काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) ७ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियसमा उक्लिएको हो। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम भने ६.९ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस थियो।
आज उपत्यकाको अधिकतम तापक्रम २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको महाशाखाका मौसमविद् गोविन्द झाले जानकारी दिए।
यही फागुन १० गते भएको मौसम बदली र वर्षाका कारण फागुन ११ गते ३.५ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम क्रमश: बढ्दै गएको हो। उक्त दिन उपत्यकाको अधिकतम तापक्रम पनि घटेर १९.४ डिग्री सेल्सियसमा झरेको थियो।
त्यसयता क्रमश: बढ्दै उपत्यकाको अधिकतम तापक्रम बिहीबार २३.८ डिग्री सेल्सियसमा उक्लिएको छ। आजको अधिकतम तापक्रम भने साँझ ५:४५ बजे आउनेछ।
तर आज बेलुका नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्ने र त्यसको प्रभावले शनिबार र आइतबार देशभरसँगै काठमाडौँ उपत्यकामा पनि घाम नलाग्ने तथा वर्षाको सम्भावना रहेकाले तापक्रम पुन: घट्ने सम्भावना रहेको मौसमविद् झाले बताए।
आज (शुक्रबार) भने काठमाडौँ उपत्यकाको आकाशमा अलिअलि बादल देखिए पनि मुख्यतया मौसम सफा रहने मौसमविद् झाको भनाइ छ। अर्थात् घाम लाग्छ।
Shares
प्रतिक्रिया