बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको १७ दिन भएको छ।
गत फागुन २३ गते नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्मकट्टेल अल्पमतमा परेका हुन्।
अल्पमतमा परेको ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यदी विश्वासको मत लिन नसके मुख्यमन्त्रीको पद स्वतः जान्छ।
सत्तारुढ गठबन्धनले कुन प्रदेशको नेतृत्व कुन दललाई दिने भन्ने टुंगो नलगाउँदा मुख्यमन्त्री जम्मकट्टेललाई पद जोगाउन चुनौती थपिएको छ। यही चैत २२ गते सम्ममा सदनबाट विश्वास मत लिइसक्नुपर्ने हुन्छ।
तर केन्द्रले आलटाल गर्दा बागमती प्रदेशमा मुख्यमन्त्री माओवादीलाई नै भाग परे पनि विश्वासको मतको लागि गृहकार्य गर्ने समय छोटिँदै गएको छ। अबको १३ दिनभित्र विश्वासको मत प्राप्त गरे मात्रै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बाँकी यात्रा तय गर्न पाउनेछन्।
केन्द्रले समयमै निर्णय नगरिदिँदा कुन प्रदेशमा कुन दलको नेतृत्व पाउने भन्नेमा आफूहरू अन्यौलता रहेको उनले बताए। तर विश्वासको मतका लागि गृहकार्य भने गरिरहेको मुख्यमन्त्री जम्मकट्टेलको भनाई छ।
केन्द्रको गठबन्धन अनुसार बागमती सरकारमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र एकीकृत समाजवादी सहभागी छन्।
ती दलले मात्रै सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि आफूहरुले अन्य साना दलहरुसँग छलफल गरिरहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए।
‘बागमतीमा कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने स्पष्ट छैन। केन्द्रबाट कुनै निर्देशन नआउँदा अल्पमतमा परे पनि सदनबाट विश्वासको मत लिनेबारेमा कुनै योजना बनाउन पाइएको छैन’ उनले नेपालखबरसँग भने, ‘माओवादीले नै निरन्तरता पाउने स्थिती बने विश्वासको मतका लागि समय भड्किसकेको छ। यसमा केन्द्रले पनि रिर्पोट गरिरहेको छ। एकदुई दिनमै निर्णय आउला भन्ने छ।’
जुन दलले नेतृत्व पाए पनि स्पष्ट बहुमत नभएका कारण तीनै दलका नेता तथा सचेतकले अन्य दलहरूसँग सहयोग मागिरहेको उनले बताए। सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), हाम्रो नेपाली पार्टी (हानेपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहयोगका लागि सकारात्मक देखिएको मुख्यमन्त्री जम्मकट्टेलको दाबी छ।
सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा कांग्रेस ३७, एमाले २७, माओवादीको २१, राप्रपाको १२, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हानेपाको २ सिट छ।
११० सांसद रहेको बागमतीमा सरकार गठनका लागि यहाँ बहुमत पुर्याउन ५६ सांसदको आवश्यकता पर्छ। यहाँ, एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट गरी ५५ सिट हुन्छ। सरकारलाई बहुमत पुर्याउन १ सिट अन्य दलबाट ल्याउनुपर्ने बाध्यता छ।
Shares
प्रतिक्रिया