ad ad

बागमती


बागमती प्रदेशसभा : बजेटको छलफलमा जब कांग्रेसले दुई विभागीय मन्त्री खोज्यो

बागमती प्रदेशसभा : बजेटको छलफलमा जब कांग्रेसले दुई विभागीय मन्त्री खोज्यो

सुनिता विष्ट
असार ११, २०८१ मंगलबार १९:६, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सरकाले असार १ गते ल्याएको बजेटमाथिको छलफल मंगलबारबाट सुरु भएको छ।

मंगलबारबाट सुरु भएको बजेटमाथिको छलफलको सुरुमा राप्रपा बागमती संसदीय दलका उपनेता गीरबहादुर तामाङले आफ्नो धारणा राखे।

उनीपछि पालैपालो सांसद गीता काफ्ले, कुमारी तामाङ, ठाकुर प्रसाद ढकाल, श्याम बहादुर खड्का, भारती पाठक र सिर्जना सैंजुले आफ्नो धारणा राखे।

त्यसपछि सभामुख भुवन कुमार पाठकले मायादेवी शर्माको नाम रुलिङ गरे। सांसद शर्मा बसेको कुर्सीबाट उठेर रोष्टममा जान उभिइन्। तर उनको पाइलालाई सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोक्यो।

नेपाली कांग्रेस बागमती संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले नियमापत्ति जनाए। ७ जना सांसदले बजेटमाथिको धारणा प्रस्तुत गर्दैगर्दा प्रदेश नीति पुस्तिका पल्टाइरहेका चित्रकार ठोस आधार खोजिरहेका थिए। 

मायादेवी शर्मा रोष्टममा पुग्न नभ्याउँदै उपनेता चित्रकारले दुईजना अनुपस्थित मन्त्रीको खोजी गर्दै नियमापत्ति जनाएका हुन्।

बैठकमा बजेटमाथिको छलफलका क्रममा मन्त्रीको अनिवार्य उपस्थिति रहनुपर्ने नियम रहेको र मन्त्रीहरू अनुपस्थित रहेको भन्दै उपनेता चित्रकारले कि मन्त्रीलाई सदनमा उपस्थित गराउन पर्ने नत्र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालय माथिको छलफलको सूचि हटाउनुपर्ने भन्दै नियमापत्ति जनाएका हुन्। 

उनले प्रदेशसभा नियमावलीको परिच्छेद ३ अनुसार बजेटमाथिको छलफलका क्रममा सम्बन्धित मन्त्री अनिवार्य उपस्थित हुनु पर्ने व्यवस्था रहेकाले उक्त विषयमा नियमापत्ति गरेका थिए।

उपनेता मन्त्रीको अनुपस्थितिमा बजेटमाथिको छलफल अघि बढ्न नसक्ने उनको भनाइ थियो। उनै चित्रकारको यो मागले केहीबेर सदनमा खैलाबैला भयो। तर अवस्था शान्त बनाउने प्रयासमा भने सभामुख पाठक जुटिरहे।

चित्रकारको नियमापत्तिपछि सभामुख पाठकले मन्त्रीको अनिवार्य उपस्थितीका लागि सरकारको ध्यानाकर्षण गराउँदै रुलिङ गरे। उनको रुलिङपछि प्रदेशसभा सदस्य मायादेवी शर्मालाई बजेटमाथिको छलफलका लागि बोल्न समय दिएका थिए।

तर, उपनेता चित्रकारले मन्त्रीको अनुपस्थितिमा बजे माथिको छलफल हुन नसक्ने नियम स्पष्ट नियमावलीमा उल्लेख भएकाले बैठक स्थगित गर्न वा २ मन्त्रालयको बजेट माथिको छलफल कार्यसूचीबाट हटाउन माग गरे। 

सभामुख पाठकले आर्थिक मामिलामन्त्रीलाई अधिकार प्रत्यायोजन गरेको भन्दै सबै मन्त्री उपस्थित नभए पनि छलफल चलाउन रोक्न नपर्ने रुलिङ गरे।

मन्त्री अनुपस्थित रहेको मन्त्रालयमाथिको प्रश्न रिपोर्ट गर्ने व्यवस्था रहकाले छलफल अघि बढाउन रुलिङ गरिरहे। तर अवस्था शान्त तब भयो, जब सभामुख पाठकले दुई मन्त्रालयको छलफल कार्यसूचिबाट हटाइएको सदनमा रुलिङ गरे।

यसलाई आधार मान्ने हो भने बागमती प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सशक्त भूमिकामा उभिएको छ। सरकारले गरेका त्रुटि सच्याउन प्रमुख प्रतिपक्षी दलले दबाब दिइरहेको छ।

कांग्रेसको नियमापत्तिपछि प्रदेशसभा बैठकमा स्वास्थ्य मन्त्रालय, उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको बजेट माथिको छलफल भएको थियो।

संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्रचार्य र श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल अनुपस्थित भएका थिए।

मन्त्रीद्धय बज्रचार्य र लम्साल सदनमा उपस्थित भएपछि मात्रै उक्त मन्त्रालयले ल्याएको बजेटमाथिको छलफल गरिने प्रदेश सभा सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .