दिनभर घाम लाग्न थालेसँगै काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ।
यस क्रममा आज (मंगलबार) उपत्यकको अधिकतम तापक्रम २५ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम २५.१ डिग्री सेल्सियस पुगेको हो।
आइतबार १९.२ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम सोमबार २३.३ डिग्री सेल्सियसमा उक्लिएको थियो। आज त्यसभन्दा पनि माथि चढेको हो।
मौसम सफा भएसँगै काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने क्रमशः घटिरहेको छ। गत आइतबार १२.७ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सोमबार ८.५ डिग्री सेल्सियस थियो भने आज थप घटेर ७.६ डिग्री सेल्सियसमा झरेको छ।
मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ, आकाश बादलले ढाक्यो र पानी परेन भने बढ्छ। पानी परेको खण्डमा भने चिसो बढ्ने भएकाले न्यूनतम तापक्रम पनि केही घट्छ।
यस्तै दिनभर आकाश बादलले ढाक्यो, घाम लाग्न पाएन तथा वर्षा भयो भने अधिकतम तापक्रम घट्छ भने आकाश सफा भएर घाम लाग्यो भने बढछ्।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
Shares
प्रतिक्रिया