिँड्ने सबैका आ–आफ्नै विवशता होलान्। देशमै बसेका सबै देशकै माया लागेर मात्रै पनि बसेका होइनन्। तर, देश छोड्ने र देशमै हुनेहरुको भनाबैरी पटक्कै मन पर्दैन।
देश छोडेर हिँडेकाहरु बेला–बेला ठूलो पौरख गरेको घमण्ड पोखिरहेका हुन्छन् सामाजिक सञ्जालमा। अझ विकसित देश पुगेकाहरु त्यही देश जस्तो नेपाल भएन भनेर यहाँको सिस्टम, राजनीति, यहाँका मानिसहरुप्रति विषवमन गरिरहेका हुन्छन्। सामाजिक सञ्जालमा देश छोड्ने र देशमै हुनेहरुबीचको दोहोरी देखिएकै हो। प्रेम बानियाँ, रामप्रसाद खनालहरुका फेसबुक सर्च गरेर हेर्ने हो भने आज पनि स्वाभिमान र अवसरवादको लडाइँ देख्न सकिन्छ। यो कतिलाई रमाइलो लाग्ला, कतिलाई नमिठो।
पछिल्लो समय सामाजिक सञ्जालमा त्यस्तै कसैलाई बिझाउने, कसैलाई आहा! लाग्ने भाषण चर्चामा छ। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनमा नेतृ रामकुमारी झाँक्रीले पोखेको आक्रोशले सामाजिक सञ्जाल अहिले दुई कित्तामा विभाजित छ। गैरआवासीय नेपालीलाई दिएको नागरिकतालाई सहभागीले ‘कागजको खोस्टो’ भनेपछि रामकुमारी झाक्रीले खरो शैलीमा एनआरएनहरुलाई गाली गरेकी छिन्।
रामकुमारीको उक्त भनाइलाई लिएर अहिले विदेशमा रहेका थुप्रै नेपालीहरुले मन दुखाइरहेका छन्। तर, रामकुमारीले देशबाहिर बसेका सबैलाई सम्बोधन नगरेको बताएकी छिन्। कार्यक्रममा केही एनआरएनहरूले गैरआवासीय नेपालीले पाउने नागरिकताको सन्दर्भमा क्रुद्ध लवजमा प्रश्न राख्दै अतिथिहरूलाई फाँसी हुने चेतावनीसमेत दिएका थिए।
जवाफमा झाँक्रीले राम्रोसँग भनेकी छिन्, ‘तपाईंहरूले पैसा कमाउनु भएको छ, सीप छ, बाहिर सिकेको कुरालाई सुझावको रुपमा राख्नुस्। त्यहाँको सिस्टम, कानुन निर्माण र त्यसको कार्यान्वयनको विषय नेपालको विकास र सुधारका लागि काम लाग्छ त्यो कुराहरू राख्नुस्।’
एकाथरीले झाँक्रीको अभिव्यक्तिप्रति ताली पिटिरहँदा अर्कोथरीले प्रश्न गरिरहेका छन्, विदेशमा भएका हामीले पैसा पठाएर देश चलिरा’छ, नत्र तिमीहरू कसरी बाँच्थ्यौ? विदेशमा बस्ने तपाईंहरुलाई रामकुमारीहरुका भाषणले जति मन दुख्छ, तपाईंहरुको धम्कीले देशमै बसिरहेका हाम्रो पनि त मन दुख्दो हो। देश छोड्नु तपाईं–हाम्रो बाध्यता थियो। देश छोड्नु भयो। विकसित देशमा बस्नु भयो। जन्मिएको देशको नागरिकता र पासपोर्ट त्यागेर त्यही देशको नागरिक बन्नु भयो। तपाईंलाई कानुनले गैरआवासीय भन्छ। तर, हामीले त तपाईंहरुलाई परदेशी मानेका छैनौं। आउँदा आथित्य दिएका छौँ। आत्मियता दिएका छौँ। तर, कानुनले दिनुपर्ने र सम्बोधन गर्नुपर्ने कुराहरुका बहस भनाबैरीबाट सम्बोधन हुँदैन होला।
ठिक छ, मताधिकार, राजनीतिक अधिकार लगायतका अधिकार चाहिने भए सोही अनुसार यहाँको नागरिकता नत्यागी पनि त बस्न सकिन्छ होला। देशको नागरिकता र पासपोर्ट त्यागेर हिँडेकाहरु पनि फर्किएका छन्। फर्किएकाहरुले साथ पनि पाएका छन्। चुनाव जितेका छन्। नियम पूर्ण रुपमा पालना नगर्दा झमेला बेहोर्नु फरक कुरा हो। अझै पनि म जन्मिएको देशमै फर्किन्छु, राजनीति गर्छु, देश बनाउँछु भन्दा तपाईंहरुलाई कसले छेकेको छ र?
देश छोडेर जानेहरू सबै रहरले गएका पक्कै छैनन्। तर, देश कि करिअर भन्ने विकल्पमा आफ्नो सहज जीवन रोज अप्सन आउँदा आफ्नो जिन्दगीको सहज बाटो रोजेर परदेशको यात्रा गरेको भने पक्कै हो। हो, देश खत्तम छ। बिग्रेको छ। नेताहरूले गतिलो काम गरेनन्। विकास भएको छैन। समृद्धि आएको छैन। रामकुमारी झाक्रीहरु प्नि यसका भागीदार होलान्। तपाईंहामी जोसँग क्षमता थियो, सपना थियो र देश राम्रो बनाउनु पर्छ भन्ने थियो, ती मान्छेहरुले पनि केही गर्ने आँट गरेनौँ, सुखको सपना फुलाउन बरु देशै छोडेर हिँडिदियौँ, के हामीले चाहिँ जिम्मा लिनु पर्दैन यो अव्यवस्थाको?
तपाईंलाई देशको त्यति धेरै चिन्ता छ, यहीँ राजनीति गर्न मन छ, भोट हाल्न मन छ, विदेशी नागरिकता त्यागेर आउनुहोस्, तपाईंहरुलाई आँखा चिम्म गरेर साथ दिने जनता छन् देशमा। जसको उदाहरण रवि लामिछानेको समर्थनमा उभिएका जनतालाई हेर्नुहोस्। उनले पाएको मतलाई हेर्नुहोस्। नेपालको माया गर्न पाउनुहुन्छ। विकासका लागि सुझाव र प्रश्न राख्न पनि राख्नुहोस्। तर, धम्क्याउने अधिकार न तपाईंलाई छ, न हामीलाई छ।
रामकुमारी झाँक्रीको त्यो आक्रोश पनि सबै हिसाबमा ठिक थिएन। उनले बोलेका केही कुरा बेठिक थियो। हामीले भनिरहेकै छौँ, यो चाहिँ बेठिक थियो भनेर। तर, जस्तो भाषा तपाईंहरुले बोल्नु भयो, उनले त्यस्तै जवाफ दिएकी हुन्।
Shares
प्रतिक्रिया