ad ad

बागमती


बागमती सरकारको १ करोडको ‘भ्रमण वर्ष’ : ८ महिना बित्दा पर्यटक कति भित्रिए, थाहा छैन!

बागमती सरकारको १ करोडको ‘भ्रमण वर्ष’ : ८ महिना बित्दा पर्यटक कति भित्रिए, थाहा छैन!

सुनिता विष्ट
भदौ १५, २०८१ शनिबार १०:४५, हेटौँडा

बागमती प्रदेश सरकारले १६ पुस २०८० मा भ्रमण वर्ष-२०२४ घोषणा गर्‍यो। अंग्रेजी मितिअनुसार जनवरी १ तारिखका दिन तत्कालीन संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले भ्रमण वर्ष-२०२४ घोषणा गरेका थिए। 

प्रदेशको पर्यटन प्रवर्द्धनका लागि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यका साथ भ्रमण वर्ष घोषणा गरिएको थियो। 

तर प्रदेश राजधानी हेटौँडास्थित एक होटलको सेमिनारहलमाबाट तामझामका साथ घोषित भ्रमण वर्षको कुरा केही दिनमै हरायो। न भ्रमणका कुनै खाका न पर्यटक भित्र्याउने कुनै योजना! 

भ्रमण वर्ष घोषणा भएको ८ महिना बित्नै लाग्यो। यस अवधिमा बागमती प्रदेशमा कति पर्यटक भित्रिए भन्ने तथ्यांकसमेत प्रदेशको पर्यटन मन्त्रालयसँग छैन।

आतिथ्य र एकता अभिवृद्धि गर्दै कला, संस्कृति, रहनसहन, परम्परा संरक्षण र सम्वर्द्धन तथा पर्यटकीयस्थल र सम्भावना पहिचान, प्रचारप्रसार र विकासमा योगदान पुर्‍याई बागमती प्रदेशलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ भ्रमण वर्ष मनाउन भनेर १ करोड रुपैँया बजेट विनियोजन पनि गरिएको थियो। तर अहिलेसम्म नतिजा शून्य!

भ्रमण वर्ष घोषणा गरेयताका ८ महिनाभित्र पर्यटन मन्त्रालयले तीनजना मन्त्री फेरिसक्यो।

केन्द्रको राजनीतिक अस्थिरताले नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि तत्कालीन पर्यटन मन्त्री पुकार महर्जन हटाइए। नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित गठबन्धनअनुसार प्रदेश सरकार गठनका लागि बहुमत नपुगेपछि प्रदेश सभामा दुई सिट मात्र रहेको हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि अवसर पायो। 

हानेपाका शैलेन्द्रमान बज्राचार्य पर्यटन मन्त्री बने। उनले करिब ४ महिना मन्त्रालय सम्हाल्न पाए। तर यो अवधिमा उनले पनि भ्रमण वर्ष झल्कने गरी त्यस्तो कुनै काम गरेनन्। 

गत महिना मात्रै फेरि कांग्रेसकै विमल ठकुरी संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा पुगे। उनले मन्त्रालय सम्हालेको महिना दिन बित्यो। तर उनी भ्रमण वर्षका विषयमा आफूले केही नबुझेको बताउँछन्।

‘मन्त्रालयले सुरुवात गरेको भ्रमण वर्षमा के के काम भए? कति बजेट खर्च गरियो? पर्यटन प्रवर्द्धनका लागि कस्ता कार्यक्रम भए भन्ने विषयमा मन्त्रालयबाट ब्रिफिङ लिनै बाँकी छ’, मन्त्री ठकुरीले भने, ‘मैलै मन्त्री पद सम्हालेको एक महिना भयो। मन्त्रालयको पदभार सम्हालेलगत्तै सचिवज्यू सरुवा हुनुभयो। यस विषयमा परामर्श र ब्रिफिङ हुन बाँकी छ।’

उनले थपे, ‘अहिले काठमाडौँमा छु। आइतबार/सोमबार हेटौँडा आएपछि पहिला यसै विषयमा जानकारी लिएर काम थाल्छु।’

भ्रमण वर्ष-२०२४ मनाउन अझै केही महिना बाँकी नै रहेका कारण यस विषयमा आफूले प्रभावकारी ढंगले काम गर्ने मन्त्री ठकुरीको दाबी छ।

मन्त्रालयका प्रवक्ता उत्तम चौलागाईं भने भ्रमण वर्ष प्रभावकारी भएको जिकिर गर्छन्। 

यसका लागि विनियोजित रकममध्ये ५४.७५ प्रतिशत खर्च भएको उनको भनाइ छ।

उनका अनुसार भ्रमण वर्षलक्षित प्रचारप्रसार सामग्रीको उत्पादन जिङ्ल, डकुमेन्ट्री, राष्ट्रिय कलाकारबाट सन्देशमूलक भिडिओ निर्माण, होडिङ बोर्ड, पत्रपत्रिका/रेडियो/टीभीमार्फत कार्यक्रम प्रचारप्रसार, टोपी, ब्याज, स्टिकर, पेन, खादा, हाफ ज्याकेट, क्यालेन्डर, कप आदिमा खर्च गरिएको हो। 

प्रदेशमा यस अवधिमा कति पर्यटक भित्रिए भन्ने तथ्यांक राख्न नसकेको मन्त्रालयले ससाना सामान खरिदमा भएको खर्चको विवरण भने राखेको छ। 

मन्त्रालयले भ्रमण वर्ष-लक्षित कार्यक्रममा १० स्थानमा पर्यटन प्रवर्द्धन अन्तरक्रिया तथा छलफल, ग्रामीण पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेश होमस्टे महासंघको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम, बागमती प्रदेशभित्रका नवीन पर्यटकीय क्षेत्रको खोज तथा सम्भाव्यता अध्ययन तथा प्रवर्द्धनात्मक कार्य गरिएको उल्लेख गरेको छ।

जसका लागि कूल विनियोजित बजेट १ करोडमा करिब ५५ लाख खर्च भएको प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .