मकवानपुरको मनहरी गाउँपालिका–६ प्रतापपुरमा भैँसीको गोठमा मृत भेटिएको बाघ भैँसीकै आक्रमणमा ज्यान गुमाएको पुष्टि भएको छ।
चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक चिकित्सकको टोलीले गरेको पोस्टमार्टम रिपोर्टमा भैँसीको आक्रमणकै कारण बाघको मृत्यु भएको पुष्टि भएको हो।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार उक्त बाघ १० वर्ष भन्दा माथि उमेरको रहेको पाइएको छ। बुढो र सिकार गर्न नसक्ने अवस्थामा रहेको बाघले ठूलो भैँसीलाई आक्रमण गर्न खोज्दा भैँसीको प्रतिकारमा ज्यान गुमाएको पुष्टि भएको सूचना अधिकारी तिवारीले बताए।
‘बाघको शरीरमा पुराना घाउहहरू समेत रहेछन्, किरा परिसकेको पाइयो,’ तिवारीले भने, ‘लामो समयसम्म आहारा नपाएर कमजोर बनेको बाघलाई भैँसीको सिंगले लागेरै मृत्यु भएको पाइयो। भैँसी देखेपछि शिकार गर्न झम्टिएको रहेछ। घाँटीमा समातेपछि भैँसीले बल गर्ने क्रममा सिङले लागेर बाघ त्यहीँ ढल्न पुगेको देखियो।’
तिवारीका अनुसार बाघको पोस्टमर्टमपछि थप परीक्षण गर्न नमूना लिइएको छ। अन्य केही रोग पनि थियो कि भनेर पत्ता लगाउन उक्त नमूनाको परीक्षण गरिने उनले बताए।
तर मृत्युको कारण अरू नभएको दाबी उनको छ।
Shares
प्रतिक्रिया